काठमाडौं

वीरेन्द्र नेपाल

मन्दिरको भण्डारण भनेर चिनिने काठमाडौं
फोहोरको डङ्गुर बनिसकेको छ,
सभ्यताको केन्द्र भनेर मानिने काठमाडौं
अश्लीलताको प्रदर्शन गर्ने थलो बनिसकेको छ ।
संस्कृतिको धरोहर मानिने काठमाडौं
विदेशीहरुको ट्वाइलेट बनेको छ,
विश्व सम्पदाको सम्पत्ति मानिएको काठमाडौँ
हत्या, हिंशा र आतङ्क मच्चाउने स्थल भइसकेको छ ।
खै त त्यो काठमाडौं
जहाँ स्वयम्भूका आँखा चम्केका
जहाँ पशुपतिका त्रिनेत्रको ज्योति फैलिएको ।।
मानिसहरुले सोच्दा हुन् काठमाडौं त
शिक्षाको ज्योति चम्काउने ठाउँ हो,
देशको शासनलाई डो¥याउने भूमि हो,
अभ्य र शिक्षित मानिसको बसोबास धर्ती हो,
तर त्यो सोचाइ आज गलत भइरहेको छ,
काठमाडौं त ठुला ठालुले शोषण गर्ने गाउँ बन्दैछ,
डाकाहरुले लुट्ने ठाउँ बन्दैछ,
बलात्कार र हिंसा मच्चाउने रणभूमि बन्दैछ,
अनि विदेशीहरुको हकअधिकार लाद्ने ठाउँ बन्दैछ,
दिनरात कोलाहलमय,
अन्धकारमय,
दुर्गन्धमय,
महँगीको चपेटामा पिल्सिँदै छ,
त्यसैले काठमाडौँ सिद्धिँदै छ ।।
बागमती र विष्णुमतीहरू विष्ठा बनिरहेका छन्,
यहाँका मानिसहरु पशुतुल्य भइरहेका छन्,
सरकार मूक दर्शक बनेर सत्ताको लिप्सामा टासिँदै छ,
सज्जन मानवहरू कोठामा बसेर काठमाडौँको
दुर्दशा भोगिरहेका छन्,
दुष्टहरू अरुलाई लुछ्न दाउ खोजिरहेका छन्,
राक्षसी मानव घर ठड्याउँदै छन्,
देवता मानव काठमाडौँ परित्याग गर्दै छन्,
वर्तमानको काठमाडौं यस्तै यस्तै बन्दैछ,
भोलि गएर यसको नाम विश्वमा
काठमाडौँ होइन,
नरक प्रसिद्धि हुने कुरामा दुई मत छैन ।।
त्यसैले, काठमाडौंलाई काठमाडौँमै जीवित देख्न
बाहिरी आवरण होइन, भित्री मन धुनु अनिवार्य छ,
कोट होइन, हृदय सफा बनाउनु आवश्यक छ,
परतन्त्र होइन, स्वतन्त्र अपनाउनु आवश्यक छ,
हत्या, हिंसा, बलात्कार र लुट होइन,
शान्ति, सद्भाव, प्रेम र मानवता आवश्यक छ ।
अनि मात्र काठमाडौँ जीवित हुन सक्छ ।
पुनस्र्थापन हुन सक्छ ।

भक्तपुर, नेपाल

प्रतिक्रिया दिनुहोस्

*