चाँदनी…

– गोपीकृष्ण ढुंगाना

लेख्नु’थ्यो लेख्यौ, सबको मन हरेर लेख्यौ,
दाम आउँछ जान्छ, नामका लागि मरेर लेख्यौ ।

धन्य छ तिम्रो मन, मुटु अनि धमनी,
साहूलाई कूत, बुझाउन पाथी भरेर लेख्यौ ।

थाहा छैन कति, सुखी कति दुःखी छौ तिमी,
स्वतन्त्र भएर लेख्यौ, या दबाबमा परेर लेख्यौ ।

अरे मार्मिक तिमी, आखिर मान्छे नै त हौ,
धर्तीमा बस्यौ र, चाँदनीलाई प्रेम गरेर लेख्यौ ।

नामै छ मार्मिक, तखल्लुस मात्र हो रोशन,
स्वर्ग वारी थियो, अचानक पारी तरेर लेख्यौ ।

हुन्न भर आयुको, अघिपछिको कुरो न हो,
सधैं बाँच्ने सोचमा, चौतर्फी नाम छरेर लेख्यौ ।

gopiji2065@gmail.com

Kavya-kunja, Gatthaghar, Bhaktapur

गजलकार मार्मिक रोशनको पहिलो गजल संग्रह चाँदनीको सम्पादनका सन्दर्भमा उनकै नाममा समर्पित गरिएको गजल ।

प्रतिक्रिया दिनुहोस्

*