साहित्य सिर्जनाको कच्चा पदार्थ केन्द्रमा न्यून छ, मोफसलमा प्रचुर

डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ को जन्म २०१५ साल आषाढ १४ गते श्रीकृष्णगण्डकी–२, स्याङजामा भएको हो । गजलमा विद्यावारिधि गर्ने पहिलो नेपाली परिश्रमीका अन्त्यमा (खण्डकाव्य, २०३६), यो मौसम (गजलसङ्ग्रह, २०५०), घामको छहारीमा (गजलसङ्ग्रह, २०२०५३), साहित्य सन्दर्भ (समालोचनासङ्ग्रह, २०५५), जुनुमामा (बालगजलसङ्ग्रह, २०६० संयुक्त), जून चुहेको रात (गजलसङ्ग्रह, २०६०), गजल भूमिकावली (भूमिकासङ्ग्रह, २०६३), गजल सौन्दर्य मीमांशा (समालोचनासङ्ग्रह) लगायत स्नातक तह नेपाली विषयका विभिन्न पुस्तकहरु प्रकाशित भइसकेका छन् । उहाले नेपाली भाषा साहित्यको उन्नयनका लागि राष्ट्रिय शिक्षा पुरस्कार, महेन्द्र विद्याभूषण ‘क’ २०६२, रत्न पुरस्कार २०५४, कालीगण्डकी कलासाहित्य पुरस्कार लगायत अन्य पुरस्कार तथा विभिन्न साहित्यिक सङ्घ/सङ्स्थाबाट २२ वटाभन्दा बढी सम्मान प्राप्त गरिसक्नुभएको छ । आफू रहेको स्थानमा साहित्यिक माहोलको सिर्जनामा सक्रिय रहने परिश्रमी भैरहवा वहुमुखी क्याम्पस, रुपन्देहीको क्याम्पस प्रमुखको रुपमा रही हाल प्राध्यापन पेशामा समेत संलग्न हुनुहुन्छ ।

तपाई मोफसलमा रहेर पनि नेपाली भाषा, साहित्यको विकासमा लागिरहनुभएको छ । रुपन्देहीमा के कस्ता साहित्यिक क्रियाकलाप गरिरहनुभएको छ ?

– साहित्यक लेखन वा सृजनालाई सुस्त गतिमै भए पनि निरन्तरता दिइरहेको छु । हो, म मोसफलबाट नै आफ्नो परिचय बनाएको एउटा साहित्यकर्मी हुँ । राजधानीवादी चिन्तन र संस्कारको बिरोधी एव्म साहित्यमा राजधानी नै केन्द्र हो भन्ने मान्यतालाई भत्काउन चाहने एक अभियन्ता पनि हुँ म । मोसफलमा रहेर केही न केही गतिविधि गरिरहने मेरो विगतको जस्तो गतिशीलता र अभियानमा भने अहिले कमी आएको छ ।

मोफसल र केन्द्रको साहित्यबीच कस्तो फरक पाउनुभएको छ ?

– आजको साहित्य सिर्जनाका लागि चाहिने कच्चा पदार्थ केन्द्रमा न्यून छ, मोफसलमा प्रचुर छ । सिर्जनाको प्रचारप्रसार क्षेत्रका दृष्टिले केन्द्रको महत्व बढी छ । केन्द्रमा अवसरका सम्भावना अधिक हुन्छन् भने मोफसल प्रायः अवसरबाट वञ्चित हुन्छ । तर पनि साहित्यको विकास र विस्तारमा मोफसलको योगदान केन्द्रका सापेक्षतामा अधिक छ भन्ने मेरो बुझाइ छ ।

केन्द्रका साहित्यकारले मोफसलको साहित्य र साहित्यकारलाई त्यति वास्ता गर्दैनन् र प्रकाशन तथा पत्रपत्रिकाले पनि मोफसलका लेखकका रचनालाई प्रकाशनको लागि भेदभाव गर्छन् भन्ने सुनिन्छ । यहा“को प्रतिक्रिया के छ ?

– यो भनाइ  समग्रतः सत्य त होइन, तर आंशिक सत्य अवश्य हो । म स्वयम् कुनै समयमा यस्तो भेदभावको भोक्ताको उदाहरणका रुपमा रहेको छु ।

यहा गजल विषयमा विद्यावारिधि गर्ने पहिलो नेपाली हुनुहुन्छ । किन गजलमै विद्यावारिधि गर्ने तर्फ अघि बढ्नुभयो ?

– हो, गजलमा विद्यावारिधि गर्ने पहिलो नेपाली बन्ने सौभाग्य मलाई प्राप्त भएको छ । यो एक प्रकारको संयोग मात्र हो । म जुन बेला गजलको सृजनामा प्रवृत्त थिएँ, त्यति बेला नेपालीमा लेखिएका गजल विषयक सैद्धान्तिक सामग्रीहरुको अत्यन्त न्यूनता थियो । नेपाली गजलका बारेमा समीक्षा, सालोचनाहरु पनि अत्यन्त कम लेखिएका थिए । गजललाई कविता वा गीतको सिद्धान्तका आधारमा व्याख्या एवम् विवेचना गरिन्थ्यो । अतः गजललाई गजलकै रुपमा स्थापित गर्न यसका सार्वभौम सिद्धान्तको अध्ययन अनुशीलन र प्रयोग हुनुपर्छ भन्ने मलाई लाग्यो । अनि मैले अरबी, फार्सी, उर्दू र हिन्दीका गजलका सैद्धान्तिक ग्रन्थहरु एवम् फुटकर आलेखहरुको अध्ययन गर्न थालेँ र सुरुसुरुमा फुटकर समालोचनाहरु लेख्न आरम्भ गरेँ । क्रमशः यसको अध्ययनको रुचि तीव्र हुँदै गएपछि मैले योजनाबद्ध ढङ्गले नै गजलमा केही गर्ने लक्ष्य बनाएँ । त्यसको प्रतिफल हो, मेरो गजलमा विद्यावारिधि ।

तपाई  नेपाली गजल विषयको ज्ञाता नै हो ।  यहालाई वर्तमान नेपाली गजल कस्तो छजस्तो लाग्छ ?

– तपार्इंले नेपाली गजलको ज्ञाता भनेझैँ मलाई कसैले नेपाली गजलका विज्ञ, विशेषज्ञ भनेका छन्, कसैले गुरु भनेका छन् भने कसैले शल्य चिकित्सक पनि भनेका छन् । जे जस्ता विशेषणहरु दिइएको भए पनि मैले आफ्नो परिचय नेपाली गजलको एउटा इमानदार र लगनशील विद्यार्थीका रुपमा दिन चाहन्छु । वास्तवमा म अहिले पनि नेपाली गजलको  विद्यार्थी नै हुँ । यस विषयमा नै विशेषत अध्ययन अनुसन्धानमा लागिरहेको छु ।
  आजको नेपाली गजल एकातिर आफ्नो सिद्धान्तमा दुरुस्त छ भने अर्कातिर प्रयोगका नाममा विकृत अवस्थामा पनि छ । यसको विकास भने तीव्र गतिमा भइरहेको यथार्थलाई कसैले नकार्न सक्तैन । समग्रमा नेपाली गजलको  वर्तमान तीन धारबाट अगाडि बढिरहेको छ । १. शास्त्रीय बदरबद्ध गजल, २. लोकलय वा स्वनिर्मित लयमा रचित गजल, ३. काफिया र रदिफ मात्र मिलाइएका तर लयलाई पटक्कै महत्व नदिइकन लेखिएका गजल । यी तीनै धार आ–आफ्नो प्रतिस्पर्धामा छन् । यस्तो प्रतिस्पर्धाले नेपाली गजललाई केही हदसम्म अगाडि बढाएको छ भने गिजोल्ने र बिथोल्ने कार्य पनि गरेको छ । कहिले कैफियत र कहिले हैसियतका नाममा अस्वस्थ बहस पनि भएका सुनिन्छन् । म त सबै गजललाई स्वस्थ र सुन्दर देख्न चाहने
मान्छे । अस्वस्थ प्रतिस्पर्धातिर ध्यान दिन चाहन्नँ । स्वस्थ प्रतिस्पर्धाको पक्षमा भने उभिइरहेकै छु । गजल गजलजस्तै हुनुपर्छ,  प्रयोगका नाममा यसलाई नबिगारौँ भन्ने आग्रह पनि छ ।

नेपाली गजलमा बाढी आयो भन्ने सुनिन्छ । युवापुस्तामा गजल लेखनप्रति उत्साहित भएर लेख्नुलाई बाढी आएको मान्न सकिन्छ र ?

– बाढी आयो भन्नुको तात्पर्य हो गजल रचनाको व्यापक विस्फोटन, यो भएकै छ । यस भनाइलाई नकारात्क ढङ्गले बुझ्नु हुँदैन । बाढी विनाशको लागि नभएर उत्पादनको लागि सहयोगी भएर आउनुपर्छ । नेपाली गजलमा आएको बाढीले अवश्य नै फोहोर पनि बगाएर ल्याएको होला, कहीँ कतै भत्काउने र डुबाउने गरेको पनि होला, तर समग्रमा उत्पादनको सहयोगी भएर आएको छ भन्ने मैले बुझेको
छु । नयाँ पुस्ता उत्साहित भएर यसको रचनामा लाग्नु भनेको नै यसको सकारात्मक पक्ष हो ।

गजलमा छन्द, बहर पनि चाहिन्छ ? बहरविना गजल हुदैन र ?

– प्रयोगका नाममा जे पनि गर्न सकिन्छ । तर सिद्धान्ततः बहर वा छन्द अर्थात् आद्योपान्त आक्षरिक एकरुपताको लय गजलमा अपरिहार्य हुन्छ । छन्द वा लय भनेकै बहर हो । बहर विनाको गजलको कल्पना गर्नु भनेको कोर्टविनाको फुटबल, भलिबलजस्ता खेलको कल्पना गर्नु जस्तै हो । त्यसैले बहरविनाको गजल हुँदैन । बरु गजल शैलीको अन्य कुनै रचना हुन सक्छ ।

गजल लेखनको लागि के कस्ता तत्वहरु आवश्यक हुन्छ होला ?

– बहर, काफिया, रदिफ, मतला, मक्ता, सेर, मिसरा, तखल्लुस आदि गजलका बाह्य तत्व हुन् भने तगज्जुल, अन्दाजेवयाँ, तासिर लगायत विम्ब–प्रतीक, सङ्क्ष्प्तिता, कोमलता, हार्दिकताजस्ता आन्तरिक तत्वहरु पनि छन् । यिनै तत्वहरुले गजललाई बाह्य एवम् आन्तरिक रुपमा आकर्षक र मनमोहक र कमनीय बनाएका हुन्छन् ।

गजलमा अधिकांश गजलकारले शीर्षक राख्दैनन् । यसको खास कारण के होला ?

– मैले आफ्नो गजल सौन्दर्य मीमांसा नामक ग्रन्थमा यस बारेमा एउटा अनुच्छेद नै लेखेको छु । त्यसलाई नै यथावत् उद्धृत गर्नु उचित ठानेँ । गजल शीर्षकहीन हुन्छ । नबुझ्नेहरुले वा बुझेर पनि प्रयोग गर्न चाहनेहरुले गजलमा पनि शीर्षक राख्ने गरेको पाइन्छ । वस्तुतः गजल त्यस्तो काव्य विधा हो जसका प्रत्येक शेरहरु शिल्प, शैली र कलापक्षका दृष्टिले एकआपसमा आवद्ध हुन्छन् तापनि अर्थ र भावपक्षका दृष्टिले पूर्णतः स्वतन्त्रः वा स्वायत्त हुन्छन् । गजलको आफ्नै सिङ्गो भाव विचार वा विषयवस्तु हुँदैन । यसर्थ एउटा गजलमा जतिवटा शेर छन् त्यति नै पृथक्पृथक् भावयुक्त कथ्य हुन्छन् । शीर्षक यस्तो तत्व हो जसले कुनै पनि लेख, रचना वा कृति विशेषको समग्र भावलाई एकमुष्ठ रूपमा इङ्गित गरेको हुन्छ ।
हरेक शेर स्वतन्त्र हुने भएकाले कुनै पनि गजल एउटै मात्र भाव वा कथ्यमा समेटिएको हुँदैन । अतः गजललाई कुनै एउटा मात्र शीर्षकमा बाँध्नु उचित मानिदैन । गजललाई गजलका अतिरिक्त अन्य कुनै शीर्षक दिनु भनेको कविता वा गीत बनाउन खोज्नु मात्र हो । गजललाई गजल नै भन्नुपर्छ । यो परम्परादेखि नै चल्दै आएको चलन हो र काव्यशास्त्रीय मान्यता पनि हो ।

तपाई समालोचनादेखि अन्य विधामा पनि कलम चलाइरहनुभएको छ । यो कसरी सम्भव भएको छ ?

– हो, मलाई धेरैले गजलकारका रुपमा मात्र चिन्दछन् । यो मेरो विशिष्ट पहिचान वा परिचय बनेको छ । तर मैले गजलको सिर्जनाका अतिरिक्त बढीभन्दा बढी गजलकै समालोचना र अन्य विषयका समालोचनामा पनि निरन्तर कलम चलाइरहेको छु । मेरा चार वटा समालोचनाका कृति प्रकाशित भएका छन् भने अरु दुई वटा निकट भविष्यमै प्रकाशित हुँदै छन् । अतः गजल सिर्जना र समालोचना
मेरा प्रमुख जिम्मेवारी र रुचिका क्षेत्र हुन् भने कविता, मुक्तक, हाइकु, कथा, निबन्ध, एकाङ्कीमा पनि मैले कलम चलाएको छु । मुड जता प्रभावित हुन्छ त्यतै सिर्जना हुँदो रहेछ । मैले योजनाबद्ध ढङ्गले कमै लेखेको छु । कसरी सम्भव भएको छ, यसबारे म स्वयम् नै अनभिज्ञ छु ।

हाल यहा के गरिरहनुभएको छ ?

– मेरो प्रमुख पेसा प्राध्यापक हो, त्यसमा पनि दुई वर्षदेखि त्रि.वि. अन्तर्गतको आंगिक क्याम्पस भैरहवा बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख पदमा रहेर प्रशासनिक दायित्व पनि बहन गरिरहेकै छु । फुर्सदको समयमा लेखाइमा नै व्यस्त रहन्छु । वस्तुतः योजना बनाएर अहिले खासै केही लेखिरहेको छैनँ ।

युवापुस्तालाई गजल लेखन बारे के सल्लाह दिन चाहनुहुन्छ ?

– गजल बारे राम्रो दख्खल भएका कुनै एकजना विज्ञलाई गुरु मान्नुहोस् र बढी पढ्नुहोस् अनि कम लेख्नुहोस् । सिद्धान्तको राम्रोसँग ज्ञान आर्जन गर्नुहोस् अनि पालना सहित विषय शैलीको नवीन खोज र प्रयोगतर्फ प्रवृत्त हुनुहोस् ।

प्रस्तुतकर्ता– होमशंकर बास्तोला

प्रतिक्रिया दिनुहोस्

*