आैंला आैंलामा अस्ट्रेलिया : शब्दका डल्ला फुटाउँदै नयाँघरे

यमितता तोडेर बोल्छ

वास्तविकतालाई सिरानी राखेर कल्पनाको उन्मुक्त उडान भर्न खप्पीस शिल्पहस्ती, नियमितताका सबै बार–बन्धन तोडेर मुक्त भएको यो नयाँघरेको औँला औँलामा अष्ट्रेलिया । कुनै फरमेट र नियमिततामा आबद्ध छैन । तोडेर बोलेको छ, स्वतन्त्र र उन्मुक्त भएर कुदेको छ । आफ्नै भावभंगी र गतिमा उचालिंदै, पछारिंदै र सम्हालिँदै । समयले निर्धारण गरेको नियम, पद्धति र सिद्धान्तलाई आधार बनाएर तयार पारिएको विश्लेषणत्मक यो गद्य, इतिवृत्तको सारवान् कलाकृति ।

युवराज नयाँघरेको ‘औँला औँलामा अस्ट्रेलिया’मा हतारले उर्लिएको छ अस्ट्रेलिया । आउने र जानेको मिति गनेर । औंला भाँचेर । नातिनातिनाका थाङ्ना स्याहार्दै, धुँदै । बुढेसकालको जागिर बन्न पुृगेको छ ।

चटक्क परेका शीर्षकहरू छन्, घोषणापत्रका रूपमा । निबन्ध लेख्ने सीप र कलाका धनी युवराज नयाँघरे । परम्परागत निबन्ध लेखन विधाका नाक, कान पुच्छरलाई थन्क्याएर यस पुस्तकमा, ‘निबन्ध यात्रा’ साहित्यमा नयाँ उचाइ थप्दै, यात्राको रसले भरिएका साहित्यका उन्मुक्त धार पक्डँदै, स्मरण सन्देश दिन खोजिएको छ । हल्का तर गहकिला विविध विषयका साथ विकासका व्यङ्ग्यले पनि सजिएका छन् । वैयक्तिकताका अभिव्यञ्जनामा भाषाका शृङ्गारहरूले दुकानदारको खिच्रीमिच्री पसलजस्तै जसलाई पनि काम लाग्ने चिज बनेको छ यो पुस्तक ।

पुग्ने अनि पुर्‍याउने

समुद्रका लहरसँगै लहरिएका छन् स्मृतिहरू, निलो आकाश र हरियो समुद्रको कारक बनेर कहिले जेटमा त कहिले लहरमा उडेको छ यो साहित्य । पूmलको सौन्दर्यमा हराएको छ, इतिहासका पङ्तिहरू खोज्दै भौंतारिंदै छ, विकासे ईष्र्याले छटपटिएको छ, हरेक कुना काप्चामा पुर्खाको स्वाभिमान छिपेको छ कि भनेर चियाउँदै छ, ठट्यौलीका मिठासमा वास्तविकताको तातो आलुको खेल पनि बेलाबेला खेलाएकै छ, आपूm पुगेको छ, अरूलाई पुर्‍याएको छ । गज्जबै लाग्यो त मलाई !

कला, संस्कृति, भूगोल, सभ्यता, रीति, थिती, सहन–सहन, स्वभाव, प्रवृत्ति, प्रकृतिः हावा, बादल, पानी माटो, समुद्र, छाल, लहर रङ्ग र चहक–महक सबैलाई उच्च स्थानमा सजाउन सफल छन् कृतिकार । छामेका हरेक पक्षलाई न्याय दिँदै, जोड्दै, मोड्दै, सिलाउँदै, पिलाउँदै, बनाउनुसम्म बनाउन गरेका प्रयासको उपज हो यो औँला औँलामा अस्ट्रेलिया ।

जुरेका ३३ दाजुभाइ

विषय ३३ वटै राखियो किन ? यो खोज्ने मेरो मुड छैन । दुई हातले गमक्र्याएर झिक्दा जति जति आयो त्यति त्यतिमा नै चित्त बुझाएको हुनसक्छ । संयोगले जुरेका ३३ दाजुभाइ को होचा, को अग्ला ? वर्ग चरित्रको विश्लेषण गर्दै छुट्याउन गाह्रो छ । सबै दमदार छन् । टुुप्पीदेखि पैतालासम्म नै । त्यसमा पनि हामी परियो हल्का फुल्का जमाउने, तातो पिरोमा रमाउने, चिल्लोचापुल्लोमा भुल्ने जमानाका मानिस । दिमागको घनचक्कड कसले पेलोस् । फेसबुकले चुसेको यो समयको मस्तिष्कमा ।

आफ्नाेपन र पहिचानका लागि टसमस देखिंदैनन् त कुुनै पनि दाजुभाइ । एकले अर्कालाई उछिनेकै छन् । सबै सबै अगाडि । कोही केमा त कोही केमा । चाहे प्लेनको उडान र गाडीको गुडानमा होस् वा समुद्रको बिच र छाल हुन् । फूलका तरेली र परेलीमा होस् वा आकाशर समुद्रको दौंतरीका कथा हुन् वा विकास र प्रकृतिको सन्तुलनका कुरा हुन् । एक एक आफै घोषणपत्र बन्न पुगेका छन्, मोराहरू !

सजिएका सुन्दर समय

सन्दर्भलाई बटारबुटुर बनाएर सुन्दर समय सजाउन सफल देखिन्छन् नयाँघरे । हल्काफुल्का भाषामा बेतोड जवाफ लगाउन, तुक्का र टुक्काले घर सजाउन, इन्ची इन्ची नापेर जीवनसँग तौलेका छन् नयाँघरेले, सम्पदा र सभ्यताका इतिहासहरू गाँसेर । मौलिक सुवासको मीठो गन्ध छर्दै हरेक शीर्षकहरू मननयोग्य, पठनयोग्य बन्न पुगेका छन् । विमानस्थलभित्र ट्रान्जिटको बेलगाम कुराइको अवस्था होस् वा चेकजाँच र अलमलमा यात्रीहरूले भोग्ने सास्ती हुन् वा कुर्ने र कुराउनेहरूका व्यथा, भुलेका छैनन् कसैका पनि पीडा साट्न ।

सहज रूपले पोखिएका छन् यात्रा क्रममा बर्मा र बर्मामा खोरिया फाँड्न पुगेका नेपालीका सम्झना, रात र उज्यालो बीचका पल्लाहरूको हिसाबकिताब । मन, छाती र चेतनाका विम्बहरू लहराएका छन् । बादलकै खोला, बादलकै कुलो र बादलकै संसारमा रमाएर क्याङ्रुङ कोष्टमा इतिहास बोलेको छ अस्ट्रेलियाको ।

समयको साक्षी औँला औँलामा

हतारले उर्लिएको छ अस्ट्रेलिया । आउने र जानेको मिति गनेर । औंला भाँचेर । नातिनातिनाका थाङ्ना सिह्यार्दै, धुँदै । बुढेसकालको जागिर बन्न पुृगेको छ, छोडेर सान–सभ्यताहरू निरीह बाबुआमा । बच्चाका दिसापिसाब सोहोर्न बानी पार्दैछन् । मोहमा फसेर छोराछोरीको । हरेक आप्रवासीको जीवन छोइरहेछ भोगिरहेका यथार्थहरूले । साँच्चै जीवन बोलेको छ परदेशीहरूको ।

विमानस्थलभित्र ट्रान्जिटको बेलगाम कुराइको अवस्था होस् वा चेकजाँच र अलमलमा यात्रीहरूले भोग्ने सास्ती हुन् वा कुर्ने र कुराउनेहरूका व्यथा, भुलेका छैनन् कसैका पनि पीडा साट्न ।

जीवन ओकलिएको छ स्वदेश सम्झेर पनि गाउँघर फर्कन नपाएकाहरूको । गएकाको कन्तबिजोक नगएको विद्यार्थी होस् वा जागिरे, सबैका बेग्लै कन्तबिजोक । गजबको छ यो पुस्तकका हरेक पन्नाहरू । स्वाद र रसका चाकाहरू भरेर, सबैका औँला औँलामा समयको साक्षी बनेर सजिएको छ अस्ट्रेलिया । आउने र जानको हतार, खान र सुत्नको हतार, काम र दामको हतार । आखिर हतारै हतारले खारिएको विकासको आलिसान जिन्दगीलाई फन्को मार्दै बगेकोे छ यो औंला आैंलामा अस्ट्रेलिया— सजिएर, ठाँटिएर कोभन्दा को कम भन्दै ३३ वटै पुष्प बाटिकाहरूमा ।

विषयवस्तु नियाल्दा

विषयवस्तुलाई कसरी नियाल्न सफल छन् नयाँघरे । समुद्रबारे– “नीलो सागर । सागरको अनौठो स्वर । समुद्रको एउटै तहजस्तो रूप । आँखाले कुनै साँध वा सिमाना कोर्न नसकेका हिन्द महासागरको एउटै प्रतिच्छाया ।”

पिनाकलको विवरण दिदै उनी लेख्छन्— “छक्कै पार्ने धर्ती, अनौठो लाग्ने पहेंलपुर संसार । गैंडाका सिङ (खाग) जस्ता, हात्तीका सुँडजस्ता, भालुका नङ्ग्राजस्ता, दुम्सीका काँडाजस्ता ढुङ्गा छन् जताततै । त्रिशुल, डम्मरु, मुकुट, पञ्जा, श्रीपेच आकारका ढुङ्गा पनि छन् ।

ती माछाका मुख, बाघका दाह्रा, बाँदरका थुतुना, साँढेका जुराजस्ता चट्टान छन् । कुनै चुच्चा, कुनै थेप्चा, कुनै सम्मिएका, कुनै भ्यात्ते चट्टानले मरुभूमि ढपक्कै ढाकिएका छन् । कोही तपस्या बसेजस्तो, कोही समाधीमा बसेजस्तो, कोही लीन भएजस्तो । कोही कविता कोरेजस्तो, कोही भाषणबाजी गरेजस्ता …” यस्ता विम्बात्मक आकृतिका माध्यमबाट वस्तुस्थिति जानकारी गराउन खप्पिस छन् नयाँघरे । यति मात्र होइन फूल, रुख र झरीको चिसोको आनन्दसँगै सहरको स्वाद पनि खुब चखाउन सकेका छन् उनले ।

मेरा कुरा

विषयवस्तुको अन्तरघुलन अझ गराउन सक्ने स्थान थियो । कहीँकहीँ बगेका भावनाहरू रेटिदिएको भए अझ कलात्मक हुन्थ्यो । केही शीर्षक फेरेको भए पनि सन्दर्भ बढी चुम्थ्यो कि जस्तो लागेथ्यो । यी यस्ता कुरा लेखनका सिलसिलामा भई नै रहलान् ।

समय र जीवन

मुख्य कुरा लेखक विदेशमा गएर विदेशीलाई मात्र नभएर नेपालीलाई विदेशको मोह गरिबीका लागि हो है भन्ने सन्देश दिन सफल छन् । जहाँ जाऊँ समयको सीमा छ । समयमा पैसा छ । पैसामा जीवन चलेको छ । समय नछुनेले पैसा छुन सक्दैन । समयले लपेटेको जीवनसँग बाँच्न जानेकाहरूमा समाजसेवा कष्टपूर्ण बन्न पुग्छ । पैसाले लुटेको जीवनसँग भावना भए पनि मारेर बस्नुपर्ने हुन्छ । मानिसले मानिस लुटेर नै सम्पन्नता प्राप्त गर्ने हो । दर्शनका अंशहरू बोल्छन् यतातिर ।

पाठक आभारी

फुर्सद त विपन्नताको साधन नै हो भन्ने भाव बोकेको यो नियात्राले इतिहास, कला, साहित्यलाई प्रकृति र भूगोलसँग आबद्ध गरेको छ । अस्ट्रेलिया साँच्चै सुन्दर पूलहरूको बागबगैंचा हो भन्ने कुरा छर्लङ्ग पारेको छ । चाहे समुदायको कुरा होस्, देश विदेशबाट आउनेका कुरा हुन् । नयाँ बसोबास गर्दै रहेका होऊन् वा पुराना बसोबास गरिआएका ।

पढ्न आउनेका पीडा हुन् वा घुम्न आउनेका सबै सबैको प्रतिनिधि पात्रजस्तै बन्न पुगेको छ यो कृति । यति धेरै जानकारी दिन सफल पुस्तकका लेखक हरेक पाठकका लागि आभारी छन् ।

घचघच्यायो

सम्पति खर्च गरेर त्यही ठाउँ घुमेर पनि पाउन नसक्ने ज्ञानको सँगालोलाई पुस्तकरूपी सानो कन्तुरमा सजाएर राखेका छन् नयाँघरेले । अस्ट्रेलिया बसेर हर समय त्यहीँ घुमिरहेकाहरूलाई यो किताब पढेपछि पक्कै त्यो स्थानमा पुग्दा नयाँ र नौलो अनुभूति हुनेछ नै ।

नदेखेका कति कुरा अब देख्न सक्ने अवस्था बनेको छ । अंग्रेजी भाषामा पनि उल्था गर्न सक्ने हो भने पक्कै यसको सार्थकता अझ सिद्ध हुन्थ्यो भन्ने लागेको छ । मलाई यति कुरा लेख्न यही किताबले घचघच्यायो । नयाँघरेलाई मुरीमुरी धन्यवाद । अस्तु

अनलाइन खबर डट कमबाट

प्रतिक्रिया दिनुहोस्

*