चुरोट

राजेन्द्र पराजुली

५४ वर्ष हुनै लागेको जिन्दगीको यो यात्रामा डेढ–दुई सय खिल्ली चुरोटले मेरो मुखमण्डलभित्र हुँडलिने मौका पाए होलान्। तर, तिनका धुवाँले मुखबाट श्वास नली हुँदै फोक्सोसम्म पुग्ने अवसर कहिल्यै पाएनन्। धुवाँलाई भित्रसम्म पुर्‍याउने मेरा सारा प्रयास व्यर्थ खेर गएका छन्। मुखभित्र धुवाँ राख्यो अनि फुस्स उडाइदियो। मान्छे ठूलो हुन चुरोट खान जान्नुपर्छ भन्ने तत्वज्ञान मलाई आफ्नै साहिँलो दाजुले सिकाएका थिए। तर, कस्तो ठूलो ? उमेरमा कि अन्य प्रतिभा–क्षमता बुद्धिमा ? यस्ता प्रश्नले लामो समय मनमा डेरा जमाइरहे। उनले चुरोटको धुवाँ उडाएको देख्दा मलाई लाग्थ्यो, संसारको सुख यही चुरोट खानुमा अल्झेको त छैन ? घरमा आमा र जेठा दाजु बाँडेर चुरोट खान्थे। आमालाई दमको रोग थियो, तर पनि चुरोट उनको प्रियवस्तु थियो। अन्ततः चुरोटको धुवाँकै कारण आमालाई दीर्घजीवन प्राप्त हुन सकेन। उता, माइला र साहिँला दाजुचाहिँ लुकीलुकी चुरोट तान्थे। तिनलाई त्यस्तो आदत लागेको थाहा पाउन पनि मलाई लामो समय लागेको थियो।

७ कक्षाको अन्तिम परीक्षाको नतिजा आएपछि कक्षा ८ मा छात्रवृत्तिका लागि प्रधानाध्यापकसँग कुरा गर्न भनी साहिँला दाइ र म नयाँसडक छेउको केलटोलमा रहेको उनको घर गएको थियौं एकाबिहानै। माइतीघरमा ट्रलीबसबाट ओर्लेर सेनाको ब्यारेकको बाटो हुँदै भद्रकाली निस्केर केलटोल पुग्ने निधोमा हामी पुग्यौं, सीधा पर्थ्यो त्यो बाटो। माइतीघर ओर्लनासाथ मलाई दाजुले ‘चुरोट खान्छस् ? ’ भनी सोधे। मैले तत्कालै ‘खान्नँ’ भनिहालेँ। चुरोट भन्ने शब्दसँगै मलाई डर थियो, खानु त परको कुरा। उनलाई भने चुरोटको लत नै लागिसकेको रहेछ। ‘म एउटा चुरोट खान्छु, घरमा कसैलाई नभन् नि। अनि हेडसरलाई पनि नभन् है ! तैंले जे खान्छस्, त्यो किन्दिछु,’ दाजुले मलाई फकाउँदै भने, ‘ठूलो मान्छे हुन चुरोट खानुपर्छ, बुझिस्।’ मैले उनका कुनै पनि कुरामा असहमति जनाइनँ। उनले चुरोटको धुवाँ नाकबाट निकाल्दै मज्जा लिएको देखेँ। आकाशतिर उड्दै गएको धुवाँको त्यो दृश्य मलाई अनौठो लाग्यो। धुवाँ कसरी नाकबाट निकाल्ने होला भन्ने जिज्ञासा मभित्र उठ्न थाल्यो।

म एउटा मन्द बुद्धिको मनुवा हुँ। यसमा अहिले पनि कुनै सुधार आएको छैन। धेरैथरी घटना मसँग जोडिएका छन्, मलाई मन्द बुद्धिको साबित गर्ने। ती केही घटना अहिले सम्झँदा म बडो नोस्टाल्जिक हुन्छु, मज्जाले हाँस्छु पनि। कहिलेकाहीँ त आफ्नो मन्द बुद्धि देखेर आफ्नै माया लागेर आउँछ। कुनै पनि प्रश्न वा आरोपको तत्काल जवाफ दिन नसक्नु आफ्नो ठूलै कमजोरी लाग्छ।

मलाई चुरोटप्रति कुनै आशक्ति थिएन। तर, जुन दिन साहिँलो दाजुले ठूलो मान्छे हुन चुरोट खानुपर्छ भने, त्यस दिन मलाई उनको भनाइले बेग्लै प्रभाव पारेको थियो। दाजुले दिएको दिव्यज्ञानलाई प्रयोगमा ल्याउन मलाई ठूलै सफलता मिलेको महसुस हुनुपर्‍यो। त्यसबेला म गान्धी आदर्श माध्यमिक विद्यालय, काँडाघारीमा कक्षा ८ मा पढ्थेँ। फागुनको पहिलो साता थियो, नयाँ कक्षा सुरु भएको केही दिनमात्र भएको थियो। मैले छात्रवृत्तिका निम्ति शिक्षा मन्त्रालयमा निवेदन दिएको थिएँ। ‘गरिब तथा जेहेनदार’ विद्यार्थीलाई सरकारले दिने छात्रवृत्ति मैले कक्षा १ देखि नै पाउँदै आएको थिएँ, कक्षा ७ मा भने त्यो फाइदा मैले लिन सकेको थिइनँ। छात्रवृत्ति पाउन सक्दा धेरैखाले फाइदा हुन्थ्यो। पहिलो कुरा त विद्यालयमा मासिक शुल्क तिर्नु पर्दैनथ्यो। अर्को मन्त्रालयबाट वार्षिक डेढ सय रुपैयाँजति प्राप्त हुन्थ्यो। त्यसबेला त्यति पैसाले किताब र वर्षभरिका निम्ति कापी–कलम किन्न पुग्थ्यो।

केही दिनपछि विद्यालयमा खबर आयो, राजेन्द्र पराजुली शिक्षा मन्त्रालयको छात्रवृत्ति पाउने विद्यार्थीमा पर्‍यायो भनेर। जब त्यो खुसीको खबर आएको दिनको कक्षा सकियो, मेरो मन चुलबुलिन थाल्यो। उकुसमुकस यसरी बढ्यो कि आफूले आफैंलाई सम्हाल्न गाह्रो पर्न थाल्यो। छात्रवृत्तिले मभित्र खुसीको पारो चढाइदिएको थियो। खुसीले विस्तारै उत्तेजनाको रूप लिँदै थियो। त्यसमाथि दाजुको कुराले पनि मनभित्र कता कता दह्रो प्रभाव पारिरहेको थियो। त्यो सफलतालाई म सेलिब्रेट गर्न चाहन्थेँ, कुनै तरिकाले। सेलिब्रेसनको उपाय चुरोट तान्नु नै रहेको निष्कर्ष आफ्नै मनले निकालेको थियो। मलाई पनि चाँडै दाजुले भनेजस्तै ठूलो बन्नु थियो। मन्द बुद्धिको मान्छे, त्यसमाथि निकै कलिलो उमेर, अग्रजको प्रभाव नपर्ने कुरै भएन। छात्रवृत्ति पाएको खुसीलाई थप घनीभूत पार्न म चुरोट खान चाहन्थेँ।

विद्यालय बाहिर निस्केर मैले एउटा याक चुरोट किनेँ। आशा, गैंडाजस्ता चुरोटमा फिल्टर हुँदैनथे। त्यसैले ती चुरोटले स्वास्थ्यमा असर गर्छ, याकमा फिल्टर हुने हुनाले असर गर्दैन भन्थे अग्रजहरू। पसले बूढा चिनजानका मान्छे थिए। ‘मलाई त हैन, दाइलाई एउटा चुरोट दिनुस् न काका’ भनेर मैले त्यहाँ चुरोट किनेको थिएँ। ‘कि तँ पनि तेरो दाजुजस्तै चुरोट खान थालिस् हँ केटा ? खानु हुन्न है केटाकेटीले चुरोट,’ मलाई चुरोट दिँदै उनले भनेका थिए। पैसा तिरेर किन्नै पनि गाह्रो पर्ने त्यो समयमा त्यहाँ चुरोट सल्काउने कुरो कल्पना पनि गर्न सक्दैनथेँ म। फेरि दाजुलाई भनेर किनेको चुरोट आफूले सल्काउने कुरो पनि भएन। बाटोमा चुरोट तान्दै हिँड्ने मान्छे भेटेपछि ‘खै खै’ भन्दै मागेर सल्काउँला भन्ने विचार थियो। त्रिभुवन विमानस्थलको पूर्वी किनारबाट घरसम्मको झन्डै ५० मिनेटको बाटोमा मैले ३–४ जना चुरोट तान्दै हिँडेका मान्छे भेटेँ। ती अञ्जान व्यक्ति थिए। तर, तीमध्ये कसैसँग पनि मैले मागेर चुरोट सल्काउने आँट गर्न सकिनँ। भित्रभित्रै डर लागिरहेको थियो, ‘कसैले देखे भने मैले चुरोट खाएको’ भन्ने लागिरहेको थियो।

सर्टको खल्तीमा रहेको चुरोट बेलाबेला म हातमा लिन्थेँ। त्यसलाई ओल्टाइपल्टाइ गर्थें, कुन बेला सल्काउन पाइएला भनी चिन्तित हुन्थेँ। चुरोट अलिअलि बांगिएको थियो, भाँच्चिएला भन्ने डरले म खुबै सतर्क थिएँ। बाटोमा चुरोट सल्काउने कुनै योग मिलेन। घर आएपछि गज्जबको मौका मिल्यो, सल्काउने अनि मज्जाले तान्ने। आमा, दाजु, भाउजू, दिदी कोही पनि थिएनन् घरमा। मैले भान्छामा गएर सलाई निकालेँ। चुरोट हातमा लिएँ, त्यो थप बांगिएको थियो। त्यसलाई सीधा पारेँ। र, कुन ठाउँमा गएर सल्काउने भन्ने सोच्न थालेँ। भान्छामा बसेर चुरोट तान्न हुन्न भन्ने लाग्न थाल्यो, कोही आइहाल्यो भने चुरोटको गन्धले थाहा पाउँछन् भन्ने मेरो १३ वर्षको बालबुद्धिले सिकायो।

भान्छामा बसेर चुरोट तान्न हुन्न भन्ने लाग्न थाल्यो। कोही आइहाल्यो भने चुरोटको गन्धले थाहा पाउँछन् भन्ने मेरो १३ वर्षको बालबुद्धिले सिकायो।

जस्तापाताले छाएको घरको माथिल्लो तलामा बाहिरपट्टि करिब डेढ फिटको टप निकालिएको थियो। त्यही टपमा बसेर चुरोट तान्दा गन्ध अरूले थाहा पाउँदैनन् र घरका कसैले देख्दैनन् पनि भन्ने भयो। खुसुक्क टपमा निस्केँ र सलाई झ्यार्र पार्दै लामो समयदेखिको चुरोट सल्काउने प्रतीक्षा साकार पारेँ। कोटेश्वर तीनकुनेस्थित मेरो घरअघिल्तिर जम्माजम्मी तीनवटा घर थिए, त्यसबखत। ती सबै घर आफन्तका थिए। खुला ठाउँ भएकाले मान्छे ओहोरदोहोर गरेको परैबाट देखिन्थ्यो।

टपमा उभिएर चुरोटको पहिलो कस मुखभित्र लगेर फोक्सोमा पुर्‍याउने प्रयत्न के गरेको थिएँ, मलाई श्वास फेर्न गाह्रो हुन थालिहाल्यो। सहनै नसक्ने गरी खोकी लाग्न थाल्यो। आँखा तिरमिर हुन थाल्यो। मुटु फुट्लाजस्तो भयो। टपबाट कसरी भित्र जाने भन्ने समस्या पर्न थाल्यो। समस्या चुरोटको धुवाँले मात्र उत्पन्न गरिरहेको थिएन। अघिल्तिरको घरमा दिदी गएकी रहिछन्। मैले टपमा बसेर चुरोट तानेको उनले देखिसकिछन्। उनी सय फिट जति परको दूरीमा रहेको अर्को घरबाटै कराउन थालिन्, ‘ए टाउके पख्लास्, तैंले चुरोट खाएको आमालाई भन्दिन्छु।’ यी सबै मेरो मन्द बुद्धिका उपज थिए। खुला टपमा बसेर चुरोट खाँदा अरूले देख्छन् भन्ने सामान्य ज्ञान पनि भएन मलाई। दिदीको गाली खाएपछि म झल्याँस्स भएँ। डरका कारण अनुहारबाट पसिना चिटचिट बहन थाले। मैले दिदीलाई उक्त घटना कसैलाई पनि नभनिदिन अनुनय–विनय गरेँ, तर उनले मानिनन्। मैले चुरोट खाएको उनलाई पटक्कै मन परेको थिएन।

साँझ परिवारका सबै सदस्य सामुन्ने एउटा अपराधीलाई झैं मलाई केरकार गर्न थालियो। उसै मन्द बुद्धिको मान्छे म, सही–सत्य कुरा सबै बताइदिएँ। छलेर वा ढाँटेर आफूलाई जोगाउन सकिनँ। माइला र साहिँला दाजु त केही बोलिरहेका थिएनन्। सायद ती मलाई पनि आफ्नै कोटीमा राख्न पाउँदा बढी खुसी पो थिए कि ! जेठा दाजुको नमीठो भनाइ खाएँ। त्यो पनि केही थिएन, सबैभन्दा बढी गाह्रोचाहिँ आमाको दह्रो थप्पड जब मेरा पुक्क परेका गालामा अविरल बज्रिन थाले, त्यसपछि तोरीका फूल देख्न थालेँ। आमासामु मैले कान समातेर अबदेखि कहिल्यै चुरोट खान्नँ भनी बाचा गरेँ।

साँच्चै त्यो वाचा मैले धेरै लामो समयसम्म तोडिनँ। आमा यो धर्तीमा रहुञ्जेल चुरोट तान्ने प्रयत्न नै गरिनँ। उमेरले साढे तीन दशकको नेटो काटेपछि केही ‘आफूलाई खुसी’ पार्ने प्रयत्नहरू मबाट हुन थाले। जिन्दगीलाई उत्सवमय पार्नुपर्छ भन्ने चेत कुन्नि कताबाट दिमागमा भरिएको थियो। समाजले अनैतिक मानेका, ‘अतिरिक्त’ प्रमाणित गरिएका गतिविधि हुन थाले मबाट र ती क्रियाकलाप पनि मेरो मन्द बुद्धिकै उपज थिए। कुनै पनि कुरा ‘अतिरिक्त’ खोज्नु फाल्तु काम हो कि भन्ने मैले बुझ्न सकेको थिइनँ। समाज, परिवार र आफ्नो करिअरलाई दाउमा राखेर गरिएका स्नेह वा प्रेमबाट त्यस्तै प्रतिक्रिया वा सद्भाव खोजिरहेँ। परिणाम यस्तो आयो– म सधैं आफूलाई ऐनामा हेरिरहेको छु, त्यहाँ धुवाँको मुस्लो प्रवेश गर्न खोजिरहेको छ।

धेरै प्रकारका ‘अतिरिक्तता’ को प्रयोग गर्न खोजँे, जिन्दगीमा मैले। तर, आफूलाई खुसी पार्न खोज्ने अनेक प्रयास विफल भएका छन्। यस्ता व्यवहारले आनन्दभन्दा बढी तनाव नै दिएका छन्। त्यस्ता क्रियाकलापबाट उत्पन्न हुने तनावलाई व्यवस्थापन गर्न पुनः चुरोटको कसतिर मेरो ध्यान जान थालेको थियो। खल्तीमा महँगा चुरोटका प्याकेट राख्ने आदतजस्तै हुन थाल्यो केही वर्षसम्म। धूमपानमा लामो समयदेखि आदत बसेका मित्रसँगको नियमित उठबसले पनि यतातिर ध्यानाकर्षण हुन थालेको थियो।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले चुरोट तान्दै गरेको तस्बिर खुब प्रचलित छ। विलक्षण प्रतिभाका धनी उनका अन्य तस्बिर पनि पाइन्छन् बजारमा। तर, चुरोट तान्दै गरेको तस्बिर बढी आकर्षक लाग्छ मलाई, अहिले पनि। निश्चय पनि चुरोट खाएर उनले आफूलाई खुसी पारेका थिए। कैयौं पत्रकार–सम्पादक सहकर्मीले चुरोट तान्दै समाचार लेखेको र सम्पादन गरेको देखेको छु। महाकवि देवकोटाले चुरोटको धुवाँलाई फोक्सोसम्म पुर्‍याउन सके कि सकेनन् मलाई थाहा छैन, तर अधिकांश पत्रकार–सम्पादक भने नाकबाट धुवाँ उकेल्दै आनन्दले काम गरिरहेको देखेको छु। एक जना अग्रज पत्रकारले मेरो पत्रकारिताको यात्रा आरम्भ हुनेताका जागिर दिने क्रममा मलाई आश्चर्यमि िश्रत प्रश्न सोधेको अहिले पनि सम्झन्छु, ‘तपाईं चुरोट पनि नखाने मान्छे के पत्रकार !’

केही वर्षसम्म मेरो मानसिकतामा राज गरेको चुरोटको धुवाँलाई मैले पछि पनि फोक्सोसम्म भने पुर्‍याउन सकिनँ। धुवाँ मुखभित्र मात्र राज गथ्र्यो। मुखबाट भित्र पस्ने बाटो खोज्थ्यो त्यसले, तर असफल हुँदै बाहिर निस्कन्थ्यो। उसको यात्रा त्यहाँबाट कहिल्यै अघि बढ्न सकेन, मेरो शरीरभित्र धुवाँले निकास कहिल्यै पाउन सकेन। चुरोटको यात्रालाई मैले फोक्सोसम्म त परै जाओस् मुखसम्म पनि आउन नदिएको अब त लामो समय भइसकेको छ। १३ वर्षको उमेरमा चुरोटको पहिलो कस तानेर भित्रसम्म पुर्‍याउन खोज्दा जसरी बेस्सरी खोकी लागेको थियो, भाउन्न भएको थियो, धेरै वर्षपछि पनि त्यस्तै भएको थियो।

धुवाँलाई नाकबाट निकाल्ने मेरो प्रयास कहिल्यै सफल भएन, न त चुरोट खाएरै म ठूलो मान्छे बन्न सकेँ। मद्यपान गर्दा मात्रै चुरोट तान्ने अघिपछि नखाने आदत भएका मेरा थुप्रै दौंतरी छन्। ती दौंतरीको सिको केही समय मैले पनि गर्न खोजको हुँ, तर सधैं असफल भइरहेँ। चुरोटलाई मज्जाले तानेर भित्र फोक्सोसम्म लैजाने अनि नाकका दुई प्वालबाट चिम्नीले जसरी धुवाँ निकाल्ने काम अहिले पनि मलाई एउटा ‘कला’ वा ‘क्षमता’ जस्तै लाग्छ। त्यो कला र क्षमता आफूमा भने कहिल्यै विकसित भएन।

जसरी चुरोट तानेर आफूलाई खुसी पार्ने पहिलो प्रयत्न विफल भयो मेरो, त्यसरी नै खुसी हुने अन्य तौरतरिका अर्थात् ‘अतिरिक्तता’ को खोज पनि आजका मितिसम्म कामयाब भएका छैनन् ! मैले खोजेको र सोचेको त यत्ति नै थियो, म आफ्नो ‘लाइफ सेलिब्रेट’ गर्न पाऊँ र आफूलाई खुसी राख्न मद्वारा गरिएका हरेक ‘अतिरिक्त’ खोजमा बाधा व्यवधान नआओस्। आखिर यो जिन्दगीको यात्रा धुवाँसरि नै उडिरहेकै त छ।

अन्नपूर्ण पोष्टको फुर्सदबाट

प्रतिक्रिया दिनुहोस्

*