मान्छेभित्रको मान्छे

शिव प्रकाश

“मान्छेको मनको तस्वीर अनुहारमा उत्रिने हो भने यो संसारमा मान्छे नै बाँकी रहदैन,” ऊ मनमनै बोल्दै थियो, मैले सुनिहाले ।
“अज्ञानताको अर्को नाउँ हो– मूर्खता ! मूर्खताको अर्को नाउँ हो– अहंकार ! अहंकारको अर्को नाउँ हो– अज्ञानता ! यी सबै मान्छेकै गुण, स्वभाव र विशेषता हुन् ।”
“मभित्र पनि छ– खराबलाई असल भन्न नसक्ने अज्ञानता । खराबलाई असल भन्न नजान्ने मूर्खता । गल्तीलाई ठीक नभन्ने अहंकार ।”
“मूर्खलाई मूर्ख भन्नु झन् मूर्खता हँुदो रहेछ । मैले त्यही मुख्र्याइँ गरेँ ।”
“नराम्रोलाई राम्रो नभन्नु झन् दुष्टता हुँदो रहेछ । त्यही गरेँ ।”
“नराम्रोलाई राम्रो भनाउन मान्छेले कति प्रयत्न गरेको हुन्छ । अनेक उपाय लगाएको हुन्छ । ती यावत प्रयत्न र उपायका विरुद्धमा उभिनु दुष्टता नभए के हुन सक्छ ?”
“समयको कमानी खुस्किएको छ । जसले जतिखेर जे मन लाग्यो त्यही गरेको छ ।”
ऊ एउटा विचित्रको वक्ता । म अर्को झन् विचित्रको श्रोता ! त्यसैले हामी उल्टोलाई सुल्टो र सुल्टोलाई उल्टो देखिरहेका छौं । ऊ बोलिरहेको छ । म सुनिरहेको छु ।
“म जेलाई गल्ती भन्छु, उनीहरु त्यसैलाई ठीक मान्छन् । म जे ठीक भन्छु उनीहरु त्यसैलाई गल्ती भन्छन् ।”
ऊ एकछिन घोरिन्छ– मूर्तिवत् हुन्छ । वास्तवमा त्यो गल्ती भएको हुदैन, गरिएको हुन्छ । एउटै कुरालाई मान्छेले पटकपटक गरिरह्यो भने त्यो भएको हैन, गरिएको हुन्छ । गरिएको कुरा गल्ती हुदैन, त्यो इच्छा हुन्छ । त्यो आशय हुन्छ । त्यो चाहना हुन्छ । त्यो बानी हुन्छ ।
यस्तै इच्छा, आशय, चाहना र बानी भएकाहरू धेरै छन् । मलाई थाह छ उसले भन्न खोजेका कुरा यही हो तर यहाँनेर सधैं म पनि गल्ती गरिरहेको हुन्छु– गल्तीलाई गल्ती नै भनेर दोहो¥याइरहेको हुन्छु ।
बन्दाकोभी जस्तै मान्छेको पत्रैपत्र छ उसको मन–मस्तिष्कमा । मनको भन्दा मस्तिष्कको खात अग्लो छ । प्रेम गर्नेहरु मनमा छन् । घृणा गर्नेहरु मस्तिष्कमा । प्रेमभन्दा घृणा गर्ने बलिया छन् । किनभने उनीहरु धेरै छन् ।  धेरै भएकाले ती सब एक अर्काका लागि असल छन् । उसको निष्कर्ष छ– ‘धेरैले जे भन्छ त्यही हुन्छ । धेरैले चलाएको छ संसार ।’
स्वामी विवेकानन्दलाई सम्झन्छ– “जीवनमा धेरै मित्रताको जरुरी छैन । थोरै होस् तर त्यसमा जीवन होस् ।”
उसले कतै पढेको हुन्छ– “इमान्दारले धेरै गुमाउँछ तर रहेको जति असल हुन्छ ।” जे छ ठीक छ, थोरै छ तर असल छ भन्ने लागेको छ उसलाई ।
यो कुरा उसले बुझेको छ– अहिले संसारमा खराबी बढेको छ । कारण– खराबीलाई असल भन्नेको संख्या झन् बढेको छ ।
ऊ अल्फ्रेड एडलरको भनाइ सम्झिन्छ– “विश्वास केवल चरित्रवान् व्यक्तिलाई मात्र गर्न सकिन्छ ।”
तर मान्छेको चरित्र भोगेपछि मात्र थाह हुन्छ । ऊ पहिले विश्वास गर्छ, पछि भोग्छ । त्यसैले सधैं पहिले गर्छ र….पछि दैलो देखेर पछुताउँछ– “किन विश्वास गरेछु ?”
“अनुहारले चरित्र बताउने भए…….?” बोल्दाबोल्दै एकछिन् रोकिन्छ ।
फेरि बोल्छ– “मन परेको मान्छेको मन चिनेपछि अनुहार पनि हेर्न मन लाग्दैन …।” वाक्य पुरा नहुदै रोकिन्छ ।
ऊ रोकिनासाथ मेरो मुखबाट त्यही वाक्य फुत्किन्छ । फुत्किनासाथ उनले आवाज र नजर एकैचोटि मतिर हुत्याउँछिन् । उनका नजर मेरा नजरमा ठोक्किन्छन् । सधैं झैं यसपालि पनि मेरै नजर लुत्रुक्क पर्छन् । शङ्खेकीराले सिङ् लुकाए जस्तो परेलाभित्र लुक्छन् मेरा आँखा । आवाजले कानका कीरा बिउँझिन्छन् । शक्तिशाली झड्का लागे जस्तो हुन्छ । मतिले बेलाबेलामा विश्राम लिए पनि उनी मेरी श्रीमती हुन् ।
“कोसँग कुरा गरेको ?”
“कोहीसँग होइन, उसँग..।”
“कोहीसँग होइन रे, अनि फेरि उसँग रे ! को हो त्यो ऊ भनेको ?”
“ऊ भनेको त्योे !”
“अनि त्यो भनेको को नि ?”
“त्यो भनेको ऊ !”
बोली खस्न नपाउँदै उनका आँखाले डसुँला जस्तो र्गछन् । मुखभित्रै दाँतको कटाक्ष चल्छ । अचम्म हुन्छ ! हत्तपत्त नड्किने उनको आवाज एकछिनलाई भित्रै कतै अड्किन्छ ।
उनको आवाज रोकिनासाथ उसले फेरि सुरु गर्छ तर उही पहिले जस्तै मनमनै ।
“पढ्न सक्यौ भने आफ्नै जिन्दगी एक असल किताब हो ।”
“तर थाह छैन, मान्छेले किन यसो गर्छ ?”
“के गर्छ ?” म पनि मनमनै सोध्छु ।
ऊ पनि मनमनै जवाफ दिन्छ– “आफूलाई जे मन पर्दैन मान्छे अर्कालाई त्यही गर्छ । जे गर्नु हुदैन भनेर अरुलाई अर्ति दिन्छ आफू त्यही गरेर देखाउँछ ।”
उसको आफ्नै जीवनले आफ्नै जीवनलाई केही पाठ सिकाउँछ तर मान्छेका दुःख देखेपछि स्मरण शक्ति कमजोर हुन्छ । सबै बिर्सिन्छ । अति विश्वास गरेका अनन्य मित्रबाट कसैले नपाउने सदावहार उपहारहरु पाइरहन्छ । जुन उपहारलाई धोका भनिन्छ । जसलाई कपटको बट्टामा घातको रातो ¥यापरले बेरेर स्वार्थको रंगीन रिवनले वाँधिएको हुन्छ । हेर्दा त्यो जति सुन्दर सायद संसारमा केही हुदैन । तर जसको असर युरेनियमभन्दा कम हुदैन । यस्ता उपहार उसले आफन्त र मित्रबाट धेरै पाएको हुन्छ । तैपनि विश्वास गर्न छोड्दैन !
“आखिर जे गर्छ आफन्तले नै गर्छ । अन्तमा मुखमा आगो झोस्ने पनि आफन्तै हुन्छ ।”
“दोषै देखाउने नै हो भने भगवानको पनि देखाउन सकिन्छ ।”
म एकछिन निहुरमुन्टी लाएर आशय खोज्छु र सोध्छु– “अर्थात् ?”
“के परुषोत्तम् पुरुष रामचन्द्र भगवान् हैनन् ? यस्ता भगवान्लाई सुनको मृग हुन सक्दैन भन्ने ज्ञान थिएन ? आफ्नी पत्नी सीतालाई यज्ञकुण्डमा हाल्न लगाउने मूर्खता किन गरे ती भगवानले ?”
मेरो भारी टाउकोभित्र फैलिएको शून्य चेतनाको अँध्यारो खाडलमा एउटा मैनबत्ती बल्छ । “आखिर भएको त ‘विनाशकाले विपरित बुद्धि’ हो नि । लालची नजरले नै हो बिपरित बुद्धिको बाटोतिर लैजाने । भगवान्लाई सुनको मृगको लोभ ?” महाज्ञानी ठान्छु म आफूलाई ।
कुरा घतलाग्दा छन् । घटमानको घनचक्कर फेरि सुरु हुन्छ । घट्टको घण्टी बज्न थाल्छ ।
“सफलता आफ्नो प्रयासमा निहित हुन्छ तर मान्छे सधैं अर्काको कमजोरी मात्र खोज्छ । अर्काको कमजोरीमा आफ्नो सफलता लिङ्गो गाड्छ ।”
“कमजोरी थाह नपाउँन्जेल मित्र, मित्र हुन्छ । त्यसपछि झिँगाले घाउ खोजे जस्तै कमजोरीका तिनै घाउ खोजीखोजी मान्छेले मान्छे टोक्छ ।
“घाउ भेटेपछि खल्तीबाट नून निकालेर छर्किदिन्छ । अनि भन्छ– यो जडी दबाई हो । मित्रले मित्रलाई लगाइदिने यो जडी दवाइको पुरिया सबै मित्रले सधैं खल्तीमा बोकेको हुन्छ ।”
“विचरा मान्छे ! आफ्नो दुःख सहन गर्न सक्छ तर अरुको सुख सहन गर्न सक्दैन । अरुको सुखमा रुन्छ । दुःखमा हाँस्छ  !”
“मान्छे यो बुझ्दैन, दुःख पाउने मान्छे सुखी हुन सक्छ तर दुःख दिने मान्छे कहिल्यै सुखी हुन सक्दैन ।”
“असल बन्नु छैन, राम्रो देखिनु छ मान्छेलाई । राम्रो देखिन आफ्ना नयाँनयाँ संस्करणहरु समाजको चौरस्तामा ल्याउँछ । बजारमा ‘खुजुलीका दवा’ बेचे जसरी बेच्छ आफ्ना नयाँ सँस्करणहरु ।”
“मान्छेका दुईटा आँखाले सधैं दुईटा दृष्य देख्छ । एउटाले आफूलाई सधैं राम्रो र अर्कोले अर्कालाई सधैं खराब !”
“कति मूर्ख छ मान्छे ? असल हुनलाई खराब गरिरहेछ !”
“जो सबैभन्दा खराब छ, उही सबैसँग सबैभन्दा असल हुन खोज्छ ।”
“यति पनि बुझ्दैन मूर्ख मान्छे– असल हुनलाई केही गर्नु पर्दैन, खराब नगरे पुग्छ । ”
“मान्छेले मान्छेलाई गाली गर्दा ‘ए, कुकुर !’ भनेर गाली गर्छ । वास्तवमा त्यो गाली हैन उपदेश हो तर मान्छे उपदेशलाई गाली सम्झिन्छ । हुन त मान्छे उपदेश सुन्दैन । दिन्छ मात्र ?”
“विष्टा खाएर के भो त मान्छेले जस्तो निष्ठा खादैन कुकुरले । मान्छेभन्दा कति महान् छ कुकुर ? कुकुरबाट शिक्षा लेऊ । भन्न खोजेको यही हो ।”
ऊ भनिरहेको छ । म सुनिरहेको छु । भन्ने र सुन्ने प्रक्रिया अद्भूत छ हामी दुबैको– मनमनै ।
उनी बेलाबेला छेउमा आउँछिन् र पहिले जस्तै उस्तै आँखाले डस्न खोज्छिन् मलाई । ‘कोसँग कुरा गरिरहेको ?’ भन्छिन् र जान्छिन् । यो नियमित क्रिया–प्रक्रिया नौलो भने होइन ।
मैले फेरि मनमनै सोधेँ– कुरा के हो ?
उसले पनि मनमनै जवाफ दियो– “आफ्नै जिन्दगी पढ्दैछु ।”
समयका चड्कनहरु उसले धेरै खाएको छ तैपनि अघाएन्को छैन । सायद जिन्दगी रहँुन्जेल मान्छे केही कुराले अघाउँदैन ।
“सरगमाथामा छु भनेको मान्छे अन्ततः केचनाकलन वा मुसहरनियामा भेटिन्छ ! त्यो पनि नाङ्गै !”
“आत्मविश्वास भएन भने मान्छेले अनेक उपाय लगाउँछ । दुबै खुट्टा उचालेर दौडिन खोज्छ । जब उत्तानोचित पर्छ तब दोष अरुलाई दिन्छ । पूर्व जन्मदेखिको रिस फेर्छ । म पनि मान्छे जस्तै मान्छे हुँ । धेरैपटक रिस बनेर पोखिएको छु ।”
“मान्छे सधैं आफू जित्न खोज्छ तर कहिल्यै अरुलाई जिताउन चाहदैन ।”
ऊ भनिरहेको छ । म सुनिरहेको छु ।
मेरो टाउको तातेको हाँडी जस्तो हुन्छ । हाँडीमा मकैका फुल उफ्रिए जस्तो केही मित्रपात्र र आफन्तहरु मेरो मस्तिष्कमा उफ्रिन थाल्छन् । मित्रभित्रको चित्र खप्परभित्रको कालो खाडीभरी पोतिन्छ ।
ती मित्रपात्र र आफन्त – जो, जे पनि खान्छन् ! जे पनि बोल्छन् ! जे पनि गर्छन् ! हामी मान्छे, कसैको मगजमा सधै अरिंगालको घार छ । कसैको मगजमा सधैं माकुराको जाल छ !  कसैको मगजमा सधैं झिँगाको बगाल छ !
नेपोलियन बोनापार्टले एउटा टेक्स्ट म्यासेज पठाएका थिए । मेरो खप्परको खाडीभित्र कतै गाडिएको थियो एकाएक पपअप हुन्छ– “हे भगवान् मलाई मित्रबाट बचाउँ, शत्रुको सामना म आफैं गर्छु ।”
न्यूयोर्कको मुटुमा ठडिएका टुइनटावर जस्तो मेरो मुटुमा एकाएक रीसका टुइनटावर ठडिन्छन् तर ती धेरैबेर टिक्दैनन् । विन लादेनले ढाले जस्तै उसले एकैछिनमा ढालिदिन्छ । ऊ नदी जस्तै अविरल बगिरेहछ । धेरै कुरा हो जस्तो लागिरहेछ ।
“गाली गर्नेप्रति रिस हैन प्रेम बढ्न थालेको छ ।”
“कति सजिलो छ गाली गरिदिन ? बस्, गाली गरिदियो । केही नगर्नेले सधैं गर्ने सजिलो काम हो गाली । यति सानु काम गरेर श्वान्तः सुखायको शौचताप रमाउनेप्रति किन दुर्भाव राख्ने ? यस्ता निरीह पात्रप्रति दया र प्रेम दुबै राख्नु पर्छ ।”
“मस्तिष्कले मान्छेलाई गलत निर्देश गरिरहेको छ । र त मान्छे गल्तीका नाउँमा प्रवृत्ति दोहो¥याइरहेको छ । मान्छे आत्मालाई सोधेर निर्णय गर्दैन । मस्तिष्कले अह्राए अनुरुप गर्छ । आफ्नो मस्तिष्क अर्कैले ले ‘अक्कुपाई’ गरेपछि मान्छेले आत्मालाई पराई ठान्छ, मस्तिष्कलाई आफ्नो मान्छ ।”
“एक अद्भूत यथार्थ यो पनि हो– मान्छेको सबैभन्दा ठूलो र भरपर्दो साथी मान्छे नै भएको छ भने सबैभन्दा ठूलो र डरलाग्दो शत्रु पनि मान्छे नै भएको छ ।
म सुनिरहन्छु । उसको भन्दा मेरो शक्ति झन् अद्भूत छ । उसको मनको कुरा सुन्न सक्ने असाधारण शक्ति !
उनी फेरि छेउमा आउँछिन् र उही पहिले जस्तै उस्तै आँखाले डस्न खोज्छिन् ।
“कसैको केही वास्ता छैन, मस्त छ, मग्न छ,” भन्छिन् । जान्छिन् ।
जान पाएको छैन फेरि आइपुग्छिन् ।
“को सँग कुरा गरेको ?” प्रश्नको एउटा अगुल्टो फेरी हुत्याउँछिन् ।
म जवाफको चिसो पानी विस्तारै खन्याउँदै भन्छु– “मान्छेसँग ।”
“खै को मान्छे ? म त कोही देख्दिन यहाँ !” प्रश्नको अगुल्टो झन् राँकिन्छ ।
“प्रिये ! म मान्छे हैन ? देखिनौ मलाई ?” म अझै विनशील हुन्छु । शीतल र शान्त भै दिन्छु तलाउ जस्तै ।
“देख्या छु तर कुरा चैँ कोसँग गरेको त ?” अगुल्टो अलि मत्थर हुन्छ ।
“मान्छे भित्रको मान्छेसँग ।”
“मतलब ?”
“मलतब, मभित्रको मसँग !”
“कवि–लेखकहरु पागल हुन्छन् भनेको यही हो कि क्या हो ? अरुको भावना नबुझ्ने यस्ता कसरी हुन्छन् कवि–लेखक ?”
रौद्ररस भरिएका उनका आँखामा प्रेमरस भरिन्छन् । मन–मस्तिष्कमा सौन्दर्यवेगले लालित्य छरिसकेको आभाष हुन्छ ।
“म लेखक पनि हैन, कवि पनि हैन । दुबै नभएपछि म पागल पनि हैन । म पनि मान्छे हुँ र मैले पनि बुझेको छु …..भावना ।”
हामी दुबै धेरैबेर चुपचाप हुन्छौ । र, ……….मान्छे हुन्छौ । जतिबेला जे मन लाग्यो त्यही गर्ने मान्छे !
जनवरी २५, २०१३ हालः बोस्टन, अमेरिका ।

(प्रकाशोन्मुख कथा कृति “कल्की”बाट)

प्रतिक्रिया दिनुहोस्

*