मृत्यु–चिन्तन

टेकेन्द्र अधिकारी

त्यति सजिलै कहाँ मरिन्छ र !

जिन्दगीमा धेरैपटक सुन्दै आएको वाक्य हो यो तर आजसम्म यो भनाइको यथार्थ भने बुझ्न सकेकै रहेनछु। किनकि मरेका मान्छेसँग जति गरे पनि भेट नहुने। अनि बाँचेका मान्छेसित मरेको अनुभूति नहुने। यदाकदा कसैले झन्डै मरेको अनुभूति सुनाउँदा पनि खासै विश्वास लाग्थेन।

समय र परिस्थिति सधैं एकनासको हुँदैन। यही ११ असारको एउटा घटनापछि भने मैले आफूलाई एकदमै फरक रूपमा पाएको महसुस गर्दै छु। त्यो बिहान करिब साढे ५ बजे नित्यकर्मका लागि शौचालय जाने क्रममा अचानक मृत्युसँग साक्षात्कार भएको त्यो घटनाले मेरो दिमाग अहिले पनि रन्थनिएको छ। त्यति बेला जगबाट पानी उबाउने क्रममा अचानक शरीरमा ताल्चा लागेको अनुभूति भयो।

कम्मरको नसा पोको परेर सहनै नसकिने नमीठो दुःखाइसँगै मुखबाट अनौठो चिच्याहट निस्किएको धमिलो सम्झना छ। त्यसपछि भने मेरो दिमागले मृत्युभन्दा अरू कुरा सोच्नै सकेन। दिमाग एकोहोरो मृत्यु–चिन्तनमा घुमिरहँदा मुखबाट एकोहोरो ‘भगवान्’बाहेक अरू शब्द नै निस्केन। दिमागबाट तारन्तार रूपमा ‘अब बाँचिँदैन होला’ भन्ने सन्देश प्रवाह भयो।

वास्तवमा शिर ठाडो पारेर आत्मसम्मानका साथ बाँच्न खोज्दा खुट्टा तानेर लडाउने प्रवृत्तिले मान्छे जिन्दगीभर कैयौंपटक मरिरहन्छ। त्यति बेला मूल्यहीन इमानदारिताको जिन्दगी बाँचेर यो वा त्यो बहानामा मरिरहनुभन्दा सहर्ष मृत्युलाई स्वीकार्नुमै मजा रहेछ भन्ने पनि लाग्छ। आखिर जन्म र मृत्युभन्दा अकाट्य सत्य दुनियाँमा अरू के होला र !

क्याम्पसमा वर्षे बिदाको छुट्टीका कारण सीमाजी (सीमा आभास) घरमै भएकाले ‘त्यस दिन संयोगले मात्र बाँचियो’ भन्ने सम्झिँदा अहिले पनि आङ सिरिंग हुन्छ। करिब आधा घण्टा मृत्युसँग संघर्ष गरिरहँदा घरपरिवारलाई भन्नैपर्ने लेनदेन व्यवहारको कुरा दिमागमा घुमिरह्यो। त्यसबाहेक ‘शौचालयमै प्राण नगइदिए हुन्थ्यो’ भन्ने आग्रहमि िश्रत गुनासो पनि घरिघरि दिमागमा आएको सम्झना ताजै छ। बाथरुमको चिसो भुइँमा सिरानी लगाएर जीवन र मृत्युको दोसाँधमा छट्पटिइरहँदा १९ महिने सानो छोराले बाबा भनेर बोलाएको सम्झिँदा अहिले पनि झसंग हुन्छु।

काखे छोरोभन्दा जीवन र मृत्युबारे धेरै कुरा थाहा पाउने सीमाजीको अवस्था कस्तो भयो होला ? अनौठो चिच्याहट सुनेर शौचालय पुगेकी उनी श्रीमान्लाई के भइरहेको छ भन्नेबारे अनभिज्ञ थिइन्। खासमा म करिब एक हप्तादेखि ढाडको नसा च्यापिएर घरमै आराम गरिरहेको थिएँ। सोही क्रममा शौचालय गएको बेला एक्कासि कम्मर नचल्ने भएको थियो। संकेतमै भए पनि सीमाजीलाई मलाई के भइरहेको छ भन्नेबारे जानकारी गराएँ।

आफूले जसोतसो चित्त बुझाए पनि आठवर्षे र १९ महिने दुई छोराको चित्त बुझाउन उनलाई पक्कै गाह्रो भयो होला। पछि बुझ्दा म अत्यधिक पीडाले छटपटाएको हेर्न नसकेर उनको दिमाग पनि लगभग भावशून्य भएछ। त्यति बेला मनमा ‘सहजै श्रीमान्को प्राण गइदिए हुन्थ्यो’ भन्ने एकोहोरो भावनामात्र आएको पछि उनले सुनाउँदा म साँच्चै डराउँछु। करिब आधा घण्टापछि मेरो शरीरमा पसिना आएपछि परिस्थिति फेरियो। मेरो मनमा ‘अबचाहिँ बाँच्छु होला’ भन्ने लाग्यो।

उता सीमाजीको पनि बल्ल होश खुलेछ। तत्कालै छरछिमेकी र आफन्तलाई फोन गरिछन्। हेर्दाहेर्दै करिब एकैछिनमा २५–३० जना मान्छे भेला भए। सबैको प्रयासमा शौचालयबाट मेरो उद्धार भयो। त्यसलगत्तै स्ट्रेचरमा बोकेर विराटनगरको पाञ्चाली मोडस्थित स्पार्क नेचुरोप्याथी एन्ड फिजियोथेरापी अस्पताल पुर्‍याइयो। त्यहाँ पुगेको करिब २४ घण्टापछि मात्र मैले कोल्टे फेर्न सकेँ।

त्यसपछि लगातार फिजियोथेरापी गराएपछि क्रमशः बस्न र हिँडडुल गर्न सक्ने भएँ। करिब १० दिने अस्पताल बसाइपछि मात्रै म घर आएँ। करिब दुई महिनाको आरामपछि पुनः पुरानै दैनिकीमा फर्किने क्रम सुरु भएको छ। अब सजिलै कहाँ मरिन्छ र ! भन्ने भनाइमा विश्वास लाग्न थालेको छ। त्यससँगै मृत्यु र जीवनबीचको दूरी एकदमै छोटो हुन्छ र निमेषभरमै त्यो दूरी नाप्ने डोरी चुँडिन सक्छ भन्ने अनुभूतिसमेत भइरहेको छ।

प्रसिद्ध डेनिस लेखक हान्स क्रिस्चियन एन्डरसनले मृत्युबारे टिप्पणी गर्दै भनेका छन्, ‘जीवनमा बाँच्नु मात्र पर्याप्त छैन, स्वतन्त्र भएर खुसीसाथ फुल्न सक्नुपर्छ।’ त्यसैगरी प्रसिद्ध अमेरिकी चिकित्सक मार्टिन एच फिस्चरले जीवनलाई पृथ्वीको महत्वपूर्ण सिनेमा हेर्ने एउटा टिकटका रूपमा अथ्र्याएकी छन्।

यी दुवै भनाइको सार जीवन र मृत्यु एकअर्काका परिपूरक छन् भन्ने नै हो। जहाँ जीवन छ, त्यहाँ मृत्यु निश्चित छ। अनि जहाँ मृत्यु हुन्छ, त्यहाँ नश्वर शरीररूपी जीवनको अस्तित्व समाप्त हुन्छ। वास्तवमा जीवन र मृत्युको नाता गहिरो छ। कसको, कहिले, कतिखेर मिति पुग्छ भन्ने टुंगो छैन। त्यसो त जीवनमा मृत्युको भय डिम्ब र शुक्रकीटको समागमदेखि नै सुरु हुन्छ। करौडौंसँग पौंठेजोरी खेल्दै एउटा शुक्रकीट डिम्बसँग मिलेपछि बल्ल जीवनको आशा पलाउँछ।

त्यसपछि गर्भाशयभित्रै प्रत्येक पल जीवनको संघर्ष हुन्छ। हरेक क्षण मृत्युले खतराको घन्टी बजाउँछ। त्यतिखेर पनि जीवनको अस्तित्व मर्ने कि बाँच्नेको दोसाँधबाटै गुज्रिन्छ। निमेष, सेकेन्ड, मिनेट, घण्टा, दिन–रात, हप्ता र महिना हुँदै बल्ल जीवनले पूर्ण आकार ग्रहण गर्छ। त्यो बेलामा पनि हर क्षण मृत्युले जीवनको साथ छाड्दैन। बरु निरन्तर पछ्याइरहन्छ।

यदाकदा मान्छेहरू आफूले मृत्युलाई जितेको भ्रम पाल्छन्। तर, त्यो क्षणिक मात्र हो। यथार्थमा मृत्युलाई कसैले पनि जित्न सकेको छैन। हरेक प्राणीको जीवनमा दुइटा पाटा हुन्छन्, जन्म र मृत्यु। जन्मका लागि आवश्यक सबै कुरा प्रकृतिले नै जुटाइदिन्छ। त्यसलाई क्रमशः पृथ्वीमा आउन सहज पनि उसैले बनाइदिन्छ। नत्र प्रकृतिको तालमेलबिना कुनै पनि प्राणीको जन्म लगभग असम्भव छ। अर्कोतिर प्रकृतिले प्राणीलाई जन्माएकै मृत्युका लागि हो। तसर्थ जन्मिनु र मर्नु दुवै उत्तिकै प्राकृतिक र अकाट्य सत्य हुन्।

यो दृष्टिबाट हेर्दा प्राणीको जीवन जन्म र मृत्युको साधन या माध्यम मात्र हो, साध्य होइन। यद्यपि दुनियाँमा चेतनशील भनिएको मान्छे नै मृत्युबाट सबैभन्दा बढी डराइरहेको हुन्छ। पल–प्रतिपलमात्र होइन, आँखा झिमिक्क पार्दासमेत मान्छे मृत्युबाट भागिरहेको हुन्छ, तर्सिरहेको हुन्छ। तैपनि मृत्युले उसलाई छाड्दैन।

प्रसिद्ध डेनिस लेखक हान्स क्रिस्चियन एन्डरसनले मृत्युबारे टिप्पणी गर्दै भनेका छन्, ‘जीवनमा बाँच्नु मात्र पर्याप्त छैन, स्वतन्त्र भएर खुसीसाथ फुल्न सक्नुपर्छ।’ त्यसैगरी प्रसिद्ध अमेरिकी चिकित्सक मार्टिन एच फिस्चरले जीवनलाई पृथ्वीको महत्वपूर्ण सिनेमा हेर्ने एउटा टिकटका रूपमा अथ्र्याएकी छन्।

मान्छेको त कुरै छाडौं, स्वयं जन्माउने प्रकृतिलाई पनि थोक या खुद्रामा मृत्युको छुट दिने अधिकार छैन। यो तथ्य पनि त्यत्तिकै अकाट्य छ। नत्र प्रकृतिले जन्म दिने आमालाई आफ्ना सन्ततिको आयु तोक्ने अधिकार किन दिँदैन ? जबकि आमाभन्दा निःस्वार्थी दुनियाँमा अर्को प्राणी हुँदैन भनिन्छ।

जीवनको अस्तित्व सास रहुन्जेलका लागि मात्र हो। जीवन सकिएपछि त्यसलाई स्वतः मृत्युले अँगाल्छ। जीवनरूपी शरीर कुनै न कुनै रूपमा फेरि प्रकृतिमै विलीन हुन्छ। तसर्थ कुनै पनि प्राणीको नश्वर शरीर प्रकृतिको अमूल्य उपहार हो भने मृत्यु उसको सबैभन्दा नजिकको मित्र। त्यसैले मृत्युले नश्वर शरीरलाई एक निमेष पनि छाड्दैन। बरु हरेक सुखदुःखमा साथ दिइरहन्छ।

जन्मेपछि मृत्यु निश्चित छ भन्ने जान्दाजान्दै मान्छे मृत्युबाट लखेटिनुका खास कारणहरू छन्। तीमध्ये पहिलो कारण हो— जीवनशून्यता र डरत्रासको मनोविज्ञान। दोस्रो— प्रकृति र जीवनबीचको नातासम्बन्ध। तेस्रो— सृष्टि चलाउन प्रकृतिले सिर्जना गरेको लोभ, मोह, क्रोध र स्वार्थ। चौथो— जन्मदेखि मृत्युसम्म गरेका आफ्नै कर्महरू। पाँचौं— मृत्युको अनिश्चितता।

यी कारणहरूलाई अझै विश्लेषण गरौं। मान्छे मृत्युदेखि डराउनु या त्रसित हुनुका पछाडि जीवनशून्यता र मनोविज्ञानले अहम् भूमिका खेलेको हुन्छ। मान्छेले आफ्नो जिन्दगीभरि मृत्युपछि के हुन्छ भन्ने जटिल प्रश्नको उत्तर भेट्दैन। धार्मिक आस्थाअनुसार स्वर्ग र नर्कको कल्पनाले उल्टै मान्छेलाई मनोवैज्ञानिक डर–त्रास र अन्योलको भूमरीमा पारिदिन्छ। जीवनको अस्तित्वबारे चित्तबुझ्दो उत्तर नभेटेकैले मान्छे मृत्युदेखि यति धेरै डराउँछ या तर्सिन्छ।

त्यस्तै प्रकृतिले आमाको गर्भाशयमा जीवनको अंकुरण गराउँछ। उसैले जीवनमा प्राण भर्छ। जीवनको जन्म दिन्छ। खासमा जीवन आफैंमा प्राकृतिक हुन्छ। विज्ञानले त्यसलाई जतिसुकै कृत्रिमताको लेपन गर्न खोजे पनि त्यो पूर्णतः सफल भएको छैन। प्रकृतिको चाहनाबिना जीवनको अस्तित्व असम्भव छ। प्रकृति र जीवनको सम्बन्धलाई बुझ्न विपरीत लिंगीबीचको समागम–प्रक्रिया काफी हुन्छ।

अतः प्रकृतिले बाबु–आमा तयार नपारेसम्म जीवनको श्रीगणेश असम्भव छ। जीवनको अस्तित्वका लागि मृत्युको जोखिम मोल्ने शुक्रकीटले डिम्बको साथ–सहयोगमा गर्भाशयमा बस्ने अधिकार प्राप्त गर्छ। अर्थात् जीवनको अस्तित्वका लागि आमाबाबु मात्र होइन, शुक्रकीट र डिम्ब निश्चित गर्ने भूमिका पनि प्रकृतिले नै निर्वाह गरिरहेको हुन्छ।

अर्कातिर भोक, लोभ, डर, लाज, मोह, क्रोध र स्वार्थ जीवनका भुल्नै नसकिने पाटाहरू हुन्। ‘आफ्नो आङको भैंसी नदेख्ने तर अर्काको आङको जुम्रा पनि देख्ने’ प्रवृत्ति यसको ज्वलन्त उदाहरण हो। प्रकृतिले स्वतः मस्तिष्कमा समागमको भोक जगाइदिन्छ। त्यो क्रम विस्तारै बढ्दै गएर आवश्यकता बन्न पुग्छ। जीवनको अंकुरण नै भोकबाट हुने भएकाले जन्मिनुभन्दा अघि नै प्राणी जीवनप्रति मोहित हुन्छ।

भोकसँगै ऊभित्र मोह पलाउन थाल्छ। विस्तारै उसको हृदयमा डर र लोभले बास पाउँछन्। त्यसपछि क्रमशः क्रोध, लाज र स्वार्थले घर बनाउन थाल्छन्। यी ६ तŒव नहुने प्राणीको अस्तित्व पृथ्वीबाटै लोप हुने निश्चित छ। चेतनाका हिसाबले खासगरी मान्छेमा यी तŒवको मात्रा अलि बढी नै देखिन्छ।

त्यस्तै जन्मदेखि मृत्युसम्म गरेका आफ्नै कर्महरूका कारण हरेक प्राणीमा मृत्यु–चिन्तन हावी हुन्छ। बाघले अन्य प्राणीलाई मारेर खान्छ। यो उसको प्रकृतिप्रदत्त गुण हो। तर, जब बाघ बूढो हुन्छ, त्यति बेला उसलाई पनि कहीँ न कहीँ आफ्नै कर्मदेखि पश्चात्ताप लागिरहेको हुन्छ। हुँदाहुँदा कालान्तरमा एक दिन यस्तो आउँछ, खुसीसाथ मृत्यु माग्न बाध्य हुनुपर्छ, हुन्छ। मान्छेमा पनि यही सूत्र लागू हुन्छ। त्यसको एउटै कारण हो, प्रकृतिले सबैलाई सधैंका लागि पठाएकै छैन।

संसारमा सबैभन्दा बढी उमेरसम्म बाँचेका मानिसहरूको आत्मकथा पढ्दा यही तथ्य बाहिर आउँछ। अन्य प्राणीजस्तै मान्छे पनि सधैं बाँचिरहन चाहँदैन। मनले बाँच्न चाहे पनि उसको शरीरले मृत्युलाई आमन्त्रण गरिरहेको हुन्छ। यसको उल्टो कहिलेकाहीँ शरीरले बाँच्न चाहँदा चाहँदै पनि मनले मृत्युकै पुकारा गरिरहेको हुन्छ। हरेक प्राणीका जीवनमा यस्तो क्षण आइरहन्छ। सरल अर्थमा बुझ्दा बाँच्ने वा मर्ने कुराले पिरोलिनु नै मृत्युलाई साथै लिएर हिँडिरहेको प्रमाण हो।

तर, जीवनको आयु र मृत्युको क्षण कसैको वशमा छैन। त्यसैकारण मान्छेमात्र होइन, पृथ्वीमा प्राणसहित अस्तित्वमा आउने हरेक प्राणी मृत्युदेखि डराउँछ। विडम्बना ! आफ्नै मस्तिष्कको एउटा कुनामा बसिरहेको मृत्युलाई कसैले पनि प्रत्यक्ष रूपमा देख्न भने सक्दैन। कारण यो अमूर्त, अदृश्य र निराकार छ। यसको एउटा प्रमुख लक्षण आवश्यकताअनुसार जुनसुकै बेला सम्झिँदा सम्झिन सकिने र बिर्सिंदा बिर्सिन सकिने हो। कहिलेकाहीँ यसलाई सम्झिँदा यस्तो लाग्छ, प्राणीहरू हर निमेष मृत्यु नै पुकारिरहेका छन्।

भाषा र हाउभाउ बुझिने भएकाले मान्छेको पुकारा हामी थाहा पाउँछौं। तर, त्यसरी पुकारा गर्ने मान्छे वा प्राणीमध्ये कसलाई, कुन समयमा अँगाल्ने भन्ने निक्र्योल पनि मृत्युले नै गर्छ। कुनै पनि प्राणीले आफ्नो कानमा हरेक क्षण मृत्युको घन्टी बजिरहेको अनुभूति त गर्छ तर त्यसलाई आफूले भनेको वा चाहेको समयमा प्रयोग गर्ने अधिकार भने प्रकृतिले उसलाई दिएको छैन। वस्तुतः मृत्युको यही अनिश्चितताका कारण मान्छेहरू त्यसबाट तर्सिरहेका छन्, भागिरहेका छन्।

यसरी मृत्यु–चिन्तनमा घोत्लिरहँदा अर्को एउटा घटनाले जहिल्यै झस्काउँछ। मैले नाबालकमै संसारमा सबैभन्दा बढी माया गर्ने आमाको मृत्युलाई नजिकबाट नियालेँ। मृत्युको अन्तिम क्षणमा आमाको आँखाबाट आँसुसँगै बगेका शब्दको अर्थ अनुभूत गरेँ। ती शब्दको अर्थ केलाउँदा आमालाई त्यति चाँडै मृत्युको साथमा जाने इच्छा थिएन। तैपनि उहाँको केही जोड चलेन। अन्ततः उहाँले हामी सबैलाई छाडेर जानुभो। त्यसपछिका दृश्यहरू मेरो आँखाको पर्दामा अहिले पनि उसैगरी नाचिरहेका छन्। अचम्म ! आमाको मुत्युलाई त्यति नजिकबाट नियालिरहेको मैले अहिलेसम्म कसै गरे पनि उहाँको अनुहार भने सम्झिनै सकिनँ।

नियतिले मलाई आफ्नै आमाको अनुहार सम्झिने छुटसमेत दिएन। समय यस्तो आयो कि आमाको झल्कोसँगै आफैं मृत्युबाट लखेटिएको अनुभूतिले भतभती पोल्न पो थाल्यो ! आजपर्यन्त म जन्म दिने आमाको अनुहारविहीन झल्कोमै बाँचिरहेको छु। हरेक क्षण आँगनको तुलसीमोठ नजिक सेतो वस्त्रले बेरिएको मानव आकृति सम्झिरहेको हुन्छु।

नाबालकमै मेरो साथबाट मेरी आमालाई चुँडेर लाने आखिर त्यही मृत्यु रहेछ। जो कुनै दिन मलाई लिन पनि त्यसरी नै आयो, आउनेछ। अनिश्चित छ त केवल लिन आउने समय, तिथि, बार, गते, महिना र वर्षमात्रै। यति प्रस्ट भएपछि मेरो कानमा जहिल्यै मार्टिन एच फिस्चरको यो वाणी गुञ्जिरहन्छ, ‘मुत्युदेखि किन डराउने ? यो त जीवनकै सुन्दर अनुभूति होइन र !’

अढाई महिना अघिको आधाघण्टे मृत्यु–चिन्तनको अनुभूतिपछि मैले हरेक क्षण कुनै न कुनै रूपमा आफूलाई मृत्यु–चिन्तनकै वरिपरि पाइरहेको छु। कुनै दिन ठूला र वौद्धिकहरूमा न्यूनतम मानवीय संवेदना हराउँदै गएको थाहा पाएर म जीवनदेखि विरक्तिएको छु। त्यति मात्र होइन, बिरामी भएकै निहुँमा बारम्बार लखेट्ने र त्यही बहानामा मलाई कमजोर देखाउने मित्रहरूको व्यवहारले पनि पटकपटक मारेकै छ।

वास्तवमा शिर ठाडो पारेर आत्मसम्मानका साथ बाँच्न खोज्दा खुट्टा तानेर लडाउने प्रवृत्तिले मान्छे जिन्दगीभर कैयौंपटक मरिरहन्छ। त्यति बेला मूल्यहीन इमानदारिताको जिन्दगी बाँचेर यो वा त्यो बहानामा मरिरहनुभन्दा सहर्ष मृत्युलाई स्वीकार्नुमै मजा रहेछ भन्ने पनि लाग्छ। आखिर जन्म र मृत्युभन्दा अकाट्य सत्य दुनियाँमा अरू के होला र !

अन्नपूर्ण पोष्ट फुर्सदबाट

प्रतिक्रिया दिनुहोस्

*