स्रस्टाको संग्रहालय

गोपीकृष्ण ढुंगाना

सिँढी सुरु भएदेखि नै रातो कार्पेट छ तेस्रो तलासम्म । बाहिर हेर्दा सामान्य लाग्ने काठमाडौंको भित्री सहरको एउटा घर भित्र सोचेभन्दा धेरै महत्वपूर्ण र भव्य छ । एउटा स्रस्टाको पुरानो घरलाई ढाँचा नबिगारी नयाँ घर बनाएर संग्रहालयमा परिणत गरिएको छ । नेपालमा एकमात्र कवि संग्रहालय, अर्थात् चित्तधर ह्दयका नाममा संग्रहालय ।
असनबाट पश्चिमतर्फ अघि बढ्दा बांगेमुढाहुँदै नरदेवी जानेक्रममा दाहिनेपटि रक्तकालीको मन्दिर भेटिन्छ । मन्दिरबाट सिधै अघि बढ्दा नजिकै देब्रेपटि नेपाल भाषा परिषद् लेखेको बोर्ड देखिन्छ । न्यत, तुंछेँ, येँ लेखेको स्थानमा रहेको बुढो घर संग्रहालयमा चार वर्षदेखि संग्रहालयका नामले चिनिएको छ । न्यत अर्थात् नरदेवी, तुंछेँ गल्ली अर्थात् इनार भएको गल्ली र येँ अर्थात् सहर । कवि अर्थात् स्रष्टाको नाममा बनाइएको एकमात्र संग्रहालयबारे पनि अधिकांश कवि अर्थात् स्रष्टा नै बेखबर छन् यो महानगरमा ।
भूइँतलामा रिसेप्सन र नेपाल भाषा परिषद्बाट प्रकाशित नेवारी, अंग्रेजी पुस्तकहरु छन् । पहिलो तला पुग्दा नपुग्दै ठूला डाडु पुन्यु भित्तामै ठोकेर राखिएका छन्, लाग्छ ह्दयको परिवार ठूलो संख्यामा थियो । बाकसमाथि कविको तस्वीरसँगै नेवारी र अंग्रेजी भाषामा उनको पूर्ण परिचय दिइएको छ । स्रष्टाको संग्रहालयमा पुग्ने तर नेवारी र अंग्रेजी भाषा नबुझ्नेका लागि कुनै विकल्प छैन ह्दयबारे बुझ्ने । या त उसले अनुवादक खोज्नु पर्यो या नबुझी फर्किनु पर्यो । लाग्छ, ह्दयको पहिलो परिचय नेपाली हो, त्यसपछिमात्र अरु । तर त्यसो भएको छैन । पहिलो र दोस्रो तलामा ठूल्ठूला दुई, दुई कोठा छन् । डाडु र पुन्यु राखेसँगै ह्दयको ठूलो टिनको बाकस छ ।
अनि धेरै साहित्यकारलाई थाहा नहुन सक्छ चित्तधर ह्दयको थर । र थाहा नहुन सक्छ कसरी रह्यो उनको उपनाम । चित्तधर तुलाधर साहित्य लेखनको सुरुआतमा बुद्धोपासक चित्रधर भएर देखा परेका रहेछन् । ह्दय र त्यसपछि चित्तधर ह्दय बनेका उनी आमा ज्ञानलक्ष्मी र द्रव्यधर तुलाधरका सन्तानका रुपमा १९६३ जेठ ५ गते जन्मिएका हुन् । पहिलो सिँढी उक्लेपछि सिधा अगाडिको कोठामा ६२ वर्षअघि ह्दयले स्थापना गरेको नेपाल भाषा परिषद्को पुरानो घर (हालको संग्रहालय) का तस्वीरहरु देखिन्छन् । त्यो परिषद्को बैठक कक्ष रहेछ त्यतिबेलादेखिको । तस्वीरले त्यतिबेलैदेखि त्यो कक्षमा विदेशी आउने गरेको पुष्टि गर्छ । ह्दयको जन्मकुण्डली पनि हेर्न पाइने रहेछ । कोठाको दक्षिण भित्तोमा कुण्डली राखिएकै छेउमा मिन राशीका कवि ह्दयका दुवै हातका छाप चक्र देखिने गरी राखिएको छ । उनको छोटो वंशावली पनि रुखको चित्रमार्फत प्रस्ट पार्न खोजिएको छ । सिं थरबाट सुरु भएको उनको पुस्ता देव हुँदै धरबाट तुलाधर भएको रहेछ ।
आमा कविता लेखेपछि ह्दयलाई १९९७ सालमा राणा सरकारले जेल चलान गरेको थियो । देशको व्यवस्था उल्टाउने भयो भन्दै राजनीतिक कविताको संज्ञा दिएर आजीवन कैद गरिएका उनलाई पाँच वर्षपछि छोडेको थियो । १९९२ सालदेखि तीन वर्ष नेवारी पत्रिका नेपाल ऋतुपौमाको सम्पादक बनेका उनका कविता नेपाली, हिन्दी, अंग्रेजी, उर्दु र चिनियाँ भाषामा अनुदित छन् । चित्तधर ह्दयलाई तत्कालीन राजा त्रिभुवन वीरविक्रम शाहदेवले २०१३ सालमा कविकेशरीको उपाधि दिएका थिए । उनलाई २०१३ र २०३१ सालमा शुभराज्याभिषेक पदक दिइएको थियो । उनलाई २०१३ सालमै च्वसापासा पाखें नामक नेवारी साहित्यिक संस्थाले साहित्य शिरोमणी पद्वी दिएको पनि संग्रहालय पुगेपछि पुष्टि हुन्छ । २०३९ जेठ २६ गते निधन भएको ठिक एक दसकपछि अर्थात् २०४९ सालमा सरकारले हुलाक विभागबाट एक रुपैयाँको हुलाक टिकट ह्दयको फोटो राखेर छपाएको पनि संग्रहालयमा राखिएको छ ।
चित्तधरका बुबा ठूला व्यापारी । धेरै अचम्भित भएका थिए, कसरी छोरो विल्कुल फरक पथमा ? नेपाल भाषा परिषद्का सचिव नबिन चित्रकार भन्छन्, ‘वास्तवमै मलाई अझै पत्याउन कठिन हुन्छ त्यत्रा व्यापारीका छोरा साहित्यकार ? जहाँ आम्दानी शुन्य भने पनि हुन्छ ।’ झ्यालजस्तो खापाभित्र रिल राखिएका छन् । नविन भन्छन्, ‘मैले उहाँको जीवनका अन्तिम क्षणहरुलाई वृत्तभित्रमा उतारेको थिएँ, धन्य उहाँलाई रिलमै भए पनि जीवित राख्न पाएछौं ।’ छेवैमा टाँगिएको ब्ल्याक एन्ड ह्वाइट पारिवारिक एउटा तस्वीरमा अहिलेका वरिष्ठ उद्योगीद्धय रुप ज्योति र पद्म ज्योति एक दुई वर्षका बालक देखिन्छन् । रुप र पद्मका फुपाजु हुन् चित्तधर । चित्तधरकी पत्नी ज्ञानप्रभाको एक्लो तस्वीर पनि छ । नबिनले चित्तधर र ज्ञानप्रभाको सन्तान नभएको जानकारी दिए । संग्रहालय व्यवस्थापन समितिलाई धन्यवाद दिनै पर्छ, चित्तधरका पास्नीका रंगीन र स्तरीय भोटा र टोपीहरु छन् । तस्वीरले बालकृष्ण समका सहपाठी भएको प्रस्ट हुन्छ । चित्तधर जेलमा रहँदा बुद्धिज्मसम्बन्धीको उत्कृष्ट महाकाव्य ‘सुगत सौरभ’ लेखेका थिए । उनी भन्छन्, ‘लुकीछिपी कागजका टुक्रामा लेख्ने र खाना नास्ता पुयाउने बहिनी मोतीलक्ष्मी उपासिकालाई दिने । त्यसैलाई कम्पाइल गरेर महाकाव्य बनेको थियो ।’
अर्को कोठामा ह्दयले बनाएका पानी रंगका इरोटिक चित्र छन् । देवीदेवताका अनेक रुपमा बनाइएका ती चित्रले उनी कविकेशरी मात्र होइन, उत्कृष्ट चित्रकार पनि हुन् भन्ने पुष्टि गर्दछ । १६ वटा चित्रमध्ये आधाजसो देवीका चित्र अश्लील किसिमका छन् । ती चित्रमा स्तन र यौनांगसमेत प्रष्ट देखाइएको छ । यसबाट कवि चित्तधर ह्दयलाई ‘रोमान्टिक’ मान्न सकिन्छ । चोलो लगाएर कपाल कोर्दै गरेको अर्को एक देवीको चित्रमा पनि ऐना हेरिरहेकी उनका वक्षस्थल ऐनामा प्रतिविम्बित गरिएको छ । संग्रहालयको एक प्रमुख आकर्षण बनेका छन् उनका यी चित्रहरु । छेउमा निजी संकलन भनी लेखिएका सेरामिक्स, ढुंगा र ढलोटका विभिन्न देशबाट संकलित बुद्धका दुई दर्जनजति मूर्ति छन् । १३ वटा पौभाचित्र पनि आकर्षित छन् जुन ह्दयले मन पराएका थिए । पूजापाठ पनि चित्तधरको पाटो रहेको पुष्टि त्यहाँ राखिएका चाँंदीका अंखोरा, चम्चा, बटुका, बज्र, शंख र घण्टले गर्छन् । पूजा गर्दा राखिने ढुंगाका मूर्तिहरु पनि छन् । छेवैमा दुई तले बसजस्तो दुईवटा सिंहको ढुंगाको मूर्ति आकर्षक छ ।
‘महाकवि लक्ष्मीप्रसाद देवकोटाको पनि डिल्लीबजारस्थित घरमा संग्रहालय बनाउने भनेको सुन्थें, चार, पाँच करोडको हल्ला पनि सुनेको हो तर आजसम्म सुरसार छैन’, नवीन भन्छन्, ‘हामीले उत्ति विधि खर्च गरेनौं । गोपाल वाग्ले भारतीय दूतावासको प्रेस र कल्चर हेर्ने प्रमुख भएकाले यो पुरानो घर देखाउन ल्याएँ । एक सातापछि दूतावासमा बोलाएर के गर्ने विचार छ ? भनी प्रश्न गरे । मैले संग्रहालय बनाउने भने पछि नौ महिनापछि ५२ लाख रुपैयाँ नेपाल भारत सहयोगबाट छुट्याइदिए । ३६ लाखमात्र खर्च भयो, बाँकी फिर्ता लगे ।’ उनका अनुसार, परिषद्की कोषाध्यक्ष डा. केशरलक्ष्मी मानन्धरले संग्रहालयको इन्टरनल डेकोरेसनका लागि करिब २० लाख रुपैयाँ खर्चिएकी छन् । यसबाहेक संस्कृति तथा पर्यटन मन्त्रालयले करिब दुई लाख रुपैयाँ प्रदान गरेको थियो । जीर्ण घरलाई इन्जिनियर एलेक्स श्रेष्ठले संग्रहालयका रुपमा डिजाइन गरेका हुन् । परिषद्का अध्यक्ष फडिन्द्ररत्न बज्राचार्य तन र मनले लागि परे कुनै पनि काम असंभव नहुने बताउँछन् । दुई साताअघि अवलोकनका लागि पुगेका नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले पनि नेपाली संस्कृतिको प्रवद्र्धन र अभिलेख बनाउने कामको थालनी गरेको बताएका थिए । उनले आगमन पुस्तिकामा लेखेका छन्, ‘एउटा स्रस्टाको नाममा स्मृति संग्रहालय बनाइएको रहेछ । यसले अरु स्रस्टाहरुका यस्तै संग्रहालय बनाउन सरोकारवालाहरुलाई प्रेरित गर्नेछ ।’
चित्तधर स्वयं चित्रकार हुन् तर उनका चित्र पनि अरुले बनाएका रहेछन् । तीनवटा उनका स्केच एकदमै सुन्दर र स्निग्ध लाग्छन् । उनका साहित्यिक लेखनका सन्दर्भहरुलाई अर्का कलाकार चन्द्रमान मास्केले छवटा चित्रमा उतारेका छन् । चीन गएका बेला ह्दयले ल्याएको कागजको खोलसहितको एस्ट्रे पनि संग्रहालयमा छ । चिनिया दूताबासका कल्चर डाइरेक्टर जाङ विन संग्रहालयमा आएको बेला उनका आँखा त्यो एस्ट्रेमा पुगेर रोकिए । ‘चीनमा पनि यस्तो एस्ट्रे लोप हुन लागेको छ, यहाँ देख्दा खुसी लाग्यो ।’ बाहिर प्यासेजको भित्तामा अभिनन्दन पत्र, मान पत्र, सम्मान पत्र आदि राखिएका छन् । जसमा कीर्तिनिधि विष्ट, विपी कोइराला आदिको हस्ताक्षर छ । अर्कोपटि विभिन्न देश र निकायले पठाएका निमन्त्रण पत्र छन्, भारतीय राजदूत भगवान सहायसम्मका ।
दोस्रो तला उक्लेपछि ह्दयको ‘बेडरुम’ भेटिन्छ । केही लेख्दै गरेको ह्दयको अर्धकदको मूर्ति छ । छेउमा उनले लेख्न प्रयोग गर्ने काठको होचो टेबल छ । देब्रेपटि गिलास, बटुका, थाल आदि र सँगै फुटेको उनको सानो मूर्ति आधा देख्ने आधा लुकाउने ढंगले राखिएको छ । अर्कोपटि पुरानो रेडियो, छाता र लठ्ठीका साथमा पुस्तक बोक्ने ल्यादर ब्याग छन् । फलामको सन्दुकभित्र उनले पढेका पुस्तक र अर्को टिन र काठको बाकसमा लुगाफाटा राखिएका छन् । कविलाई प्यारालाइसिस भएपछि देब्रे हातले लेखेको कागजको एक पृष्ठ पनि सजाएर राखिएको छ । उनको बिछ्यौना भूइँमा लगाइएको छ । तन्ना, सिरक र खोलविनाको सिरानी जीवन्त लाग्छन् । मानौं, चित्तधर साँझ आएर सुत्नेछन् । बिछ्यौनामाथि भित्तामा दौरासुरुवाल ह्यांगरमा झुन्ड्याइएको छ ।
अर्को कोठा चित्तधरकै एकमात्र बहिनी मोतीलक्ष्मी उपासिकाका लागि छुट्याइएको छ । परिषद्का सचिव नविनका अनुसार, मोती नेपाली साहित्यमा आधुनिक कथा लेख्न सुरु गर्ने पहिलो महिला कथाकार हुन् । उनी भन्छन्, ‘साहित्यकार दाजु बहिनीको शतवार्षिकी मनाइएको सायद विश्वमै एकमात्र घटना हुनसक्छ, चित्तधर र मोतीलक्ष्मीको ।’ बाहिर प्यासेजमा एउटा ऐतिहासिक तस्वीर छ, सायद त्यो अन्यत्र छैन । २०१३ सालमा खिचिएको उक्त फोटोमा चित्तधरसँग देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, बिपी कोइराला, लेखनाथ पौड्याल, विजयबहादुर मल्ल, गोविन्दबहादुर मल्ल गोठाले, सत्यमोहन जोशी लगायत छन् । माथिल्लो तलामा सभाकक्ष बनाइएको छ, कार्यक्रमहरु गर्नका लागि । आगमन पुस्तिकाले बताउँछ, बंगलादेशकी राजदूत मसेफे बिन्हे, भारतीय राजदूत रञ्जित रे, युनेस्कोको नेपाली प्रतिनिधि अमिता बोहोरा, श्रीलंकाका राजदूत डब्लूएम श्रीनाथुन, रसियन राजदूत डा. सगैभी भेरीचीन, युनेस्कोको नेपाल कन्ट्री डाइरेक्टर क्रिस म्यान हर्ट लगायत थुप्रै उच्च पदस्थ विदेशी कुटनीतिकहरुले संग्रहालयको महत्व बढाएका छन् । चित्तधरको संग्रहालय निर्माण गरेर निजी क्षेत्रले अन्य स्रस्टा र सरकारलाई मजैले घच्घच्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

*