सम्बन्ध–५

–परशु प्रधान

वाहिर मूलगेटको घण्टी बज्यो, बजिरह्यो । म निद्रा – अनिद्रामा छु । केही होशमा छु, केही बेहोशमा । पल्लो कोठामा छोराहरु सुतेका छन् । राति ड्यूटीबाट ढिला आउने र ढिलै सुत्ने भएकाले ८ नबजी उठ्तैनन् । मेरा आँखा अनायास खुले र भित्ताको घडीमा पुग्यो । त्यहाँ ठ्याक्कै विहानको ४ बजेको छ । को बहुला होला वा माग्ने होला ! कि कुनै जोगी हो । बजिरहेको घण्टीले घरका सारा मान्छेको निद्रा खुलिसक्यो होला । अर्काको घरमा डेरा गरी बसेको !
कोही भयाङ्ग ओर्लेको आवाज आयो । घरपट्टि बूढा हुनुपर्छ । उसका कर्कश स्वरहरु मेरा कानमा आइपुगे – को बौलाहा हो ? यस्तो बिहानै घण्टी बजाएर डिस्टर्ब गर्ने …। बूढा वाहिर गएर ढोका खोले । म पनि सतर्क भएँ । बूढाको स्वर सुनें – यति सखारै आएर डिस्टर्ब गर्ने तपाईं को हो ?
यौटा धोत्रो स्वर मेरो कानमा पयो – म लीलाको लोग्ने । म आत्तिएँ, एक किसिमले मुटु नै नराम्रोसँग हल्लियो ।
“तपाईलाई कहिल्यै देखेको छैन । फेरि लीला र उनका छोराहरुले पनि केही कुरा गरेका छैनन् । तपाई पागल त होईन ! मुखबाट रक्सीको नराम्रो गन्ध आइरहेछ । तपाई गइहाल्नोस् ।” घरपट्टिको आदेशात्मक स्वर सुनेर अलि सहज भएँ । फेरि त्यही पागल अथवा मेरो परित्यक्त लोग्नेको स्वर आयो – मेरा दुई छोराहरु यहाँ छन् । म तिनलाई भेटेर मात्र जान्छु । तपाईले जेठो मनोजलाई यहाँ बोलाइदिनोस् ।
घरपट्टि फर्केर मेरा छोराहरुको ढोका ढकढकाएको आवाज आयो – मनोज बाबु ! ए मनोज बाबु ! वाहिर एक जना आएको छ – तिम्रो बा हुँ  भन्छ, भेटेर जान्छु भन्छ ।
अव म पनि ढोका खोल्न वाध्य भएँ । घरपट्टिलाई भनें – तपाई आफ्नो कोठामा जानुहोस् काका ! विहानै अनावश्यक दुक्ख पाउनु भयो । उहाँ मास्तिर जानुभयो । मनोज आँखा मिच्तै उठेर मलाई सोध्यो – के भो मम्मी ! किन यहाँ विहानदेखि हल्ला खल्ला !
“तिमीहरुको बा हुँ भन्ने यौटा पागल छ नि ! त्यो आइपुगेछ । तिमी वाहिर गएर त्यसको सातो लेऊ ….. म त ज्यान गए त्यसको अनुहार हेर्दिन …… कुनै हालतमा हेर्दिन ।”
उसलाई इतिहास थाहा थियो । हामीवीच भएको घटना र दूर्घटनाहरु थाहा थियो । ऊ गेटतिर लाग्यो । मलाई विश्वास थियो– उसले आज हाम्रो सम्वन्धको स्थायी समाधान दिनेछ र बौलाहाले फेरि यहाँ कहिल्यै आउने आँट गर्ने छैन ।
म भने तीस वर्ष अघिको विगतमा पुगें । जुनवेला म युवती थिएँ र कुनै बैंकमा काम गर्थे । समयले यत्रो कोल्टो फेरिसक्यो । पंचायत गएर प्रजातन्त्र आयो । राजपरिवार मात्र एक चिहान भएनन्, राजाको अस्तित्व समेत हरायो । अनि फेरि लोकतान्त्रिक प्रजातन्त्र आयो । म भने ……. म भने विगतमा हराएँ ।
ती दिनहरु थिए । काठमाडौंभित्रको कुनै चोक थियो । जहाँ म जन्मेकी थिएँ । जहाँ मेरा बा, आमा, दिदी, भाई र वहिनीहरुको ठूलो परिवार थियो । आमा–बाले जेरी स्वारीको होटेल राखेर हामीलाई जेनतेन हुर्काइरहनु भएको थियो । भाइहरु पढ्थे र कुनै प्राइभेट कम्पनीहरुमा काम गर्थे । हाम्रो परिवार सुखी पनि थिएन, न दुक्खी नै । जेनतेन बाँचिरहेका थियौं, जीवनमा संघर्ष गरिरहेका थियौं ।
अनायास त्यो दिनको संझना आयो – विल्कूल कालो दिनको । मेरो दूर्भाग्यको दिन ! जसलाई म संझन चाहान्न – मेरो जीवनको पानाबाट त्यसलाई हटाउन चाहान्छु । त्यो अभागी दिनले मलाई आजसम्म पीडा दिइरहेछ, पल पलमा मर्दै बाँचिरहिछु । मेरै कार्यालयको सहयोगीले अफिस टायमपछि मलाई डेरामा खाजा खाने निम्तो दियो । म पुगें– केही नसोची नसंझी । अफिसको साथी मैले विश्वास गरें । त्यहाँ उसको कोठामा खास केही थिएन । यौटा झुत्रे पलङ्ग, फोहर र गन्हाउने लुगाफाटा र उसलाई सोधें – तपाई खाना कहाँ खानुहुन्छ ?
“नजिकको होटेलमा मासिक पैसा तिरेर खान्छु । यहाँ मेरो बनाउने, ख्वाउने कोही छैन ।” उसले सहज जवाफ दियो ।
“तपाई पहाडको मान्छे– फेरि उच्च जातिको । बिहे सानैमा गरेको होला, आफ्नै जहान ल्याए भइहाल्छ नि ।”
“मैले बिहे गरेको छैन, म किरीया खान्छु ।” यति भनेर ऊ एकछिन वाहिर निस्क्यो । दुई प्लेट चिकेन मम र दुई गिलास कोक लिएर आयो । हामी दुवैले खायौं र अफिसका कुराहरु ग¥यौं । बढ्दो महङ्गी र थोरै तलबको कुरा ग¥यौं । ८÷१० वर्ष काम गरिसकेर पनि कुनै प्रमोसन नपाएको गुनासो ग¥यौं । यस्तै उस्तै गफगाफ गर्दा गर्दै मलाई अलि अलि रिङ्गटा लागे जस्तो भयो, शरीर असहज भएर आयो । म कुनै सपनाको रङ्गीन दुनियामा पुगे जस्तो लाग्यो । कसैले मलाई विल्कूल नाङ्गो बनाएको जस्तो लाग्यो । वास्तवमा मलाई नसा लाग्ने कोक ख्वाइएको रहेछ । मलाई लाग्यो – कोही म भित्र प्रवेश गर्दैछ । एउटा खोलाको लहर आए जस्तो, एउटा पहाड भत्के जस्तो, शरीरको तल्लो भागमा सहन नसकिने पीडावोध भयो ।
मलाई समयको याद भएन । साँझ पर्न लागिसकेको रहेछ । मलाई उसले अर्थात रमेशले व्यंूझायो म उठे र थाहा पाएँ – मेरो कुमारीत्व भङ्ग भएको ।
“यस्तो असत्ती काम गर्ने ! मलाई बर्बाद गर्ने !” मैले उसलाई झम्टें ।
“ म तिमीलाई विहे गर्छु लीला, तिमी धन्दा नमान ! मलाई विश्वास गर, म तिमीलाई धोका दिने छैन ।” उसले मेरो घाउमा केही मलम लगाउने प्रयत्न ग¥यो । म पराजित, निरीह र कमजोर नारी थिएँ । घर टाढा थिएन – चूपचाप पुगें । मलाई आज सन्चो छैन भनी केही नखाई सुतें । तर सुत्न सकिन, रातभर आफ्नो जीवनको, परिवारको कुराहरु आइरहे । छट्पटी, पीडा र आक्रोशमा नै त्यो रात बित्यो ।
वाहिरको कोलाहलले मेरो विगतको तन्द्रा छुट्यो । मनोजको स्वर सुनें – मलाई सबै थाहा छ । तपाईले कसरी हामीलाई धोका दिनुभयो । सडकको माग्ने बनाउनु भयो । कत्ति धेरै वर्ष हामी भोक भोकै बसेर संघर्ष ग¥यौं । आज यसो केही गर्न सक्ने भएका छौं, अनि तपाईले आउनु प¥यो हामीलाई दुक्स दिन ।
त्यस पागलको स्वर सुनिन । म फेरि विगतमा पुगें । अतितका मेरा पीडित सुनौला दिनहरुमा पुगें । त्यस घटनाले म भित्र यौंटा सृष्टि रोपिइसकेको रहेछ । हामी लोग्ने स्वास्नी भएर बस्न वाध्य भयौं । मेरो माइतीसँग सम्पर्क टुट्यो । आमाको कडा स्वर म सम्म आइपुग्यो –तैले माइतीको पाइला टेक्न पर्दैन? तँ हाम्रा लागि अव मरिस् । तैले हामीलाई ठूलो धोका दिइस् । जेठी छोरीले के के न गर्ली भनेर हामीले ठूलो आस गरेका थियौं आदि इत्यादि ।
म कुनै विकट जङ्गलमा परेको एक्लो यात्री जस्तो भएँ । बाघ भालु र बन्य  जन्तुहरुको त्रासले बाँचिरहेको । ऊ सँगै बसे पनि आफ्नो तलव उसले कहिल्यै मलाई देखाएन । सँधै अनेकौं बहाना गर्दै टार्दै ग¥यो । शायद उसले पहाडका दुक्खी आमा बालाई केही न केही भरथेग गर्न पथ्र्यो होला भन्ने लाग्यो । ऊ अफिसवाट सिधै डेरामा कहिल्यै आएको थाहा भएन । सँधै लोकल रक्सीले टिल्ल भएर, राता राता गोलभेंडाका जस्ता आँखाहरु लिएर आयो ।

कहिले सरुवा भएर जिल्ला जाने कुरा लिएर, कहिले काठमाडौंमा घडेरी लिएर राम्रो घर बनाउने सपना मलाई र सानु छोरा मनोजलाई बाँडिरह्यो । म परिस्थितिको दास थिएँ । जत्ति रोए पनि कराए पनि मेरो रुवाई कसले सुन्ने । मेरो आवाजलाई कसले अर्थ दिने । यौटी पिडित महिलाको सत्यकथा म स्वयम् बनें । हरेक चाडवाडमा मेरो मूड अफ हुन्थ्यो । आमा, वा र भाई बहिनीको संझनाले आफ्नो विगतले मलाई भित्रसम्म पोल्थ्यो । म अवला, निसहाय के गर्न सक्थें र ! आँसु खसाल्नु वाहेक ।
दुई वर्षपछि नै फेरि सनोज आयो । माइला छोरालाई पनि हुर्काउन म वाध्य भएँ । ऊ भने वाटोको ठिङ्गो रुख जस्तो थियो – कुनै ब्यवहारको मतलव नराख्ने । मीठा वाक्यहरु मिलाएर बोल्न जान्ने – म बाँचुन्जेल तिमीले कुनै पिर लिन पर्दैन लीला ! तर मैले बुझेको थिएँ – ऊ मबाट टाढा हुन चाहिरहेछ, भाग्न चाहिरहेछ ।
एक दिन नभन्दै ऊ हरायो । अफिसबाट सरुवा गराएर पश्चिम नेपालको कुनै दूर्गम गाउँमा गएको खासखुस अड्डामा सुने । मलाई शङ्का थियो – सत्य सावित भयो । म भने छाङ्गोबाट खसें । मेरा अगाडि अजङ्गका पहाडहरु देखा परे, हिलै–हिलोले ढाकिएको नदीहरु आए । अफिसको कामसँगै एक जना काम गर्ने मान्छे राखेर मैले पनि सानु नास्ता ख्वाउने होटेल खोलें र दुई छोरालाई हुर्काउँदै जीवनको गोरेटोमा हिंडिरहे … वर्षौसम्म । उसले कहिल्यै फोन गरेन, न कुनै सम्पर्क राख्यो । बरु जागिर छाडेर ऊ इण्डियातिर लागेको अपुष्ट हल्ला आयो । हाम्रो सम्वन्धमा पूर्णविराम लागिसकेको थियो । मैले छोराहरुलाई पढाउँदै जीवन संघर्षमा डटिरहे ।

म लडेर बाँच्छु, आत्मसमर्पण गर्दिन भन्ने कुरामा दृढ रहें र आज छोराहरु सक्षम भइसकेका छन् । म सेवानिवृत भएको पनि एक युग भइसक्यो । आफै कुनै सिनेमाको हिरोईन भएको दुःखद अनुभूति लिंदै मेरा केशहरु पाकिसके । अव त म विगत र वर्तमान भन्दा छोराहरुको भविष्य मात्र सोच्ने भएकी छु । यिनलाई कुनै राम्रो देशमा पठाएर आफू पनि यस देशलाई ‘बाइ बाइ’ गर्ने सपना साँच्दै अगाडि बढिरहेछु । लाग्छ – भगवान्ले मलाई कल्याण नै गर्नेछन् ।
वाहिर छोराको कड्केको आवाज सुनें र झ्यालबाट चिहाएँ । मलाई धोका दिने, म सँग खेलवाड गर्ने त्यही पागललाई ऊ गालामा चड्कन लगाउँदै भनिरहेको सुनें – तँ हाम्रो बा होईनस् । तैले हामीलाई जन्माएको होईनस् । तँलाई अव हाम्री आमालाई भेट्ने कुनै अधिकार छैन ।
ऊ रुँदै हात जोड्दै गरेको सुनें, हेरें – मलाई क्षमा देऊ, मलाई माफ गर बाबु !
उसले फेरि एक चड्कन लगाएर ढोकामा ताल्चा लगाएको हेरें र सोचें– जिन्दगीमा यस्ता दिनहरु पनि भोग्न मलाई लेखेको रहेछ ।

(कथोपन्यास)

 समाप्त 

प्रतिक्रिया दिनुहोस्

*