झुसिलकिरे पुराण

— मोमिला

स्मृतिमै सही, आप्नै जीवनको रङ्गमञ्चमा झुसिलकिरा बनेर घस्रिरहेको अभिनेताका रूपमा आपूलाई आपैले दर्शक बनेर हेरिरहँदा आप्नो या जोसुकैको शरीरमा पनि एक किसिमको नकारात्मक तरङ्ग सञ्चारित भई इन्द्रियहरूले मन नपर्दो क्रियात्मक भाव व्यक्त गर्दछ र त्यसको असर स्वरूप वरिपरिको पर्यावरणीय रङ्ग पनि बदलिन्छ ।

त्यसरी नकारात्मक बदलिएको पर्यावरणीय रङ्गले पुनः परावर्तित असर झुसिलकिरे अभिनेतालाई नै पार्दोरहेछ । यद्यपि त्यसरी झुसिलकिरा बनेर घस्रिरहँदा एक दिन पुतली बनेर उड्ला नउड्ला त्यो प्रश्न भने आप्नै ठाउँमा सुरक्षित हुनुपर्छ ।

सन्दर्भमा आज पनि जीवनका चिसा र अँध्यारा रातहरूमा समेत आप्नै स्मृतिका कुनै सान्त्वनाबिना नै म झुसिलकिरे अभिनेताको घस्राइ घस्रिरहेछु; घस्राइको देख्य–अदेख्य पीडा पनि भोगिरहेछु र पर्यावरणीय नकारात्मक माहोलको विकिरण त जीवनको मूल बाटोमै भोगिरहेछु ।

यो घस्राइमा न बतासको सङ्गीत, न कुहिरोको आत्मीयता, न धुवाँको आफन्त सुवास ! न हरियो दूबोको शीतबिन्दुमय स्वागत ! फेरि पनि घाउहरू बोकेरै मैले घस्रन छाडेकी छैन । यो झुसिलकिरे माहोलले यदि तपाईँको शरीर पनि जिरिङ्ग भएर काँडा उम्रिए मलाई माफ गर्नु होस्,

यतिखेर म झुसिलकिरे पुराण नै वाचन गर्न गइरहेछु—
एकादेशको एउटा सुन्दर पूर्वी गाउँमा सधैँ सधैँ पुतली बनेर उड्न चाहने एउटी फुच्ची थिई, तर ऊ परिवारमा साढेसातको दशा ठानिएकी थिई । किनकि ऊ जन्मिएपछि आमा त्यति सञ्चो भइनन् रे ! त्यसैले वर्ष दिन पनि आमाको दूध खान पाइनछ । यद्यपि उसलाई खानेकुराभन्दा आमाको साडीको सप्को समाएर आमासँगै हिँड्नु प्रिय लाग्दथ्यो । ऊ चार वर्षकी हुँदा आमा टाइफाइडले थलिइछन् ।

गाउँमा डाक्टरी उपचारको कुनै गुन्जायस थिएन । वैद्यको औषधि चलाइएको थियो । परिवारका अन्य सदस्यहरू कोही घर नहुँदाको एकलासको एकान्त क्षण ऊ नै आमाको औषधी खाने समयको अलार्म बनेकी थिई । आमाप्रतिको आशक्ति र प्रेम दुवै कुराले ऊ दिनभरिको जिम्मेवारीमा चुक्दिनथी ।

त्यो पट्यारलाग्दो घस्रिरहेको लामो दिनमा बेलाबेलामा ऊ आमाले सास फेरेनफेरेको बिरालो चालमा जाँच्थी । बिहानको खाना खाइवरी सबै जना आ–आप्नै कर्मक्षेत्रतिर लाग्थे । फुच्ची भने दिनभरि आमाकै छेउको झ्यालमा बसेर बाहिर कुखुराको माऊले आप्ना चल्लाहरूलाई खानेकुरा खोजेर खोस्रेर खुवाएको हेर्दाहेर्दै उसलाई भोक लाग्थ्यो, तर आमालाई दुःख दिन सक्तिनथी, खानेकुरा माग्न सक्तिनथी ।

झ्याउँकिरी कराएको पट्यारलाग्दो आवाज सुन्दासुन्दै निद्रा लाग्थ्यो, तर आमाको औषधी खाने समयको अलार्म बनेकी ऊ बेलाबेलामा झप्काए पनि आनन्दले आमाको काखमा निदाउन सक्तिनथी । रङ्गीबिरङ्गी पुतली उडेको हेर्दाहेर्दै बाहिर आपू पनि पुतली बनेर उड्न चाहन्थी, तर आमाप्रतिको आशक्ति र जिम्मेवारीबोधले ऊ कोठाको घेराभन्दा बाहिर जान सक्तिनथी अर्थात् ऊ आप्नो त्यही झुसिलकिरे परिसरमा मानस कैद थिई ।

सबैका आँखामा आमाको बाँच्ने सम्भावना क्षीण हुँदै गएको महसुसले डेरा जमाएको थियो । त्यसैले हतारहतारमा नेवारी रीतअनुसार बेल विवाह गरिदिएर र गुफा राखेर फुच्चीको कर्म चलाइएको कुरा बुवाले अरूलाई जानकारी दिएको हाउभाउबाट ऊ बुझ्थी र बेलाबेला मृत्युको भयानकताले ऊ तर्सन्थी ।

आमा नहुनुको सम्भावित कल्पनाले ऊ कहालिन्थी । त्रसित भएर बेलाबेलामा ऊ आमालाई झकझकाउँथी । यसो गर्दा बिरामी आमा झर्किनुहुन्थ्यो । त्यसबेला देख्य प्रतिक्रियाहीन ऊ एकप्रकारले ढुक्क हुन्थी, तर झ्याल बाहिर माथि शून्य आकाश हेर्दा उसका आँखाहरू आँसुले टिलपिलाएका हुन्थे । ती आँखाहरू शून्य आकाशले बाहेक कसैले पढ्न सकेका थिएनन् ।

यसो गर्दागर्दै महिनौँ महिनौँ बिते । दसैँ आयो, दसैँको रमझम आयो । ऊसँगैका साथीहरू नयाँ लुगा लगाएर फुरुङ्ग पर्दै आमासँगै आफन्तकोमा भोज खान जान्थे, टिका लगाउन जान्थे । ऊ पनि दिदीहरूसित जान त गएकी थिई, तर उसलाई त्यो दसैँ पटक्कै मन परेको थिएन ।

उमङ्गमा पनि भय मिसिएको थियो । सम्झनामा रहेसम्म पहिलेभन्दा त्यो वर्षको दसैँमा घर निकै भीड जस्तो लागेको थियो । त्यहाँ टिका लगाउन आउने र आमालाई हेर्न आउने पनि त्यत्तिकै थिए । आमाको होस थिएन, बेलाबेलामा आमा बरबराउनुहुन्थ्यो र बेहोसमै आपूmभन्दा ठूलालाई पनि टिका लाइदिन ‘जमरा टिका भएको थाली लेऊ न भनेको’ भन्नुहुन्थ्यो ।

आगन्तुकहरू ‘तिमीलाई हेर्न पो आएको’ भनी सम्झाउँथे र मलाई रसाएका आँखाले हेर्दै अब यो टुहुरी हुनेभो भन्दै मायालु स्पर्शसहित सहानुभूति जनाउँथे । उसले कसोकसो उकुसमुकुस जस्तो असहज महसुस गरेकी थिई । दसैँसँगै तिहार पनि झन उकुसमुकुस र असहजमै बितेको थियो ।

सौभाग्यवश ! बिस्तारै आमाको स्वास्थ्यमा केही सुधार आएको थियो । कोठाभित्रै कहिलेकाहीँ उठेर आमा झ्यालसम्म पुग्नुहुन्थ्यो । आमालाई अब तागतिलो चीज खुवाउन जरुरत थियो । माघको महिना थियो । आमालाई खुवाउन भनी राम्ररी पाकेका जुनारभन्दा नि ठूल्ठूला सुन्तला तारको वास्केटमा राखेर दलिनमा झुन्ड्याइएको थियो । फुच्चीलाई पनि आँखामा परिहाल्ने ती सुन्तोलाको आकर्षक रङ्गले खुब लोभ्याएको थियो ।

दुई दिनसम्म त माग्ने कुनै आँट गरिन फुच्चीले, तर तेस्रो दिनमा आमासँग सुन्तोला माग्ने धृष्टता गरी । आमाको मनमा पनि महिनौँ महिनौँदेखि आपूmलाई एक पल पनि नछोडेकी आप्mनी पुतली जस्ती छोरीलाई सुन्तोला दिन रहर जागेर आयो सायद ! सकी नसकी उठेर बिस्तारै तारको बास्केटबाट एउटा सुन्तोला झिकेर प्रेमले दिनुभयो ।

त्यतिखेर आमाका आँखा साँच्चै नै उज्यालिएका थिए । ऊ भने खुसीले उफ्रँदै पागल जस्ती भएर सुन्तोला हातमा लिन नपाउँदै आमा थचक्क बस्नुभएको देखेपछि निकै डराएकी थिई । त्यसपछि बिस्तारै घस्रँदै आएर आमा ओछ्यानमा ढल्नुभयो । त्यो रातदेखि आमालाई फेरि ज्वरो बढ्यो ।

कामबाट बाबा आउनुभएपछि उसले नै सबिस्तार सबै घटना सुनाई । सबैबाट गाली पनि खाई । ज्वरो घट्ने कुनै लक्षण देखिएन । आप्नो कारणले आमालाई पुःन ज्वरो बढेकोमा ऊ अत्यन्त दुःखी भई । खाना पनि नखाईकनै सुत्ने बेलामा सम्झेर खुब रोई र रुँदारुँदै थाकेर निदाई । त्यो रात उसलाई पनि खुब ज्वरो आएछ । उसको ज्वरो औषधिले घट्दै घटेन । उसलाई झुसिलकिरे नियतिले त्यसबेलादेखि नै लखेटेको रहेछ ।

थाहा छ उसलाई एकदिन पुतली बन्नु छ र खुला नीलो आकाशमा उड्नु छ, तर झुसिलकिरा जस्तै केवल घस्रिरहेको आज चार दशकभन्दा पनि बढी भइसकेको छ । अब पुतली बनेर उड्ने कहिले हो ! त्यो दिनको प्रतीक्षामै केवल घस्रिरहिछ…! केवल घस्रिरहिछ…!

आजलाई झुसिलकिरे पुराणवाचन यहीँ समाप्त हुन्छ । तर यतिखेर पुतली बन्न नसकेको पुराणको त्यो झुसिलकिरे अभिनेता ठीक तपाईँसामु नै यी अक्षरहरूका बक्ररेखीय बाटोमा घस्रिरहिछ ! झुसिलकिरे पर्यावरणले यदि तपाईँको शरीर पनि जिरिङ्ग भए या शरीरमा काँडा उम्रिए मलाई माफ गर्नुहोस् !

आखिर ऐनाको सत्य भए पनि आगामी सम्भावनाहरूमा दयनीय बाँच्नु नै किन नहोस् ! साँच्चै सुखद लाग्दोरहेछ ! यसर्थमै सायद, जीवनको मोक्ष नै भनूँ— एकदिन पुतली बनेर उड्ने सपना मैले छाडेकी छैन !

===

प्रतिक्रिया दिनुहोस्

*