कामरेड कालुराम

–घनश्याम शर्मा

जाडो याममा साँझपख फलामे कराईमा तरकारी झ्वाई पारेर अगेनाको आगो फुक्दै गरेकी आमाका चाउरिएका गालाले हावा भरेर ढुङ्ग्रोबाट फू–फू गरेर निस्केको आवाज एक प्रकार सङ्गीतमय लागेको थियो उसलाई । बाले भरखर भैंसी दुहेर दुधेर्नो अगेनाको छेउमा राखेका मात्र के थिए उनको शरीरबाट उत्सर्जन भएको गोवरको गन्धले आमा, छोरा र छोरीका नाकलाई अस्तव्यस्त पारिदिए ।

बाबु बाहेक तीन प्राणीले एकछिन  नाक खुम्चाए । बाले खुट्टाका  कुर्कुच्चामा लागेको गोबर धुन जुठेल्नासम्म पुग्दा आमाले फलामे डेक्चीमा दूध खन्याइसकेकी  थिइन् । अब दूध तताउनु पर्ने थियो । अगेनोमा तरकारी भुकलुक भुकलुक पाक्दा छोपेको स्टीलको प्लेटको आवाज मात्र आइरहेको थियो ।
तीनवटा ढुङ्गा जोडेर बनाइएको चुल्हो भान्छा कोठाको अन्य सतहभन्दा माथि उठेको थियो र यसको अन्य भुई सतहभन्दा अग्लो आशन भएकोले मर्यादित मानिन्थ्यो । जाडो समयमा खरका छानाबाट निस्किने धूँवाले मीठो वासना बोकेर उड्छ । गाउँ हो, यसकारण गाउँका सबै विशेषता यस ठाउँमा पाउन सकिन्छ । जाडो याममा गरिबीको थोत्रो सिरकले कठ्याङ्ग्रिएका शरीरहरु तताउन सक्दैन र अगेनामा मोटा मोटा दाउराका गोल बनाएर गोल वरिपरि यस परिवारका चार प्राणी मध्येरातसम्म आ–आफ्नो कठ्याङ्ग्रिएको शरीर तताउने उपक्रममा लागिरहन्छन् ।
मध्यरातमा तातेको जीउ बोकेर पूराना डल्ला परिसकेको दुवै पट्टि कमसेकम दश–दशवटा टालोले आफ्नो लाज छोपिरहेको सिरकलाई हत्तनपत्त आफ्नो जीउमाथि सर्लक्क ओढाउँछन् । तातो जीउमाथि चिसो सिरक । मान्छेको शरीर तातो तर शरीर जोगाउन प्रयोग हुने सिरक चिसो । सिरक तात्न पाउँदा नपाउँदै बिहानको चार बज्छ र घर घरबाट आउने भालेको तिखो आवाजले सबै गाउँलेको निद्रा भगाइदिन्छ । भालेहरु बिहानको ‘अलार्म’ को काम गर्छन् र  गाउँ पुनः अर्को दुःखपूर्ण नयाँ दिनमा प्रवेश गर्छ ।
बिहानको घामसँगै उदाएको दुःख घाम अस्ताचलमा पुग्दा उत्कर्षमा पुग्छ र रातको अन्धकारसँगै केही समयका निम्ति मानिसका मनमस्तिष्कबाट उत्रेर शरीरमा पस्छ र बेहोस निद्रामा लट्ठ हुँदा मात्र छोटो समयका लागि दुःखको विर्सजन हुन्छ ।
छोरा अर्थात् कालुराम जैशी । गाउँमा कोही काले भन्दछन्, कोही कालु भन्दछन्, कालुराम त स्कूलको हाजिर रजिष्टरमा लेखियो बस् उसको । माष्टरहरुले समेत उसलाई काले अथवा कालु नै भने ।उसको अनुहारले पनि नामको सार्थकतासँग गहिरो तादाम्त्य राख्थ्यो । कालो वर्ण हुनुपनि  अभिसाभ लागिरह्यो उसलाई ।
कालुराम चित्त बुझाउन खोज्छ किनकी उसको गाऊँ नै थुप्रै अभिशासपहरु ओढेर विवशताको गहिरो चीर निद्रामा निदाएको सदियौं भैसक्यो र यो गाउँ ब्युझिने कुनै संकेतसम्म पनि गोचर हुँदैन उसलाई ।
दशकौं सम्मन गाउँमा क्रान्ति गर्नुपर्छ र समाजलाई नै आमूल रुपमा परिवर्तन गर्नुपर्छ भनेर क्रान्तिमा होमिएकाहरुको समूह समेत अचेल गाउँबाट बिस्तारै पलायन भएर शहरमुखी हुन थालिसकेको छ । गाउँलेहरुका आँखामा उसबेला कस्ता कस्ता सपना थिए । कालुरामले दुवै आँखा चिम्लियो र अगेनाको अगाडि बसेको भएतापनि उसका आँखामा अन्धकार पस्यो । कालो निशाचरको छाँया  अगाडि घुमेको जस्तै लागिरह्यो उसलाई निकैबेरसम्म ।
लामो समय आँखा चिम्लेर अन्धकारको दुनियाँमा विचरण गर्नु पनि मज्जा लाग्छ उसलाई । अन्धकार भन्दा पर्तिर उसको परिवारमा के पो थियो र ?
विगतका द्वन्द्वका दिनहरु एक–एक गर्दै उसको आँखा अगाडि सिनेमाको रिल जस्तै  घुम्न थाले ।
औंशीको मध्यरात चूक घोप्टिए जस्तै अँध्यारो र कालो निद्रामा मस्त गाउँमा एकाएक ठूलो होहल्ला भयो । हल्ला यस्तो थियो आवाजविहिन सर्याक् सुरुक खस्याक खुशुक । मान्छेले सास फेर्दा पनि आवाज निस्किएला कि भन्ने डर । त्रास बोकेर आएको यो रातमा गाउँको सिरान देखि पुछारसम्मका प्रत्येक घरमा भेरीलाईटको ंउज्यालो छपक्क भयो  एकैछिनमा ।
भेरी लाइट जसले बाल्छ अर्थात् बत्तिको उत्पादनस्थल वरिपरि अन्धकार नै हुन्छ तर जहाँ ‘टार्जेट’ गर्न खोजिएको हुन्छ त्यो स्थान भने उज्यालोले धपक्कै बल्छ । खोलापारी रहेको सेनाको क्याम्पबाट संभवतः भेरी लाइट यो गाउँतिर बालिएको थियो । गाउँमा केही गतिविधि भएको चाल पाए होलान् । उनीहरुले र एकाएक औंशीको रातमा सिङ्गो गाउँ ‘भेरी लाइटले’जुनको तन्नामा लम्पसार जस्तै देखिन थाल्यो ।
गाउँ पसेका मानिसहरु एकाएक घरभित्र पस्न थाले । कम्व्याट डे«स, ब्यागप्याक, हतियार र गोली गठ्ठा अनि आँखामा  सुदुर उज्जवल भविष्यकोे सपना सहित थकाइले चूर भएका यी योद्धाहरुलाई कुनै गाउँलेले आश्रय नदिने संभावना थिएन ।  दुई, तीन , चार जनाको समूहमा घर घर भित्र पसेका यी योद्धाहरुले आफू निकै दिनसम्म भोकै भएको हुँदा कमसेकम एक छाक खाने र एक रात ‘सेल्टर’को लागि अनुरोध गरेका थिए ।
घर बाहिर कोही मानिस नदेखिएपछि होला संभवतः आधा घण्टा पछि भेरी लाइटको उज्यालो गायव भयो र हरेक घरभित्र क्रान्तिवीरहरुले खाने र संगठन बिस्तारका क्रियाकलापहरु शुरु गरे ।

सेना खोलापारीको डाँडामा थियो ।  खोला तरेर गाउँ सर्च गर्नु उनीहरुलाई पनि सहज थिएन । तलब र रासन खाएर जागिरे  जीवन बाँचिरहेका उनीहरु कोही पनि मध्यरातमा आफ्नो जीवनलाई तरबारको धारमा टेकाउँदै ‘सर्च’ अभियानमा निस्कने संभावना थिएन । कालुरामको घरमा कमाण्डर लगायत अन्य तीन जना बसेका थिए ।  उनीहरुले कालुराको परिवारका बारेमा धेरै जानकारी पहिल्यै नै लिई सको थिए । बहिनी पारु डरले रातो अनुहार पारेर भान्छाकोठाको एउटा कुनामा दुवै घुँडा कानमाथिसम्म पुग्नेगररि खुम्चिएर बसेकी थिई टुक्रुक्क । उसका जिज्ञाशु आँखा घरी कमाण्डर र घरी कमाण्डरका सहयोगीका अनुहारतिर घुमिरहेका थिए ।
कमाण्डरले आफ्नो अनुहारलाई सामान्य पार्ने कोसिस गर्दै भन्यो–
“कालुराम जी– बुझ्नुभयो त हाम्रो कुरा ! तपाईको बाबु गोठे जैशी । (संभवतः माथि लेकतिर बर्षमा नौं महिना जसो भंैसी गोठ रुँगेर बस्ने भएकोले गाउँमा सबैले उनलाई गोठे जैशी भन्थे) वहाँको पनि बुबा याने तपाईका हजुरबा चौंठे जैशी अनि तपाई समेतको तीन पुस्ताले यो राज्यका कुनै पनि सुख सुविधा र सहुलियत पाए त ? बरा ! तपाईका  हजुरबा “कालो अक्षर भैंसी बराबर” निरक्षर नै अथाह गरिबी रोग, भोक र अशिक्षाको कुण्डमा नै कुहिएर जीवन बिताउनु भयो । वहाँको जीवनमा सदैव रोग साथी भएर आयो भोक अभिन्न मित्र जस्तो कहिल्यै नछाड्ने भयो । पशुवत जीवन बिताएर दुई वर्ष अघि त नारकीय जीवनबाट मुक्त हुनुभयो ।
तपाईका बा गोठे, भैसी गोठमा अहिलेसम्म जीवन निर्वाह गरिरहनु भएको छ । खै कहाँनिर छ तपाईका गाउँमा  राज्यको  उपस्थिति ?  खै कहाँ छ तपाईका भैसी गोठमा राज्यको पहुँच ?  भैंसी गोठमा बाघ पसेर निर्घात  तपाईका बा गोठे जैशीलाई घाइते बनाउँदा के राज्यका डाक्टरको ओषधी वहाँले पाउनु भयो कि हाम्रा कामरेडहरुले वहाँलाई सेल्टरमा ल्याएर महिनौं उपचार गरेर फर्काए ? तपाई सोच्नुस् कालुराम जी ।
काले र कालु अनि ऐ तँ र तिमी भन्दा अर्को सम्बोधन आजसम्म नसुनेको कालुरामले पहिलोपटक कसैबाट यति ठूलो सम्मान र इज्जत पाएको थियो । वाह ! कालुराम जी ! अझ बेलाबेला कमरेड कालुराम !
कालुरामको अन्तरमन झस्कियो । लेकको गोठमा बाघ लागेको बेला बाबु घाइते भएको र केही दिनमा सञ्चो भएको त यसले बाबुबाट सुनेको थियो तर यो सब यिनीहरुले नै गरिदिएको उसलाई थाहा थिएन । आज बल्ल उसले उनीहरुको ऋण तिर्न पाएकोमा आफैलाई गौरवान्वित ठान्यो । एकाएक उसका आँखा चम्किए । राज्यप्रतिको घृणाको ज्वाला उसको उन्दतरह्रदयबाट बिस्फोट हुन थाल्यो ।
ठीक यस्तै बेलाको प्रतिक्षा थियो कमाण्डरलाई र उनले भने–
“ल भन्नुस् कालुराम जी तपाईले बन्दूक नबोक्नुपर्ने कुनै कारण छ ? तपाईले के गुमाउनु हुन्छ ? रोग ? भोक ? गरिबी ? अनि मान्छे भई बाँचिदिनु परेको सिङ्गो अभिशप्त जीवन ? शहादत प्राप्त गर्नु भएमा सुनौंला अक्षरले सहीद । राज्यसत्ता कब्जा भएमा राज्यको सम्पूर्ण सुख सुविधा र अवसरहरुको उपभोग र उच्चकोटीको जीवनशैली । सम्पूर्ण राज्यकोष र राज्यको सम्पत्तिमाथि आम नागरिकको बराबरी हक ।”
कालुरामका आँखा अघिल्तिर थुप्रै सपनाहरु बिस्कुन जस्तै ओछ्याइए । एकनास मान्द्रोमा एक–एक दाना गँहु वा धान वा कोदो मकैं सुकाए जस्तै । उसले आफूले बन्दुक नबोक्नु पर्ने कारणहरु खोज्न थाल्यो । अहँ भेट्टाउन सकेन । “कि त बैकुण्ठपुरीको राज, कि त चपरीमुनकिो बास” उसले यस्तै सोच्यो ।
त्यो रात सिङ्गो गाउँ अनिश्चित त्रासको छायाँमुनी सुत्यो ।  सेनाको आक्रमण हुनसक्थ्यो । दोहोरो भिडन्तको सिकार गाउँले सहजै हुने संभावना थियो । कतिले गाउँका देवीदेवता भाकल गरे । मनमनै कुलदेवता गुहारे ता कि गाउँमा कुनै अनिष्ट नआओस् ।
गाउँ यसर्थ पनि गाउँ थियो कि गाउँको छेउका खोल्सामा पानीका मुहानहरु हैजा, झाडापखाला र वान्ताका प्रशस्त किटाणुहरु प्रवाहित गर्थे र बेलाबेलामा गाउँमा हैजा फैलिरहन्थ्यो । मानिसहरु  तरकारीमा विषादी छरेपछि सोत्तर भएका किटाणुको अवस्थामा पुग्थे । गाउँबाट लास तीन घण्टा टाढाको घाटसम्म पु¥याएर मलामी घर फिर्दा अर्को आँगनमा कोही फलिरहेको हुन्थ्यो । भोलिपल्ट उसको सतगत गर्दै फिर्दा मलामी प्रार्थना गर्थे कि  गाउँ पुग्दा अर्को कोही सोत्तर परेको नहोस् ।
जीवनजलको पुरिया खान नपाएर मर्ने थुप्रै हुन्थे । झाडा वान्ताको औषधी समयमा उपलब्ध हुन नसकी ‘डिहाडे«सन’ भएर  मर्ने कति कति । चार घण्टा टाढाको स्वास्थ्य चौकी पियनको छत्रछायाँमा सधै हुर्किरहेको हुन्थ्यो । बर्ता भए कहिले काँही कुनै मधेशतिरको अहेब आइपुग्थ्यो र भन्दथ्यो–
“साला पहाड में भेजदिया, वो भि सदरमुकाम से इतना दूर जहाँ चावल भि नहीँ मिलता खानेको”
राजधानी र ठूला शहरमा आर्थिक विपन्नताका कारण पँहुच नभएकाहरुका लागि साक्षात्कार देवता प्रकट भएको ठान्थे गाउँले । दुर्भाग्य, बढीमा एक महिना बसेर तलब लिन सदरमुकाम हिंडेको ऊ उतैउतै मधेश हानिन्थ्यो र सरुवा मिलाएर जिल्लाबाटै रमाना बोकेर हिंड्थ्यो ।  पाँचवटा गाउँ विकासहरुको एउटा स्वास्थ्य केन्द्र बाबु मरेको टुहुरो जस्तो पियनले क्रियापुत्रीको भूमिका निर्वाह गरेको लास भएर सुतिरहन्छ ।
जाडो यामको आँगनमा भरखर ओर्लेको कलिलो घामतिर ढाड फर्काउँदै कमाण्डरले उसलाई अन्तिम पटक सोधेको थियो –
“के गर्नुहुन्छ कालुराम जी ? हामीसँग जानुहुन्छ त ? रातभर के सोच्नु भो त ? समयमा नै निर्णय गर्नु  भो भने तपाई जस्तो एस.एल.सी. पास भैसकेको कामरेडको भविष्य उज्जवल हुन्छ ।
पार्टीको माथिल्लो पोष्टमा पुग्न सक्नुहुन्छ उस्तै परे भोलि देश नै हाँक्न सक्नुहुन्छ भन्नुस्”
काले, कालु याने कालुरामजी सोच्न थाल्यो–
केही समय अघि रात थियो भरखर सूर्यको चहक पृथ्वीमा छरियो र हरेक सृष्टि  सुन्दरतम् देखिन थाले । मान्छेको जीवन पनि त यस्तै हुँदो हो । मेरो दुर्दिन गए र अब सुदिन फिर्ने भएछन् क्यारे ।
सदरमुकामको कलेजमा आए.ए. पढ्ने विचार उसले एकै रातमा त्यागी दियो र आफू ‘होलटाइमर’ कार्यकर्ताका रुपमा लाग्ने निर्णय ग¥यो ।
आमाले केही बुझिनन्  । टालेको आफ्नो गुन्यूँमा प्वाल परेकोले अब  टाल्ने ठाँउ नै नरहेकोले पुरुष समुदायका अघि उभिनु पर्दा र कुरा गर्नुपर्दा दुईटा गोडा खुम्चाएर फाटेको गुन्यूको भागलाई लुकाउने असफल प्रयत्न गरिरहन्थिन । गरिबीको यो भन्दा  ह्रदयविदारक चित्र सायदै अरु कुनै कोरिन सक्दो हो । दसवटा सन्तान खेर गएपछि बल्ल तल्ल जन्मेको छोरो अनिश्चित गन्तब्यको यात्रामा हिंड्ने भएसि उनको मातृह्रदय वात्सल्य प्रेमले रुझेको थियो ।
गोठे जैशीले छोराको निश्चल अनुहारमा  आत्मविश्वासले भरिएका दुईटा आँखा देखे । ती आँखाका क्षितिजमा समुन्नत र नयाँ राष्ट्रको सपना टाँसिएको  थियो ।
जीवनभर जुत्ता र चप्पलको स्पर्श नपाएका उनका खुट्टा र पैताला आपँको रुखको बोक्रा जस्तै थिए ।
बहिनीको चौबन्दिको घाँटीको पछिल्लो भागमा जमेको मयलले यी गाउँले बालाले सम्पूर्ण गाउँवासी महिला जो वैंश नफक्रिदै झरिसकेका हुन्थे तिनैको प्रतिनिधी पात्र लाग्थिन् ।
कालुरामले जीउ तन्कायो र एकाएक आफूभित्र संसारै जित्न सक्ने ठूलो शक्तिको श्रोत हुनसक्छ भन्ने अन्दाज ग¥यो । आमाका रसाएका आँखाबाट निस्केका आँसु गालाको र नाकको छेऊबाट निरन्तर बगिरहे । वर्षात्को भेल जस्तै आमाको आँशु । गोठे जैशीले धेरै कुरा बुझेनन् । उनलाई आफ्नो एक मात्र छोरा लडाईमा नजाओस् भन्ने चाहना थियो तर लाख कोशिस गर्दा पनि कालुरामले मानेन ।
कमाण्डरले झोलाबाट रातो अबिर झिके । बा–आमा र बहिनीले रातो टिका लगाइदिए । कमाण्डरले रातो टीका लगाएर कस्सेर हात मिलाए । कालुरामले पनि जोडले हात मिलायो ।  र कमाण्डरले जस्तै कालुरामले मुठ्ठी उचालेर प्रण ग¥यो–देश बनाउने, शोषक सामन्त र पूँजिपतिहरुलाई नामेट गर्ने जनताको शासन स्थापित गर्ने आदि आदि …।
कालुराम सम्झिन्छ– त्यसपछि उसले खतरासँग खेल्न सिक्यो । जीवन र मृत्युको सीमारेखा नजिकैबाट सदैव हिंडिरह्यो । छापामार तालिम ग¥यो । पार्टी प्रशिक्षण लियो । मीठा मीठा शब्दहरु प्रयोग गरेर बोल्ने र कसरी मानिसको मन जित्ने यस्तो कला सिक्यो ।
पार्टी हित र निर्देशन पालन गर्न जस्तोसुकै कठोरतम निर्णय गर्न र त्यसलाई कार्यान्वयन गर्न सिक्यो । धेरै पटक आफ्नो संवेदना र भावुकतालाई कुल्चेर अमानविय क्रियाकलाप गर्नुप¥यो । यस्तो बेला उ मर्माहत हुन्थ्यो ।
अपहरण गरेर ल्याइएका मानिसका  ह्दयविदारक चित्कार सुनेर उसले धेरै पटक भाग्ने प्रयास पनि गरेको थियो । “लडाइको मोर्चामा यस्ता धेरै कुराहरु जायज हुन्छन् कामरेड” कमाण्डरले यसो भन्दै आफ्ना छापामारहरुले सरकारी सेनाका शिविरमा पाइरहेको यातना र पीडाको कहाली लाग्दो वर्णन गरेपछि सेलाएको उसको शरीर एक्कासी तात्न थाल्दथ्यो ।  बदलाको भावना शरीरका नसा–नसामा रगत बनेर प्रवाहित हुन थाल्दथ्यो  र ऊ आफ्नो बन्दुकलाई जोडले अँठ्याउँथ्यो ।
कालुराम अब कामरेड कालुराम बनेको थियो ।  सेल्टरका सबैले एक अर्कालाई कामरेड सम्बोधन गर्दा आनन्दानुभूति हुन्थ्यो उनीहरुलाई । माओत्सेतुङको रातो किताब उनीहरुका झोलामा सदैव हुन्थ्यो र क्रान्तिका सिद्धान्त, छापामार नियम, भूमिगत जीवन कसरी बिताउने, पार्टी अनुशासन, भाषण कला आदिका बारेमा प्रशिक्षित गराइन्थ्यो । पटक–पटकको पार्टी प्रशिक्षण उसले पनि लिएको थियो ।
युद्ध उत्कर्षमा पुग्न थाल्यो । गाउँ–गाउँबाट उनीहरुको पार्टीको विरोध गर्ने र र परिवर्तन शान्तिपूर्ण हुनुपर्छ भन्नेहरु विस्थापित हुन थाले ।  वैचारिक सघर्ष गर्न खोज्नेहरु टिक्न नसकी पलायन हुनुपर्ने अवस्थाहरु सिर्जना भए । गाउँ र गाउँ नजिकको शहरमा बस्ने व्यापारीहरु चन्दाको माध्यमबाट आफू सुरक्षित भएको अनुभव गर्थे ।
राज्य युद्धविरोधी अभियानमा आक्रामक भयो । विदेशीहरु समेतले चासो दिन थाले । मुलुकको गम्भिर अवस्था प्रति । कालुराम सानो चाइनिज रेडियोमा समाचार सुनिरहन्थ्यो । कहिले काँही हाँसो उठ्दो समाचार पनि प्रशारण भइरहेका हुन्थे ।
वर्षौं भयो कामरेड कालुराम आफ्नो घर नगएको । बा–आमा र बहिनीको सञ्चो र बिसञ्चोको खवर उसलाई थिएन । थुप्रै लडाईका मोर्चामा हिड्यो । सँगैको आफ्नो छापामार साथीले आफ्नै  अगाडि ज्यान गुमाउनु परेको ह्दयविदारक क्षण सम्झिदा उसलाई धेरै पटक आत्मसमपर्ण गर्ने विचार आएको थियो । आत्मसमपर्ण गर्दा पनि सुरक्षित भइन्छ भन्ने ग्यारेन्टी लागेन उसलाई । उसले तत्कालै यस्तो समपर्णवादी विचार त्यागीदियो ।
मुलुकका धेरै भागहरु उसले घुम्यो । हिमाल र पहाडी क्षेत्रका थुप्रैगाउँहरुमा पुग्यो ।  गाउँको अवस्था पढ्यो । कुनै न कुनै रुपमा हरेक गाउँ उसलाई आफ्नै गाउँ जस्तो लाग्दथ्यो । हरेक गाउँमा उसकै बाबु गोठै जैशी जस्ता धेरै गोठै जैशीहरु ह्ुन्थे ।  उसकी आमा र बहिनी जसतै आजीवन दुःख र पीडाको भारी डोकोमा बोकेर बाध्यताको नाम्लोले ओसारिरहेका हुन्थे । उसलाई  लाग्दथ्यो– कुनै दिन उसले आमा र बहिनीको पिठ्यूँको यो अथाह दुःख र पीडाको सदियौं देखि बोक्दै आएको बोझ हटाउने छ । कमसेकम दुई छाक सन्तोषपूर्ण खानाको सजिलै जोहो गरिदिने राज्य व्यवस्था कायम हुनेछ ।
कालुराम धेरै मोर्चाबाट बालबाल बच्यो । उसलाई आफ्नो जीवन धन्य लागिरह्यो । हरेक दिन बाँच्न पाउनु नै ठूलो लाग्न थाल्यो । प्रत्येक दिन आफ्नै वरिपरि मडारिइ रहने मृत्युसँग पांैठे जोरी खेल्दै बाँच्नु पथ्र्यो ।  भोकै बस्नु परेका धेरै दिन र रातहरुको सम्झना छ उसलाई । लेकमा जूकालाई टोकाउँदै रुझेर प्लास्टिकको सेल्टरमा आकाशको छानामुनि बिताएका थुप्रै रातहरुको सम्झना छ ।
अचानक  युद्धविरामको घोषणा भयो । हुनत यसरी पटक–पटक युद्धविराम गरिएको थियो । तर ती युद्धविरामहरु  लामा थिएनन् । यसपटककोे युद्धविराम सम्भवतः अन्तिम हुनसक्थ्यो, उसलाई यस्तै लागेको थियो ।
छापामारहरुलाई सेल्टरमा  राख्ने भए । कामरेड कालुरामलाई छापामारको जीवनसँग वाक्क लागिसकेको थियो । ऊ सामान्य जीवन बिताउन चाहन्थ्यो । एस.एल.सी. पास गरेको छ वर्ष व्यतित भैसकेको थियो । उसलाई उच्च शिक्षा अध्ययन गर्ने धोको थियो ।  उसले पार्टीलाई अनुरोध ग¥यो –“अब ऊ कुनै सानो जागिर सहित आफ्नो अध्ययनलाई अगाडि बढाउन चाहन्छ ।”
म्ुालुकमा भएको अचानकको परिवर्तनले मोर्चामासँगै हिंडेका साथीहरु ठूलो पदमा पुगेका थिए ।  कालुराम सहर आयो र उसले आफ्ना थुप्रै पुराना सहयात्रीहरुलाई भेट्यो ।
“म कामरेड कालुराम !
कामरेड कालुराम”
उसले आफ्नो परिचय दिंदै गयो । कसैले  उसलाई स्वागत गरे । कतिले चिनेनन्  ।  उसले सबैलाई आफ्नो समस्या बतायो । पढ्ने अभिलाषा बोकेर आएको कुरा धेरै ठाउँमा भन्यो ।
सबैले “विचार गर्छाैं” भने– “तपाईको विचारलाई गम्भिरतापूर्वक लिन्छौं” भने ।
राजधानीका भीडमा आफ्ना सहयात्री कामरेडहरु हराए जस्तो लाग्यो ।  वैचारिक विचलन आएको देख्यो सबैमा । सुविधाभोगी जीवनशैलीतिर आकर्षित भइरहेका पायो ।  सबैजना शारीरिक रुपमा ह्ष्टपुष्ट भएका देख्यो ।  उसले आफूलाई हे¥र्यो । आफूलाई छाम्यो । आफ्नो अवस्थालाई सोच्यो । बाबु गोठे जैशीका आशावादी आँखालाई सम्झ्यो, आफू घरबाट छापामार युद्धमा हिंडेको दिन रोएका आमाका आँखा उसका वरिपरि घुम्न थाले, बहिनीको अभाव र गरिबी बोकिरहेको निरिह अनुहार संझ्यो, समग्रमा आफूले गाउँ–गाउँ डुल्दा बाँडेका सपनाहरु संझ्यो, उसलाई अत्यास लाग्यो ।
आफ्नो जीवनको अमूल्य समय, श्रम र पसिना पार्टीलाई समपर्ण ग¥यो । उसबेला नै गाउँमा कुनै सानो व्यवसाय शुरु गरेको भए उसको आर्थिक अवस्था केही सुध्रिसक्थ्यो । सयौं ठाउँमा उसले आफ्ना भनाइ राख्यो । काठमाडौंका सडकहरु उसका पैलाताले धेरै नापे । उपलब्धिहीन प्रत्येक दिनले उसलाई पछ्याइरहे । काठमाडौंमा पढ्ने उसको सपनामा तुषारापात भयो । बिहे गर्ने उमेर घर्किन थालेकी बहिनी संझ्यो, दमको व्यथाले च्याप्दै गएको बाबुलाई संझ्यो, पेटको ब्यथाले थलिइरहेकी आमाको दिनहीन अवस्था संझ्यो । कामरेड कालुरामले कहिल्यै काठमाडौं नआउने बाचा गरेर गाउँ नै फर्कियो ।
सदियौं देखिको गाउँ उस्तै थियो । गाउँमा कुनै उल्लेखनीय परिवर्तन भएको आभाष उसलाई भएन ।  गाउँका युवाहरु प्रायः विदेशिएका थिए । आफ्नो श्रम र पसिना विदेशीलाई बेच्न हिंडेकाहरुको लामो सूची थियो गाउँमा ।  संचारले भने व्यापकता पाएको देख्यो उसले र धेरै मानिसहरुका हात–हातमा मोवाइल सेटहरु देख्यो । ऊ  छापामार भएर हिंड्दा मास्टरी पेशामा लागेको उसको साथीले गाउँमा पसल थापेर राम्रै प्रगति गरेको देख्यो ।
गोठे जैसी आज पनि भैंसी पालिरहेकै थिए । उसको परिवारको कष्टप्रद जीवन अझै कष्टकर हुँदै थियो ।
अगेनामा तात्न थालेको दूध एक्कासी उम्लियो र पोखिएर आगोका फिलिङ्गोबाट झ्वाईंको आवाज आएपछि कामरेड कालुराम झस्कियो । ऊ वर्तमानको यर्थाथमा ओर्लियो । आमाले डाडुले दूध चलाईन् । सेतो दूधको फिंजभित्र उसले आफ्नो विगत र वर्तमान खोज्ने प्रयास गरिरह्यो । कतै टाढाबाट उसको कानमा “कामरेड कालुराम” भन्ने आवाज आएको महसूस ग¥यो र मनमनै भन्यो “भूतपूर्व कामरेड–कालुराम” ।

प्रतिक्रिया दिनुहोस्

*