सुबुको सुबुद्धि

लक्ष्मी उप्रेती

एक कक्षामा पढ्न सुबु स्कुल जाने बेलामा झगडा गर्दैन । स्कुल छुट्टी भएर घर आएपछि उसले लगाएको स्कुलको लुगा आमाले फेराइदिनुहुन्छ । त्यसपछि सुबुको हातखुट्टा धोइदिएर आमाले खाजा दिनुहुन्छ । आमाले दिएको खाजा सुबु मीठो मानेर खान्छ । एकछिनपछि आमाले उसलाई छेउमा राखेर गृहकार्य गराउनुहुन्छ ।
तीक्ष्ण बुद्धिको सुबु ज्ञानी भएर आफ्नो गृहकार्य सक्छ र पढछ पनि । तर टेलिभिजन नजिकै बसेर कार्टुन च्यानल हेर्ने उसको नराम्रो बानी छ । ‘टेलिभिज नजिक बसेर नहेर न छोरा’ बुबा आमाले फकाउँदै सम्झाउनु हुन्छ । तर बा–आमाले भनेको सबै कुरो मान्ने सुबुले यो कुरो कहिले मानेन् । बरु रोई कराई गर्दै झगडा गरेर पनि त्यसरि नै नहेरी छाड्दैनन् ।
टेलिभिजन निजिकै बसेर बुढी औँला चुस्दै कार्टुन हेर्नु उसको आदत छ । उसको यस्तो बानी भएकाले – सबुको आँखा कमजोर हुने हुन् कि भन्ने चिन्ताले बाआमा पिरोलिन थाल्नुभयो । ऊ घरमा भएका बेला टेलिभिजनमा कार्टुन बाहेक अरु कुनै च्यानल कसैले हेर्न पाउँदैनथे ।

सुबुको जाँच सकिएर स्कुल बिदा भयो । बिदाका बेला ‘वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा’ बालमेला लागेको थियो । एक दिन त्यहाँ सुबुलाई मेला घुमाउन बा–आमाले लैजानुभयो । वल्ड ट्रेड सेन्टरको चौथो तलामा बालमेला लागेको थियो ।

त्यो मेलामा हावा भरेको रबरको चिप्लेटी, पिङ, सानो छुकछुके रेल, ड्रयागन गाडी आदि थिए । त्यहाँ सुबुजत्रा अरुपनि बालबालिकाहरू थिए । छोराछोरीसँगै सबैका बा–आमा पालो पर्खिएर झुम्मिएका थिए ।
निकैबेर पर्खिएपछि सुबुको पालो आयो । गद्दाजस्तो रबरको चिप्लेटी, पिङ, छुकछुक रेल, ड्रयागन गाडी खेल्न पाएर सुबु दङ्गदास भयो ।
त्यसपछि सुबुलाई लिएर मेलामा भएका बाल सामग्रीको बिक्री कक्ष हेर्दै बा–आमा अघि बढ्नुभयो । बालपुस्तकको बिक्री कक्ष अगाडि पुगेपछि उनीहरू उभिए । रङ्गीन चित्र भएका पुस्तकतिर सुबुले औँला देखायो । अनि बाले बिक्रेतासँग सुबुले देखाएको पुस्तक मागेर सुबुलाई दिनुभयो ।
रङ्गीन चित्र भएको पुस्तक पाउँदा सुबु खुसी भयो । अनि पाना पल्टाएर सावा अक्षर भएको एक लाइनको वाक्य सुबुले सजिलै पढ्यो ।
उसले त्यसरी पढेको देखेर ‘बाबु तिमीलाई यो किताब मन प¥यो ?’ आमाले सोध्नुभयो ।
‘मन प¥यो, मलाई यो पुस्तक किनदिनु न ।’ मायालु हुँदै सुबुले आमालाई भन्यो ।
आमा छोराको कुरा सुनेर बुबाले ‘हुन्छ छोरा, तिमीलाई यस्तै राम्रा पुस्तक किनिदिन्छु । पुस्तक किनिदिएपछि यी पुस्तकहरू पनि तिमीले पढ्नु पर्छ बुझ्यौँ ? टेलिभिजन छेउ बसेर कार्टन हेर्नु हुन्न नि ! अनि अब टेलिभिजन तिमीले मात्र हेर्नु हुँदैन है । हामीलाई पनि टेलिभिजनमा समाचार हेर्न दिनु पर्छ ल ?’ बुबाले भन्नु भयो ।
बुबाको् कुरा सुनेर सुबुले ‘हुन्छ, हुन्छ बुबा अब म टेलिभिजन छेउबाट हेर्दिनँ । तपाईंहरूले टेलिभिजन हेर्दा झगडा पनि गर्दिनँ । यस्ता पुस्तकहरू पनि पढ्ने गर्छु’ सुबुले बाआमाको मन एकैछिनमा पगाल्यो ।
त्यसपछि उसले पढ्न सक्ने राम्रा–राम्रा चित्रकथाका पुस्तकहरू बाले किनिदिनुभयो ।
अब सुबुलाई कतिखेर चित्रकथाका पुस्तकहरू फिँजाउँदै हेर्नुजस्तो लाग्यो । त्यसैले ‘अब छिट्टै घर जाउँ न । घुम्न पुग्यो’ हाँस्दै उसले बाआमालाई भन्यो । छोराले त्यसो भनेपछि ढुक्क भएर घर आउनुभयो ।
घर आइपुग्नासाथ आमा खाजा बनाउन भान्छातिर लाग्नुभयो ।
एकछिनमा खाजा लिएर आमा टेलिभिजन भएको कोठामा आउनुभयो ।
लुगा फेरि हातखुट्टा धोई फ्रेस भएर सुबू र बुबा कोठामा हुनुहुन्थ्यो । सुबु किताबको सावाअक्षर पढ्दै दङ्ग भएर चित्र हेर्दै थियो । टेलिभिजन हेर्ने त बुबा मात्र हुनुहुन्थ्यो ।
सधैँ टेलिभिजनको छेउमा बसेर कार्टुन मात्र हेर्ने छोरो पढ्दै गरेको देखेर बाआमा खुसी हुनुभयो ।
त्यस दिनदेखि सुबुले टेलिभिजन हेर्न कम ग¥यो । किताबमा नै रमाउन थाल्यो ।
अस्तिसम्म दाहिने हातको बूढी औँला चुस्दै टेलिभिजनछेउ बसेर कार्टुन मात्र हेर्ने सुबुले आजकल बुबा आमालाई टेलिभिजन हेर्नु भन्छ ।
अब टेलिभिजन हेरेर सुबुका आँखा कमजोर होलान भन्ने चिन्ता बाआमालाई भएन ।
यस बेला सुबुलाई कसैले के ल्याइदिउँ भनेर सोध्यो भने चित्रकथाको पुस्तक ल्याइदिनु भन्छ । बुबाआमाले पनि छोराका लागि चित्रकथाका पुस्तकहरू खोजी–खोजी ल्याइदिनु हुन्छ ।
पुस्तक पढ्न पाउँदा सुबु ज्ञानी भयो ।

प्रतिक्रिया दिनुहोस्

*