अक्षरमाण्डौ

गोपीकृष्ण ढुंगाना

डेनमार्कमा हुने साहित्यिक महोत्सवका लागि नेपालबाट एक साहित्यकार पुगे । उनी अचम्म परे, अचम्म पर्नुको कारण अरु केही थिएन । आयोजकले नै अचम्म तुल्याएको थियो उनलाई । अचम्म पार्ने आयोजक थियो टुबोर्ग बियर अनि अचम्मित हुने साहित्यकार प्राडा अभि सुवेदी ।

साहित्य अनुत्पादक क्षेत्र हो भन्नेहरुलाई चुनौति थियो त्यो । र अरु थुप्रै संघसंस्था जसले साहित्यमा लगानी गर्न चाहँंदैनन्, तिनलाई पनि एउटा उदाहरण हो त्यो । नेपालमा पनि केही वर्षदेखि ‘सीम’ बेच्ने कम्पनी एनसेलले ‘साहित्य’ को प्रवद्र्धन गरिरहेको छ । सुवेदी भन्छन्, ‘हामी लेखक साहित्यकारहरुले चरित्र गुमाउनु हुँंदैन, साहित्यलाई प्रवद्र्धन गर्छन् भने जसले लगानी गरे पनि भयो ।’

केही वर्षयता नेपालमा वर्षेनी साहित्यिक महोत्सवहरु आयोजना भइरहेका छन् । त्यो कहिले राजधानी काठमाडौं हुन्छ त कहिले नेपालको पूर्वी मेची अनि कहिले सुदूरपश्चिम महाकालीमा । महोत्सवले माहोल तताइरहेको छ । युवामा साहित्यिक जोश बढाइरहेछ । महोत्सवको माहोलमा हुने भिन्न छलफलले निचोढ निकालिरहेछ । निचोढहरु साहित्य सिर्जनामा समेटिइरहेकै छन् ।
महोत्सवहरुमा मोफसल समेटिन थालेका छन् । अनि समेटिन थालेका छन् विदेशी लेखक र विदेशी लेखन पनि । एक दिने, चार दिनेहुँदै दस दिनेसम्म साहित्यिक महोत्सव हुनुले साहित्यिक संकेत ‘शुभ’ भइरहेको प्रष्ट छ । तिनमा हुने दैनिक चार पाँच विषयका छलफलले नयाँ कुरो जन्माइरहेछ । त्यसले शक्ति दिएको छ साहित्यकारलाई । साहित्यिक शक्तिले संसार कब्जा गर्ने साहित्यकारहरुको साहससमेत बढाइरहेछ ।

प्राध्यापक तुलसी दिवस विदेशी लेखकहरुबाट महोत्सवमार्फत् अनुभव, अनुभूति र अक्षरहरुमा खेल्ने अभ्यासबारे प्रशस्त ज्ञान लिन सके नेपाली साहित्यकारले आफूलाई पनि गुणस्तरीय बनाउन सक्ने बताउँछन् । भन्छन्, ‘लेखकको प्रभाव लिने होइन, उसले कसरी, के लेखिरहेछ, त्यो जान्नु र बुझ्नु नै अर्को लेखकका लागि गतिलो खुराक हो ।’
महोत्सवले मोफसललाई जोड्न वर्षेनी थुप्रै पुल बनाइरहेका छन् । कुनै समय थियो, साहित्य राजधानीमा मात्र फुल्थ्यो । र फैलिएर साम्राज्य जमाएको थियो । प्रविधिको बढ्दो आधुनिकीकरण एकमात्र प्रमुख कारण बन्दै गइरहेको छ एउटा प्रश्नको उत्तरका लागि, ‘के नेपाली साहित्यमा अझै मोफसल बाँंकी छ ?’

हुनत यो आजका दिनसम्म बहसकै विषय छ । र हुनेछ भोलिसम्म पनि । तर त्यसलाई ‘ग्लोबल भिलेज’ झैं बनाउँदैछन् राजधानी र राजधानीबाहिर हुने गरेका साहित्यिक महोत्सवहरुले । अझ यस्ता नेपाली साहित्यिक महोत्सवले आफूलाई विस्तार गरेर नेपालीको ठूलो जमात रहेका भारतका विभिन्न स्थानमा समेत ‘रबर’ झैं तन्काइरहेछन् । प्रविधिले अझ डायस्पोरिक साहित्य समेतलाई ‘औंला’ को एक ‘टच’ मा ‘अ‍ैंच्याउन’ सफल भएको छ ।

पोखराकी साहित्यकार सरस्वती प्रतीक्षा भन्छिन्, ‘सापेक्षताको तराजुमा तौलेर हेर्दा राजधानीवाद कति कमजोर वा शक्तिशाली हुन्छ भन्ने कुरा मोफसल कति सक्रिय वा निष्कृय छ, त्यसमा पनि भर पर्दछ । जति जति मोफसल सक्रिय हुँदै जान्छ, त्यति त्यति राजधानीवाद कमजोर हुँदै जान्छ ।’

प्रत्येक वर्ष आयोजकहरुले महोत्सवका नाममा एउटै विषय र साहित्यकार दोहोयाउनुको अर्थ र महत्व कम हुने तर्क पनि साहित्यकारबीच नै चल्ने गरेको छ । महोत्सवमा अतिथि बनेर उपस्थित भइरहने एक वरिष्ठ साहित्यकारले स्वीकारेका छन्, ‘त्यही मान्छे र त्यही विषयले पाठकलाई खासै नयाँपन दिँदैन, सामग्रमा महोत्सवको उपलब्धीसमेत हुन्न ।’ महोत्सवमा विषय, सन्दर्भ र शैली पृथक हुनुले साहित्य विकासको गुणस्तरमा पार्ने प्रभावमा सायदै कसैको दुई मत रहला । प्राध्यापक दिवस भन्छन्, ‘भिन्न उमेर, क्षेत्र, जातजाति र संस्कृतिलाई अगाडि ल्याएर महोत्सवले साहित्यक संगम गराउनु पर्छ ।

प्रत्येकलाई आफ्ना कुरा बाहिर जनमानसमा ल्याउने अवसर जुटाउनु पर्छ ।’ ‘प्रकाशकका बजारमा लेखक साहित्यकार छौं, हाम्रो बजारमा उनीहरुलाई ल्याउने वातावरण बन्नु जरुरी छ’, महोत्सवले भारतीय नेपाली पाठकसम्म लेखकलाई पुयाउन नसकेको गुनासो गर्दै डा. सुवेदी फरक मतमा यसरी उभिन्छन् , ‘युवा राजनीतिमा बढी छन्, जसमा निराशा बढिरहेछ । उनीहरुको त्यो उर्जालाई साहित्यले चुम्बकझैं तान्न सक्नु पर्छ, जुन संकेत महोत्सव र पुस्तक प्रदर्शनीहरुले दिइरहेका छन् ।’

यतिबेला पुनः राजधानी साहित्यिक महोत्सवले तातेको छ । केही वर्ष लगातार साझा प्रकाशनले गर्ने पुस्तक प्रदर्शनी र केही साहित्यिक महोत्सवको रौनक यसपटक क्षतिपूर्तिवापत नै सही याम्बुरी बुक प्वाइन्ट र घोस्ट राइटिङ नेपालले पुरा गरिरहेका छन् । भदौ २७ गतेदेखि सुरु भएको ‘बृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा साहित्यिक यात्रा महोत्सव २०७१’ असोज पाँच गतेसम्म चल्दैछ ।

दस दिने यो महोत्सवले लेखक, पाठक र प्रकाशकबीचको सेतुको काम त गरेको छ नै, त्योभन्दा बढी काम मुलुकभरका विभिन्न डेढ दर्जनबढी साहित्यिक संघसंस्थालाई एउटै ‘छानो’ मा समेटेको छ । याम्बुरीका प्रबन्धनिर्देशक कुयाङ लामा भन्छन्, ‘यो महोत्सवले साहित्यिक सिन्डकेटलाई चिरेको छ । एकआपसमा अस्वस्थ्य प्रतिस्पर्धा गर्दै आएका हामी प्रकाशकबीचको कालो बादल केही हदसम्म महोत्सवले हटाउने छ ।’

महोत्सवमा भेट हुने लेखक र पाठकबीचको सम्बन्धले पुस्तक बिक्री बढ्नेमा धेरैको एक मत होला । प्रदर्शनीमा मुलुकभरका सानाठुला एक सय बीसजति प्रकाशकका करिब १३ हजार विभिन्न शीर्षकमा पुस्तक छन् । घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालका अनुसार, साहित्यिक महोत्सव र पुस्तक प्रदर्शनी यति बृहत रुपमा भएको यो पहिलो हो । पाँच दिनको अवधिमा ४० लाख रुपैयाँको पुस्तक बिक्री भएको जानकारी दिँदै उनले दुई करोडको बिक्रीलक्ष्य रहेको बताए । महोत्सव र प्रदर्शनी निजी प्रकाशक र साहित्यिक संघसंस्थाको पहिलो प्रयास भएको उनको भनाइ छ ।

यात्रा महोत्सव नसकिँदै शुक्रबारदेखि एनसेल नेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ । बुकवर्म फाउन्डेसनको आयोजनामा हुने चार दिने फेस्टिभलमा भने इटाली, अफगानिस्तान, बेलायत, बंगलादेश र भारत गरी पाँच देशका छजना साहित्यकार सहभागी हुने छन् । डा. चैतन्य मिश्रको ‘कि नोट स्पीच’ बाट उद्घाटन भएको यसमा भारतका पूर्वराज्यमन्त्रीसमेत रहेका वरिष्ठसाहित्यकार शशि थरुरले ‘क्लोजिङ कि नोट’ दिने छन् । यस फेस्टिभलमा भने आयोजकले साहित्यिक विषयबाहेकका गैरसाहित्यिक सन्दर्भहरुलाई पनि मजैले समेटेको छ ।

फेस्टिभल निर्देशक अजित बराल साहित्यिक पाठक सीमित भएकाले गैरसाहित्यिक विषयलाई पनि समेटिएको बताउँछन् । उनी भन्छन्, ‘गैरसाहित्यिक मानिसलाई ल्याएर साहित्यमा रुची जगाउने एउटा उद्देश्य र साहित्यकारहरुलाई पनि गैरसाहित्यिक विषयमा रुची बढाएर नयाँ विषयवस्तुमा रुची जगाउने अर्को उद्देश्यका साथ महोत्सव गर्दैछौं ।’ गैरसाहित्यिक कम्पनी एनसेलले साहित्य प्रवद्र्धन गर्न थालेको यो चौथौं वर्ष हो । चार दिने एउटा महोत्सव सम्पन्न गर्न ५० लाख बढी लाग्छ ।

फेस्टिभलमा बंगलादेशकी फरह गुज्नामी, बेलायतकी तिस्हानी दोषी, इटालीका कार्लो पिज्जाती, भारतका हर्तोष बाल सिंह र अफगानिस्तानका म्याथ्यू आइकिन्सका साथै लेखक, विद्धान र पत्रकार गरी एक सय ४० जना छलफलमा सहभागी हुने छन् । जहाँ पत्रकारिताका सम्पादकीय स्वतन्त्रता, विचार पृष्ठका आधारदेखि फिल्म : पैसा कि कला, कला : अन्तर्सम्बन्धको अनुशासन, लोग्ने मान्छे भएर रुनु हुन्न रे : इन्टरोगेटिङ जेन्डर, नारायण गोपालको युग, बालसाहित्य, इकोनोमिक डिप्लोमेसी, मातृभाषा र दलित साहित्यको सौन्दर्य, जलस्रोतहुँंदै वरिष्ठ साहित्यकारका कहाँ गए ती दिनसम्मलाई स्थान दिइएको छ ।

यता यात्रा महोत्सवमा पनि अटो एथ्नोग्राफी, साहित्य र सौन्दर्य, नेपाली चलचित्रको सौन्दर्यशास्त्र, हेटौंडा यसरी बोल्छ, आदिवासी साहित्यको सौन्दर्य, मुक्तक मेला र गजलको बहस, प्रगतिशील लेखन : सिर्जना र विमर्श, नेपाली आख्यान : आजको सन्दर्भजस्ता विषयमा मन्थन भइरहेको छ ।

कवि एवं गीतकार श्रवण मुकारुङ पीडित नेपाली लेखकका दिन महोत्सवले फर्काएको बताउँछन् । भन्छन्, ‘महोत्सव र प्रदर्शनीले पुस्तक बिक्री गर्ने र एउटा पुस्तक खोज्न दसतिर भौतारिने पाठकका दुःखका दिन गएको संकेत गरेका छन् । लेखक दसवटा पुस्तक बिक्री गर्न दिएर पारिश्रमिक उठाउन ५० वटा पुस्तकको मुल्य चुकाउन बाध्य भइरहेको सन्दर्भमा महोत्सवहरु ‘सहजताको पुल’ बनेका छन् ।’

प्रदर्शनीलाई रक्सी, चुरोट बेच्ने दृष्टि कसैको भए त्यसबाट मुक्त हुन उनको आग्रह छ । प्रकाशकहरुले पनि अब पारदर्शी भएर लेखकसाहित्यकारलाई ‘खुसी’ दिन दिनु पर्नेमा उनको जोड छ । थप्छन्, ‘साहित्यिक महोत्सवमा निजी क्षेत्रले धेरै गरेको छ, अब सरकार पनि ‘साहित्य’ मा जोडिनु पर्छ ।’

2071/06/04

प्रतिक्रिया दिनुहोस्

*