मृत्यु उपत्यका होइन मेरो देश

नबारूण  भट्टाचार्य


म थुक्क भन्छु
आफ्नो छोराको मृत शरीरलाई चिन्न डराउने बाबुलाई
त्यस अवस्थामा पनि लाजै नमानी सहज भएर बस्ने
त्यो दाजुलाई पनि म थुक्क भन्छु
दिनदहाडैको यस्तो रगतको होलीप्रति प्रतिशोधमा नउठ्ने
ती शिक्षक, बुद्धिजीवी, कवि र कर्मचारीहरूलाई पनि
म थुक्क भन्छु ।

आठओटा मृत शरीर
चेतनाको प्रकाशपुञ्ज बनेर सडकमा लडिरहेका छन्
छिनछिनमा हतप्रभ भइरहेको छु म
आठ जोडा आँखाहरू मेरो सपनामा आउँछन्
म आक्रोसित हुन्छु,
म पागलझैँ हुनथाल्छु
म आफैँले आफ्नो हत्या गरौँजस्तो हुन्छ
के गरौँ के गरौँजस्तो हुन्छ
म सूर्य, चन्द्रमा र ताराहरूलाई निलिदिन्छु
म वरिपरिका सबै चिज त्यो पुल र देखिनेजति सबै चिज ध्वस्त पार्छु ।

यही  नै सही समय हो कविता लेख्ने
स्टेनसिल गरिएका घोषणापत्रहरूद्वारा खुला भित्ताहरूमा
आफ्नै रगत, आँसु र हाडहरूको कोलाज संरचनामा
यही नै कविता लेख्ने ठीक समय हो
तीव्रतम यन्त्रणाद्वारा क्षतविक्षत अनुहार लिएर
असली आतङ्कको आमनेसामने भएर
ठीक अहिले कविताले प्रहार गर्ने समय हो
गाडीहरूका आँखै तिरमिराउने हेडलाइटको प्रकाशमा आँखालाई  केन्द्रित गरेर
थ्रि नट थ्रि होस् अथवा हत्याराहरूसित अरू केही होस्
अहिले कविताद्वारा तिनीहरूको सामना गर्ने समय हो ।

कालकोठरीका चिसा भुइँहरूमा
अपराध अनुसन्धानका सेलहरूको पहेँलो प्रकाशलाई कम्पित पार्दै
अपराधीहरूद्वारा  सञ्चालित  न्यायालयहरू
विषवमन, घृणा र झूठको पाठशाला
दुव्र्यवहार र मुटु नै हल्लाउने आतङ्ककारी राज्यसत्तामा
राज्यसत्ताको सेवा गर्ने बन्दुकधारीहरूको कठोर छातीमा
कविताको आक्रोसलाई गुन्जायमान पारौँ
लोर्काका झैँ विश्वका कविहरूले आफूलाई तमतयार पारौँ
घाँटी निचरेर हत्या गरून् र लास बेपत्ता पारून्
मेसिनगनको गोलीले शरीर क्षतविक्षत पारून्
तयार होऔँ,
कविताको गाउँबाट कविताको सहरलाई घेर्नु अति जरुरी छ ।

यो मृत्यु उपत्यका होइन मेरो देश
हत्याराहरूको उल्लासमञ्च होइन मेरो देश
यो सपाट मसानघाट होइन मेरो देश
यो रक्तरन्जित कसाइघर होइन मेरो देश ।

म मेरो देशलाई खोसेर फिर्ता ल्याउँनेछु
म कुहिरोले छोपेका सन्ध्या–फूलहरू, राता धूलीकणहरू,
अविरल बग्ने नदीहरू सबैलाई म मेरो छातीमा टाँस्नेछु
मेरो शरीर वरिपरि झुम्मिएका जुनकीरीको लस्कर,
वर्षौँदेखि हरियालीले ढाकिएका पहाडहरू, वनजङ्गल,
अथाह हृदयका टुक्राहरू, हरियाली, फूलहरू, परी कथाका घोडाहरू,
सबैलाई म एकएकओटा सहिदको नाम दिन्छु
गुनगुनाउँदो हावा, तापिलो घाममुनि
माछाको चम्किलो आाखाजस्तो ताल
सबैलाई खुसीसाथ बोलाउँनेछु
र प्रेम, जसलाई मैले मेरो जन्मभन्दा धेरै पहिलेदेखि प्राप्त गरेँ
उसलाई पनि क्रान्तिको उत्सवको दिन नजिकै बोलाउँने छु ।

हजारौँ वाटको बिजुलीको प्रकाश आँखामा
झोसेर रातदिन बयान लिने कार्य
मलाई मान्य छैन
नङमा विजुलीको सुइ रोप्ने कार्य
मलाई मान्य छैन
बरफका टुक्राहरूमा नाङ्गै सुताउने कार्य
मलाई मान्य छैन
नाकबाट रगत बगुन्जेलसम्म झुन्ड्याउने कार्य
मलाई मान्य छैन्
ओठमा बुटहरूको प्रहार, तातेको फलामले शरीरमा डाम्नु
मलाई मान्य छैन
रगतले क्षतविक्षत  पिठ्यूँमा अल्कोहल खन्याउनु
मलाई मान्य छैन
नाङ्गो शरीरमा इलेक्ट्रिक सक र योनीमा ढुङ्गा खाँदेर
प्रदर्शित कुत्सित यौन दुराचार
मलाई मान्य छैन
कुट्ताकुट्ता नपुगेर कनपटीमा बन्दुक तेस्याएर हत्या गर्नु
मलाई मान्य छैन ।

कविताले कुनै व्याधाव्यवधान  मान्दैन,
कविता सशस्त्र छ, यो स्वतन्त्र छ, यो निडर छ
मायाकोव्स्की, हिक्मत, नेरुदा, आरागोँ, एल्वार्ड
नियालेर हेर,
हामी जोडतोडका साथ भन्छौँ,
हामीले तिमीहरूका कवितालाई हार्न दिएका छैनौँ ।
सारा देश मिलेर एउटा नयाँ महाकाव्य लेख्न लागिरहेका छौँ
छापामार छन्दमा ताल र लयहरू निर्मित भएका छन् ।

दमाहा र मादलहरू चारैतिर गर्जिऊन्
प्रवाल द्विपजस्ता आदिवासी गाउँहरू
रक्तरञ्जित राता–आदिवासी भूमिहरू
विषाक्त, डस्न छट्पटिएको ज्यानमारा
गोमन सर्पको विेष मुखबाट चुहाउँदै गरेको आहत तितास
टङ्कारमा सूर्यलाई कँज्याएर, खिचिएको गाण्डिवको प्रत्यंचा,
धारिलो तीरको तिखो टुप्पो, धनुषकाँढ
चमचमाउँदा भाला, बर्छा,  घुयँत्रो र बन्चरोहरू
आक्रोसपूर्ण राता आँखाका आदिवासी टोटेमहरू
आक्रोसका साथ मागिरहेछन्
बन्दुक देऊ, खुकुरी देऊ र पुग्दो मात्रामा साहस
यति धेरै साहस देऊ, डर भन्ने चिज कतै पनि नरहोस् ।

र क्रेनहरू,  धारिला दाँत भएका बुल्डोजरहरू
फौजी दस्ताका जुलुसहरू
चालित डाइनामोहरू, टर्बाइन, लाथे मेसिनहरू
कोइला खानीको धुलोको मिथेन अन्धकारमा चम्किरहेको हीराजस्ता चम्किला आँखाहरू
इस्पातले बनेका अचम्म लाग्दा  हथौडाहरू
जुट मिल, गारमेन्ट काराखानाहरूबाट उठेका हजारौँ हातहरू
अहँ, त्यहाँ डर भन्ने चिज छैन

डरले पहेँलिएको अनुहार कति अनौठो लाग्छ
जब कि, थाहा छ हामीलाई मृत्यु केही पनि होइन प्रेमबाहेक
मेरो मृत्यु भए पनि
अग्निपुञ्ज बनेर म चारैतिर प्रकाश छर्दै अन्धकारलाई हटाउने छु
मलाई थाहा छ, म अविनाशी छु
हरेक वसन्तमा म हरिया रुख र पोथ्रापोथ्रीहरूमा विश्वास बनेर आउँनेछु
मलाई थाहा छ, म सर्वव्यापी छु,
म दुखमा पनि रहने छु, सुखमा पनि रहनेछु
हरेक नयाँ जन्म, मृत्यु र पर्वहरूमा पनि म साथै रहनेछु
यो विश्व रहेसम्म म रहिरहनेछु
मानजीवन रहेसम्म म रहिरहनेछु

आह्वान गरौँ रातको ठिहीमा बलेको ज्वाला बनेर उठ्ने मृत्युलाई
आह्वान गरौँ–आह्वान गरौँ, त्यो मृत्यु, त्यो युद्ध र त्यो दिनलाई
प्रेमका सामु पराजित होस् सातौँ बेडा पनि
शङ्ख र धुत्तुरी बजाएर युद्धको घोषणा होस् ।
रगतको गन्ध बोकेर हावा जब उन्मत्त हुन्छ
कविता पनि  समग्र बारुद र विष्फोट पदार्थ झैँ पड्कियोस्
भित्ताका रङहरू, गाउँ, डुङ्गाहरू, नगर, मन्दिरहरूसँगै ।

जब मुलुक  तराईदेखि सुन्दरवनसम्म
अति रोदनपछिको शुष्कताबाट दनदनी बलेको हुन्छ भने
जब जन्मस्थल र वधस्थलको हिलो एउटै भएको हुन्छ भने
अनि दुविधा किन ?
अनि संशय किन ?
अनि डर किन ?

आठ जना युवाहरूले अन्तिम स्पर्श गरिरहेका छन्
कालो रातको अन्धकारमा तिनीहरूले हामीलाई भनिरहेछन्
अब कहाँ र कस्तो पहरा छ र
उनीहरूको बोलीमा हजारौँ तारामण्डल–छायापथ–समुद्र
एउटा ग्रहदेखि अर्को ग्रहसम्मको आवागमनको उत्तराधिकार
कविताका प्रज्वलनशील मशालहरू
कविताका पेट्रोल बमहरू
कविताको भरभराउँदो अग्निशिखा
आहुति दिऔँ अग्निको यस आकांक्षामा ।

(विकल्प १ बाट)

भारतको पश्चिम बङ्गालको मुर्सिदाबाद जिल्लाको बहरामपुरमा सन् १९४८ मा जन्मिएका नबारूण  भट्टाचार्य बहुचर्चित कलाकार–नाटककार बिजोन भट्टाचार्य र नेपाली साहित्यिक क्षेत्रमा बहुपरिचित र बहुचर्चित
प्रख्यात मार्क्सवादी साहित्यकार महास्वेता देवीका छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्

*