श्वेताम्बरा 

भानुप्रकाश जोशी
को हौ तिमी ?
श्वेत वस्त्रमा सुसज्जित
पूर्ण चन्द्र या सूर्य प्रकाश ?
या दिनको पर्वतराज ?
गहन खानीकी हीरा हौ कि ?
सागर पिँधकी मोती ?
        प्रश्न गर्छु म आफैँसँग

        के म गर्दै छु न्याय
        तुलना गरेर तिमीलाई यीसँग ?
तिमी अनन्त आकाश
सागरभन्दा गहिरी
धीर, उदात्त, कर्मठ
प्रेमिल हरपल
वाणी मधुरस झर्झर
करुणा बग्दछ कलकल
कोमल मनकी धनी
खट्दछ्यौ निरन्तर
अक्षर सागरमा पौडिन्छ्यौ
शब्दका माला उन्छ्यौ
वीणा वादिनी सँगी बनाई
नन्दन वागका पुष्प सिँगार्छ्यौ
स्वाभिमानको दीप्ति छ
आभायुक्त मुखमण्डल
भित्रि गुण गहना तिम्रो
मगन आफैँमा रहन्छ्यौ
        के भनी बोलाऊँ तिमीलाई ?
        ए मेरी प्रियसी !
       भनूँ श्वेताम्बरा
       या कुनै सम्बोधन विना ।

प्रतिक्रिया दिनुहोस्

*