पहिलो प्रेम

जय प्रकाश विवश

एकाबिहानै निद्रा खुल्यो, त्यस्तै साढे पाँच तिर त्यस पछि के गर्ने के गर्ने भन्ने एकै छिनको दुविधा पछि मर्निङवाक जाने निर्णय भयो । उठेर गरिहाल्ने खासै काम पनि थिएन, पढाई पनि त्यति चापाचाप थिएन ; त्यसैले पशुपति जानु उचित लाग्यो ।

लागेँ त्यतै तिर श्रीमान जी उठ्नु भएकै थिएन। मन खै किन हो त्यसै उदास थियो । सबेरै भएकाले ज्ञानेश्वर रातोपुल गौशाला तिर कम मात्र सवारी साधनको आवागमनले गर्दा शान्त नै थियो । दिउँसोको जस्तो कोलाहल र कुईरीमण्डल थिएन धुलो र धुँवाको । सापेक्षिक रुपमा शान्त थियो सडक ।

पशुपतितिर बढ्दै गर्दा मर्निङ वाकमा निस्कनेहरुको भिडभाड क्रमशः बाक्लिदै थियो । म एक्लै थिएँ क्रमशः भीडमा पस्दै गर्दा म अझ एक्लिएको महसुस गर्दै थिएँ । दुइटा फाइदा थिए मर्निङ वाकका एउटा पशुपतिको दर्शन अर्को शान्त वातावरणमा चिसो हावायुक्त वायु प्राप्त हुने र शहरी कोलाहल र ब्यस्तता बाट मुक्ति ।

खै किन आज मलाई के नरमाईलो होला झैँ लागिरहेको थियो बिहानैबाट मनमा एक अनौठो लहर चलेको थियो केहि बिग्रेला कि भन्ने। तै पनि अनौठो आशा बोकेर म लम्किरहेथेँ । पशुपतिनाथको मन्दिरमा दर्शन गरेर गुह्येश्वरीको पनि दर्शन गरौँ न भन्ने लाग्यो । आर्यघाटबाट बाग्मती तरेर विश्वरुपको मन्दिरतिरको बाटोबाट लागेँ त्यतातिर ।

भिडभाड निकै थियो मेरा आँखा अचानक अडिए टक्क एउटा जोडीपुरुषहरुमा। मर्निङ वाकमा हिडेको उक्त जोडी देखेर मलाइ अघि बढौँ कि नबढौँ भयो अनि अर्कैतिर फर्केर उभिरहेँ तिनीहरु नकटुञ्जेल । अनि लामो श्वास फेरेँ उकालो सिँढी चढ्दै ।

म आफ्नो युवावयतिर फर्कन थालेँ कुनै बेला म त्यसरी नै हुन्थेँ त्यो जोडीको एउटा पात्रका रुपमा रहन्थेँ । त्यो जोडिको ब्यक्तिसँग रहन्थेँ उसँग बसेर घण्टौँ बसेर कुरा गरिरहन्थेँ उसको काखमा टाउको लुकाएर सुन्दर संसारको कल्पना गर्थेँ । बाआमाका सपना थिए एउटी छोरी ठूलो मान्छे बनेको हेर्ने जात मिलेको एउटा राम्रो घर खानदानको ज्वाई खोजिदिने अनि सम्पन्न बनेको हेर्ने ।

म मा पनि केहि हदसम्म बाआमाको उक्त सपना उसै गरी हुर्केको थियो जसरी उनीहरु सोच्दथे। तै पनि म उ अर्थात विजय मेरो दिलमा बसीसकेको थियो जात नमिले पनि विपन्न भए पनि । त्यसैले मैले बाआमाका पढ्ने लेख्ने र जागिर खाने जस्ता सपना प्राथमिकतामा राखे पनि उच्च खानदान तथा जातको ज्वाईको सपना भने वास्ता गर्न छोडिदिएकी थिएँ । खै किन हो मलाई उ बाहेक अर्को मान्छेको हुन्छु भन्ने लाग्न छोडेको थियो ।

हामी एक थियौँ; विजय म बाहेकको संसारको कल्पना गर्थेन , म पनि उस्तै । एकदिन मैले भनेकी थिए पनि “विजय तिमीविनाको यो सरुको अस्तित्व छैन” उ हल्का हाँसेको थियो र भनेको थियो “म पनि उस्तै हो नानु” । यसरी एक अर्काको परिपुरकका रुपमा स्थापित भएको थियो हाम्रो सम्बन्ध । जमाना अलि पुरानो थियो पत्राचार हुन्थ्यो शनिवार भेटघाट हुन्थ्यो कहिलेकाँही यतै कतै ।

उ थियो सुदुर पश्चिमको कुनै गाउँबाटआएको एउटा मगर समुदायको , अनि म काठमाण्डौको नजिकको कुनै गाउँकी ब्राहमण परिवारकी छोरी। मनका कुरा गर्थ्यौँ सपनाका कुरा गर्थ्यौँ अनि जिन्दगीका भविश्यका अनि परिवारका । समय वस यसरी नै बितिरहेथ्यो हाम्रो कल्पनाको जीवन हुँदै । सामान्य पत्राचार शनिवार जस्तोका भेटघाट अनि रमाईला कुराहरुमा समय चिप्लीरहेथ्यो ।

पछि मोवाइल फोन आयो मैले एउटा लिएँ, उसले लिन सकेन, अलि महँगो थियो त्यो बेलामा । पाँच छ बर्षको अन्तरालमा इन्टरनेटले सजिलो पारयो सम्बन्धलाई अझ। पढाईमा थियौँ दुवैजना स्नानकोत्तर अन्तिम बर्षमा। समय चल्दै रह्यो परीक्षा सकियो, रिजल्ट आयो , प्रथम श्रेणीको बन्यो प्रमाणपत्र पनि ।

सम्बन्ध स्थायी बनाउने भन्दा पनि पढेर जागिर खानुपर्छ कमाउनु पर्छ भन्ने मान्यता प्राथमिकतामा परयो । मैले राम्रो तलब पाउने जागिर पाएँ उसले सामान्य बाँच्ने मेलो मार्केटिङको सहारा लियो।

फोनमा कुरा हुन्थे एकअर्का विना नबाँच्ने कुरा त सधैँ हुन्थे नै अनि सुन्दर भविष्यका कल्पनामा वित्थे घण्टौँ। म पनि शिक्षित केटी उ पनि शिक्षित केटा कुरा राम्रै थियो सकारात्मक रुपमा नै अघि बढ्दै थियो । रमाईलो बिगत सोच्दासोच्दै गाह्रो भयो म थचक्क बसेँ मृगस्थली नजिकै । बिगतको रिल फनफनी घुम्यो मेरो मानसपटलमा अझ स्पष्टसँग।

उसको न्यानो अँगालोमा आफूलाई कल्पना गर्दा आँखा त्यसै भरिएर आए । गल्ती त मैले गरेँ भन्ने लाग्दैन अझै पनि किनकि म सँधै सहि मार्गमा हिड्छु सहि छु भन्ने मेरो ठोकुवा छ । गल्ती मेरो थिएन न त उसकै थियो । कता कता उसको अर्थको थियो कि जस्तो चाँही लाग्छ । प्रतिबद्धतामा भने दुबै दृढ नै थियौँ । एकदिन फोनमा कुरा नभएमा तड्पिने अवस्थमा दुवै पुगेका थियौँ ।

जागिरमा सरुवा बढुवा भईरहने मेरो पनि कैले यता कैले उता भईरह्यो। खै किन हो मलाई दुई बर्ष पहिलेबाट उसको माया लाग्न छोड्यो कुराकानी गर्न जाँगर लाग्न छोड्यो । बेवास्ता गरीदिन थालेँ उसको खै किन हो थाहा छैन । बिचरा कति रोयो होला मेरो अभावमा बेवास्तामा मैले वास्ता पनि नगर्दा कल्पना गर्न पनि सक्दिन आज पनि ।

सोचेँ जिन्दगी एकबारको न हो माईतमा दुःखैमा बसियो कम्तीमा लोग्नेको घरमा त सुखले बाँच्न पाइयोस् राम्रोसँग पालोस मन लागेको पाइयोस सँधै अभावै अभावमा कति बस्नु । बाआमाको सपना पनि त त्यही जातको तगारो पनि त थियो उसँग बिहे गर्नुमा ।

कम्तीमा राम्रो जागिर होस, शहरमा घर होस, शानसँग हिड्न पाइयोस अनि पो बाँच्नको मजा आउँछ गरीब जिन्दगी खै के जिन्दगी र? बेस्सरी यस्ता कुराले चिमोटेपछि मलाइ पनि लाग्यो कुरा ठिकै हो । वास्ता गर्न छोडेँ उसको त्यसपछिका दिनहरुमा । र एउटासँग बिहे गरियो शहरमा घर जात मिलेको राम्रो जागिर भएकोसँग करिब डेढ बर्षअघि ।

हुन त अहिले पनि पश्चाताप छैन धन भए सबै थोक छ मन त कति पाइन्छन कति मान्छेले प्रेम गर्छन खेलाउँछन भावनाहरु र जान्छन सबैलाई घुमाउने पनि यहि रहेछ । मैले पाएकीछुसबैथोक खुसी छु भन्दै गर्दा फेरि आँखा भरिएछन्। भएर पनि छैन किन उसलाई देख्दा मन त्यसै कस्तो भएर आउँछ ।

पहिलो प्रेम त्यसै त्यसै आँखामा छचल्किन्छ । बाआमा खुसी छन् परिवार खुसी छ। आफू पनि खुसी बनेको बहाना गर्छु ।

सुनेकी छु उ अचेल जड्याहा बनेको छ रे विचरा । भन्थ्यो भन्न त तँ बाहेक कसैसँग पनि म बिहे गर्दिन भनेर । हुन त एकपटक उसले भनेको थियो बाआमा परिवार खुसी राख्ने भए एउटा राम्रो केटा खोजेर बिहे गर तेरो खुसी नै मेरो खुसी हो । म रिसाएकी थिएँ त्यतिबेला । उसले क्षमायाचना गरेको थियो ।

हरेक पटक म रिसाए फकाउँथ्यो कति मायालु थियो उ । तर मैले उ रोए पनि सुरुमा एक दुई पटक मात्र उसलाई फकाउने प्रयास गरेकी थिएँ अनि बाँकी समय मलाई त्यसो गर्न मन लागेन तर उसप्रतिको माया त अगाध थियो । तर पछि मैले वास्तै गर्न छाडिदिएँ ।

सम्पत्ति मात्र थिएन मैले उसलाई बेवास्ता गर्नुको कारण । प्रेममा कमी थिएन खै के थियो । मेरो भाग्य रहेनछ उसको पवित्र प्रेम पाउने । त्यसैले होला छ । अहिले सबै थोक छ सम्पत्ति छ घर परिवार छ माइतीको साथ छ तर बस्ने माइतीसँग होईन ।

श्रीमान छ तर वास्ता गर्दैन सम्पत्तिले पैसाले मायाँको प्यास नमेट्ने रहेछ । खाली शंकाको दृष्टिले हेर्छ श्रीमानले । घर चलाउन बजेट आउँछ मेसिन जस्तो छ पैसा छुट्टयायो जिम्मेवारीका लागि मात्र छ । श्रीमतीको जिम्मेवारी छ जागिर छ पकाएर खुवाउने बस रित्तो जीवन। उसको जीवन ।

उसको जीवन सफल बनोस कामना गरेर गुह्येश्वरीबाट फर्किएँ । फेरि चिया पकाएर खुवाउने बेला टरे श्रीमान जीको गाली तयार रहन्छ । आँखाभरी उसको तस्विर लिएर हतार हतार फर्केँ । लाग्यो यस्तै हो प्रेम अनि जीवन बाँच्नु फरक कुरा हुन ।

            आँखिभुई ८ संखुवासभा

2 प्रतिक्रिया

  1. कमल बस्नेत says:

    सुन्दर रचना…….कल्पना र यथार्थको भिन्नता…

  2. jaya prakash bibas says:

    धन्यवाद काब्यकुन्ज स्थान र कमल सर प्रतिकृयाको लागि

Leave a Reply to jaya prakash bibas

*