आमा

- तिलकप्रसाद सापकोटा

रमेश र दिनेश पाँच÷पाँच वर्षका भए । ती कहिले मिलेर खेल्थे भने कहिले झगडा गर्थे तर कहिल्यै छुट्टिँदैनथे । एकछिन हराए भने एकले अर्कालाई खोज्थे । ममात्रै आमासँग सुत्न पाए हुन्थ्यो भन्थे । आमासँग सुत्न नपाउँदा निदाउनै सक्दैनथे । बिहान उठ्दा आमा आफूतिर फर्केर सुतिरहेको देखे भने धेरै खुसी हुन्थे ।

हरेक दिन बेलुका आमा रमेश र दिनेशलाई खाना खुवाइसकेर भन्थिन्, ‘बाबु हो, दुवैजना ओछ्यानमा जाऊ, सिरक ओढेर बस, म खाना खाइसकेर आउँछु अनि सुतौंला ।’ दुवै ओछ्यानमा जान्थे । सिरक ओढ्थे । कुराकानी गर्थे । कहिलेकाहीँ त कुरा गर्दागर्दै निदाउँथे । धेरैजसो त आमाले च्यापेर सुताउनुपथ्र्यो ।

एक दिन रमेश र दिनेश खाना खाएर सुत्न गए । सिरक ओढ्दै दिनेशले भने, ‘रमेश, आज आमासँग सुत्ने पालो मेरो है ।’ ‘दिनेश, तिमी भोलि र पर्सि सुत, आज पनि म सुत्छु नि ल’, रमेशले भने । ‘अहँ हुँदैन । हिजोअस्ति पनि यस्तै भन्यौ, मैले सुत्न दिएँ, भोलिपल्ट झगडा ग¥यौ । आमाले पनि अबदेखि पालैपालो सुताउँछु भन्नुभएको पनि तिमीले झगडा गरेर त हो नि’, दिनेशले सम्झाए । ‘पर्सिदेखि पालैपालो सुतौंला, आज त मै सुत्छु’, रमेशले जिद्दी गरे, तर दिनेशले मानेनन् ।

रमेश र दिनेशले आमासँग सुत्ने कुरामा हानथाप गरिरहेको सुनेर आमाले भन्नुभयो, ‘तिमीहरूको केको झगडा हो यो ? मैले आज बिहान पनि भनेकी थिएँ, अबदेखि पालैपालो सुताउँछु ज्ञानी हुनुपर्छ भनेर । यसरी झगडा गरिरहन्छौ भने एक्लाएक्लै सुत ।’

रमेश आमासँग सुत्न पाइनँ भनेर रुन थाले । आमाले सम्झाउनुभयो तर रमेशले मानेनन् । आमाले आफू बीचमा सुतेर दाहिनेतिर रमेशलाई र देव्रेतिर दिनेशलाई सुताउँदै भन्नुभयो, ‘रमेश, ज्ञानी भएर सुत है, भोलि त तिमीलाई च्यापेर सुताइहाल्छु नि ।’ ‘आमा, मतिर फर्कनुस् न, आज त मेरो पालो हो नि’, दिनेशले आमाको मुन्टो आफूतिर फर्काउँदै भने ।

आमा दिनेशतिर फर्किनुभयो । उनले आमाका दुवै हात च्याप्प समाते । आमासँग टाँसिएर सुत्न पाएकोमा उनी खुसी भए । दिनेशले आमालाई भने, ‘आमा, म निदाएपछि रमेशतिर फर्केर नसुत्नुस् है, बिहान मतिर फर्केर सुतेको देखिनँ भने भोलि पनि तपाईंसँग मै सुत्छु । रमेशलाई सुत्नै दिन्नँ ।’ आमाले न्यानो पारेर सुताउनु भएकाले दिनेश केहीबेरमै निदाए ।

रमेश निदाउन सकेका थिएनन् । दिनेश निदाए कि निदाएनन् भनेर उनले पटक–पटक उठेर हेरिरहे । दिनेश निदाएपछि रमेशले आमाको काननजिकै पुगेर बिस्तारै भने, ‘आमा, मलाई त निद्रा नै लागेन । मलाई पनि च्यापेर सुताउनुस् न, बरु म निदाएपछि दिनेशतिर फर्केर सुत्नुस् ।’ सानो छोराको तोते स्वर सुनेर आमाको मन पग्लियो । दिनेश उठ्ला कि भनेर आमा बिस्तारै रमेशतिर फर्किनुभयो ।

आमाको छातीमा टाँसिएर सुत्न पाएकोमा रमेश खुसी भए । आमाले पनि रमेशलाई च्याप्नुभयो । रमेशको टाउको सुम्सुम्याउनुभयो । गालामा म्वाइँ खानुभयो । रमेशको खुसीको सीमा रहेन । उनले आमालाई कोट्याउँदै भने, ‘आमा, आमा, तपाईं अहिले मतिर फर्केर सुत्नुस्, दिनेश उठ्ने बेला भएपछि मात्रै ऊतिर फर्कनुस् न है ।’ आमाले पनि मुन्टो हल्लाउँदै भन्नुभयो, ‘हस् बाबु हस् ।’

आमाले रमेशलाई सोध्नुभयो, ‘बाबु, तिमीसँग सुतेँ भने दिनेशले के गर्छ ?’ ‘रुन्छ नि । भोलि मलाई तपाईंसँग सुत्नै दिँदैन’, रमेशले भने । ‘तिमीहरू एक मिनेटको अन्तरमा जन्मिए पनि दिनेश तिम्रो भाइ हो, तिमी दाइ भएर पनि भाइलाई माया पो गर्नुपर्छ, झगडा गर्नुहुन्छ त ?’, आमाले रमेशलाई सम्झाउनुभयो । ‘दिनेश निदाएपछि मलाई पनि सुताउनुस् न त, म ज्ञानी भइहाल्छु नि’, रमेशले भने ।

आमाले ‘हस्’ भन्नुभयो । आमासँग कुरा गर्दागर्दै रमेश पनि निदाए । आमाले दुवैलाई सिरक ओढाएर गुटुमुटु पारिदिनुभयो ।
आमाले दुवैलाई पालैपालो आफूसँगै सुताउन थाल्नुभयो । आमासँग सुत्न पाएर रमेश र दिनेश पनि ज्ञानी हुन थाले ।

ॐॐॐ

प्रतिक्रिया दिनुहोस्

*