नोटको नक्कल

    – राजेन्द्र तारकिणी

आफूद्वारा सिर्जित नोट छ हातमा । घरीघरी हेरिरहन्छु । आफैँ दङ्ग पर्छु । सोच्छु– जिन्दगीलाई यसै गरी बदल्न सकिने भए ! नयाँ बनाउन सकिने भए !

सिर्जित नोटको पैलो दर्शनार्थी बनिन् आमा । एकैछिन हातमा लिएर सुम्सुम्याएपछि बोलिन्, ‘अब त्यल्ले के गर्छस् ?’

‘क्यै हैन ।’ छोटो जवाफ दिएर पन्छिन खोजेँ ।

 

लौ, सिङ्गो स्कुलेजमात मेरो पछि लाग्न अभ्यस्त बन्यो । साराले घेरेर रमिता हेर्ने धोक्रो तान्दै सोध्न थाले– ‘तिम्रो रुपियाँ देखाऊ न !’ ,‘पाँच सयको रुपियाँ छ रे तिमीसँग, खै देखाऊ न… !’

‘मसँग एक रुपियाँ छैन, यी हेर’ भन्दै खल्ती टक्ट्याएँ । तिनले मलाई पछ्याउन छाडेनन् । मैले तिनलाई टार्न छाडिनँ ।

 

 

धेरै थरी मान्छे चिन्न सकेँ ।

कुरा के भने, भरखरै मैले एउटा कलाको रचना गरेथेँ । पाँच सय रुपैयाँको नोट हुबहु नक्कल गर्न तम्सिएँ । दुरुस्तै आएन । अलि फरक परिगो ।

त्यो नोट सक्कली थियो । यन्त्रद्वारा छापिएको । हातले उस्तै त कहाँ बनाउन सकिन्थ्यो र ? त्यसमा लेखिएका अक्षर पनि सक्कली नै थिए । यन्त्रबाटै छापिएका । यद्यपि, त्यसमा पोतिएको रङ्ग सक्कली हुन सक्तैनथ्यो । त्यसलाई म प्रकृतिको नक्कल भन्छु । हामी प्रकृतिको नक्कल त गर्छौँ तर प्रकृतिलाई जित्न कदापि सक्तैनौँ ।

 

सिर्जित नोटमा चाहिँ मेरै हातले लेखिएका अक्षर र हातैले पोतेको रङ्ग । जो दुनियाँकै झन् नक्कली ! यसो अलिकति अँध्यारोमा वा केही टाढाबाट हेर्दा त नक्कली नोट भनेर चिन्न सकिदैनथ्यो । झिनामसिना कुरा अलिकति पनि नबिगारीकन दुरुस्तै चित्रमा उतार्नु चुनौतीपूर्ण काम हो । मलाई यस्तो लाग्छ ।

 

दुई दिन मैले कोठामै बिताएँ । स्कुल पनि गइनँ । छिमेकमा एकजना वृद्धाको निधन भएको थियो । गाउँका सबैजसो लोग्नेमान्छे दाहसंस्कारमा गएका थिए । म त्यहाँ पनि गइनँ । कलाकै भक्तिमा निमग्न रहेँ । आमाले भनिन्,’जाऊ बाबु, अरू केही नसके पनि छिड्को  दिएर आऊ !’

 

बा पिथौरागढतिर थिए । हड्डी घोट्ने मेसोमा । दाइ लङ्काली किनारको शहरमा थिए, चेन्नईतिर । घरमा मर्दको निशान नै म थिएँ । समाजमा कसैप्रति रिसराग हैन । ती मृतकप्रति निर्दयी पनि त थिइनँ । तर म उनलाई छिड्को दिनसम्म पनि गइनँ । मलामी जान कहाँ हो कहाँ !

ममा केही शारीरिक अस्वस्थता थियो । अझ म मूर्दादेखि डराउँथेँ । खासमा म नोटको नक्कल गरिरहेकाले पनि हो । यी तीन कारण थिए म नजानुमा । जुन काममा लाग्यो, त्यसले सुन्दर र पूरा नहुन्जेल छोड्न मन लाग्दैन । यो मेरो सानैदेखिको एउटा बानी ।

 

सोचेँ । कल्पना गरेँ । सामग्रीहरू जुटाएँ । नोटको नाप लिएँ । त्यही नापको कागज र मार्जिन तयार गरेँ । पेन्सिलले कोर्दै, केर्दै रेखा चित्र तयार भो । रङ्ग संयोजन र पोत्न पो झन् आपत् !

चित्रकलाका कुनै सामग्रीहरू उपलब्ध थिएनन् । न त स्कुलमा चित्रकला सिकाइन्थ्यो । रङ्गको लागि साइनपेनहरू किनेको थिएँ । साथमा थिए बेसार र सिम्रिक पनि । कागज किनेको थिएन । अब के गर्ने ? साझा प्रकाशनद्वारा प्रकाशित लिलबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यास भरखरै किनेको थिएँ । पु्स्तकको भोकले । त्यो चाहिँ वसन्तपुर हाटमा उपलब्ध थियो । कक्षा एघारको नेपालीमा त्यसलाई पाठ्यवस्तुको रूपमा समावेश गरिएकाले हुनसक्छ । अन्यथा साहित्यिक पुस्तक पाउनु आकाशको फल हुन्थ्यो ।

 

‘बसाइँ’को पछाडितिरको एक पृष्ठ खाली थियो । सफा, चम्किलो, सेतो कागज भएकाले मैले त्यसैलाई उपयोग गरेँ । यो उपयोगिताको बानी पनि मेरो सानैदेखिको हो । कुनै बेला म क्यासेटका कभर, पुरानो टर्चलाइटका पाता, बल्ब र तार जोडेर नयाँ ‘टी–लाइट’ बनाउँथेँ । ‘टी’को मतलब तारकिणी । आफ्नै नामबाट कोडनाम दिन्थेँे । एकपल्ट जग्गेमा काम गरेर फालिएका निगालोहरू सदुपयोग गरेर झण्डै पच्चीस के.जी. गहुँ अट्ने डालो बनाएँ । नाम दिएँ– आरपी गोल डालो । यस्ता–यस्तै काम गरेर म बा–आमालाई खुसी तुल्याउँथे त साथीभाइलाई चकित !

 

पाँच सय रुपैयाँको नोट नक्कल गर्नुको उद्देश्य थियो ? सुन्नुस्, मलाई त्यतिबेला एउटै कुरा थाहा थियो– कुनै पसलेलाई झुक्याएर आवश्यक सामानहरू किन्ने ! तब दुनियाँले मलाई ठग भन्न सक्थ्यो । किनभने यो ठगहरूको जमाना हो । एक किसिमले ठग नभई पनि काम नहुँदो रहेछ । जाबो कापीकलम किन्न पनि साहुजीका पाउ मिच्नुपर्ने यस्तो दयनीय अवस्थामा कलाको मूल्य कसले बुझिदेओस् !

 

सोच्थेँ, पैसा कहाँबाट पाउने ? आजको युगमा त पैसाबिनाको हात शिशिरमा झरेको पातसरि छ । जीवनसुखको के कुरा ? महिनौँदेखिका रहर थिए– चर्चित र रमाइला साहित्यिक पुस्तक किन्ने । एउटा कलम र ससानो डायरी किनेर कविता लेख्ने । बिडम्वना ! गरिबीको अँध्यारो सहरमा रहरका महलहरू निराशाग्निले एक प्रहारमा भष्म पारिदिँदो रैछ । घरमा बा–आमालाई कम्ति दुःख दिएको पनि होइन । तै फेरि मनका पुन्तुरा खालेर आमालाई कर गरेँ– मलाई तीन/चार सय रुपियाँ नभई हुन्न !

झर्केर बोलिन् आमा, ‘अब आफ्नै हाडमासु बेचेर पनि पुग्दैन तिमेरूलाई रुप्पे ! केहीको आश नगर छउन्जेल घोगाको रोटी खाऊ । फेरि भोलिका तमासा देखिँदै जालान् । रुप्पे–रप्पे ! यो रुप्पेको जमानामा त रुप्पेबिना उप्पे (उपियाँ) पनि पालिएला जस्तो छैन बा ! तर, जानु काँ हो रुप्पेको लागि ?’

 

म कति कर गरिरहूँ ? निराश भएको देखेर आमाले एकजना साहुकहाँ गएर महिनावारी  भाकामा  पाँच सय रुपैयाँ कर्जा झिकेर ल्याइदिइन् । आखिर सन्तानको माया न हो, उनीहरूका आवश्यकता पूरा नहँुदा जतिसुकै गरिब बाआमाको मन नपिरोलिएर कहाँ रहन्छ ?

चक्मकाउँदो नयाँ नोट देखेर म फुरुङ्ग परेँ । वल्टाई–पल्टाई खूब हेरेँ । त्यो नेपालको गणतन्त्रसँगै जन्मिएको नयाँ नोट रहेछ क्यारे ! राजाको तस्वीरको ठाउँमा सगरमाथाको चित्र अङ्कित छ । जुनै पनि नयाँ र चित्ताकर्षक वस्तु देख्नासाथ मैले पनि त्यस्तै बनाउन सके हुन्थ्यो भन्ने लाग्छ । नयाँ नोट हातमा परेदेखि नै त्यसलाई चित्रमा उतार्ने (नक्कल गर्ने) प्रवल इच्छा जागेर आयो ।

+++

आफूद्वारा सिर्जित नोट छ हातमा । घरीघरी हेरिरहन्छु । आफैँ दङ्ग पर्छु । सोच्छु– जिन्दगीलाई यसै गरी बदल्न सकिने भए ! नयाँ बनाउन सकिने भए !

सिर्जित नोटको पैलो दर्शनार्थी बनिन् आमा । एकैछिन हातमा लिएर सुम्सुम्याएपछि बोलिन्, ‘अब त्यल्ले के गर्छस् ?’

‘क्यै हैन ।’ छोटो जवाफ दिएर पन्छिन खोजेँ ।

अरू बेला नभए पनि मेरा यस्तायस्तै करामत देखेर एकपल्ट खुसीको आँसु नबगाई रहँदिनन् आमा । सँगसँगै बग्छ दुःखको चिसो आँसु । अभावैको झुपडी । गरिबी–रोग–शोक । बारम्बार हिर्दयमा सल्किरहने नानाथरी पीरव्यथाको मुस्लो सम्झँदा कसलाई रुन नआउँला र ? सायद सोचिन्— यस्तो कला र प्रतिभा छँदाछँदै पनि एउटा कलिलो कोपिला नफक्रँदै ओइलाउने भो ! बर्रर्र् आँसुका ढिका खसाल्दै रुन थालिन् । म भित्रभित्रै आँसु लुकाउने चेष्टामा रहेँ ।

 

भोलिपल्ट स्कुल जाँदा सिर्जित नोट खल्तीमा बोकेँ । बाटोभरि सोच्थेँ— आज यल्लाई लगेर बजारमा डुलूँ ! यो चल्यो भनेदेखिन् त मेरो रहर सजिलै पूरा हुने थियो । संसारमा हातको कलाद्वारा सिर्जित यस्ता सुन्दर नोटहरू किन चल्दैनन् होला ? यदि यी चल्दा हुन् त म यस्ता धेरै नोटहरू बनाएर चाँडै धनी बन्थेँ ! बाआमााको दुःख त हरिदिन्थेँ । मेरो पुस्तक पनि चाँडै छापिने थियो । जुन छाप्न दिएको वर्षदिन भइसक्ता पनि पैसाकै अभावले गर्दा छापिएको छैन ।

 

बजारमा जसले पनि भन्न सक्थ्यो– ‘फटाहा ! नक्कली नोट लिएर आउँछ । यो ठग हो ।’ म सजिलै भन्न सक्थेँ– ‘यो अति मूल्यवान्, सुन्दर तर नयाँ नोट हो । जुन धरतीमा आज एउटा बालमस्तिष्कको अमूल्य प्रतिभा र कलिला हातको श्रम घुलेर सृजना भएको छ ।’

 

तर, कुरो बडो मोडियो । बाटोमै मैले आफ्नै नजिकको मान्छेलाई देखाएँ । उसले नक्कली नोट भनेर चिन्न सकेन । हतारमा भन्दिएछु– चल्छ कि नाई ? ऊ वाल्ल प¥यो । आफै छुच्चो भएँ, वास्तविकता बताइदिएँ । अनि त के ! ऊ दङ्गदास भै हेर्न थाल्यो । भनँे, ‘अरू कसैलाई जानकारी नदिनू है !’

छुल्याहा स्वभावको उसले बाटोदेखि नै झ्याली पिट्दै गएछ । स्कुलमा पुगेपछि मलाई अनेक स्कुलेले घेर्न थाले । हैरानै पार्न लागे, ‘रुपियाँ देखाऊ न !’

 

कान नसुनेको वरदानै भो एकहिसाबले । तर हाउभाउ र ओठ चलाएको हेरेर थाहा पाउन करै लाग्ने । कतिलाई त थाहा पाएर पनि स्वाङ गर्दै भन्थेँ– ‘के भनेको नि ? केही पनि बुझिनँ यार !’ बिचरा साथीहरू ! बाध्य भएर मेरा लागि लेख्न थाले– ‘पाँच सय रुपियाँ देखाऊ न !’

तिनको ढिपि असह्य भो । केही घनिष्ठ र विश्वासी साथीलाई एकान्तमा लगेर देखाइदिएँ । सिर्जित नोट हेरेर दङ्ग परे । एकजना बोल्यो, ‘यसलाई अफिसमा देखाऊँ । पुरस्कार दिन्छन् ।’

मैले इन्कार गरँे । उसको मनमा चोट नपुगोस् भनी छोटो जवाफ दिएँ, ‘भोलि देखाऔँला ।’

 

लौ, सिङ्गो स्कुलेजमात मेरो पछि लाग्न अभ्यस्त बन्यो । साराले मलाई घेरेर रमिता हेर्ने धोक्रो तान्दै सोध्न थाले– ‘तिम्रो रुपियाँ देखाऊ न !’, ‘पाँच सयको रुपियाँ छ रे तिमीसँग, खै देखाऊ न… !’

‘मसँग एक रुपियाँ छैन, यी हेर’ भन्दै खल्ती टक्ट्याएँ । तिनले मलाई पछ्याउन छाडेनन् । मैले तिनलाई टार्न छाडिनँ ।

जति टार्न खोजे पनि ती अनुरोध तेस्र्याउन पछि परेनन्– ‘तिमीसँगको पाँच सयको नोट देखाऊ न यार !’, ‘कागजको रुपियाँ क्या !’, ‘नक्कली रुपियाँ !’, ‘तिमीले बना’को नोट !’… इत्यादि ।

तिनलाई टारेर म पनि मज्जा चाख्दै थिएँ– ‘सबै रुपियाँ कागजकै त हुन्छन् नि !’, ‘रुपियाँ पनि नक्कली हुन्छन् र यार !’, ‘कहीँ–कतै हातले पनि रुपियाँ बनाउन सकिन्छ र ?’… आदि ।

 

कति त ती आश्चर्यमा परे होलान् । कतिले मलाई घमण्डी भने होलान् । राजधानी सहर हुँदो हो त यही हल्लाले मलाई प्रहरी हिरासतको पाहुना बनाउन बेर लाग्दैनथ्यो होला । आरोप ख्वाइन्थ्यो होला– नक्कली रुपियाँ बोक्ने ठग !

दुनियाँलााई ठग्न चाहँदैमा कहाँ ठग्न सजिलो छ र ? अब मभित्रको ठग कताकता गायब भइसकेको थियो । सट्टामा ‘वाह कला’ भन्ने शब्द घुसिसकेको थियो । मलाई आफैप्रति गर्वको महसुस हुन थाल्यो । यो सिर्जित नोटले त चमत्कारै देखाउँछ कि क्या हो !

 

भोलिपल्ट शुक्रबारको दिन । म डराएँ । हिजो नोट नदेखाउँदा साथीहरू रुष्ट भए कि ? मैले देखाउनुपथ्र्यो । गल्ति गरेँ । तर, त्यो गल्ति थिएन । सुरक्षाको हिसाबले पनि नदेखाएको । कागजको टुक्रामा आकर्षक कला न हो । हेर्नेहरूले कलामात्र हेर्दैनन् । एकबाट अर्कोले लुछाचँुडी गर्दागर्दै त्यसको त प्राणपखेरू उड्न बेर लाग्दैन । भीडभाडमा खोसाखोस गर्दा च्यातिन सक्थ्यो । थुकका छिटा परे पनि रङ्ग बिग्रिन सक्थ्यो । मैला हातहरूले मैल्याइदिन सक्थे । बनाउन सजिलो कहाँ छ र ? जति बिगार्न सजिलो छ । लगत्तै मस्तिष्कमा यस्तो फुयो– कुनै पनि चिजवस्तु पलकमा भत्काउन (बिगार्न) सकिन्छ, तर निर्माण गर्न वर्षौँ लाग्न सक्छ ।

 

शुक्रबार मैले सिर्जित नोट सबैलाई देखाउने निश्चय गरेँ । सुरक्षाका लागि घरैमा पारदर्शी प्लाष्टिकको बर्दी बनाएर लगाइदिएँ । नोट अब लेमिनेटेडझैँ भयो । त्यसलाई बिहानको पी.टी. खेल्ने समयमा आमस्कुलेको अगाडि गएर सबैलाई देखाऊँ ! मनमा लागेका तर्क पनि भनूँ ! यस्तो रहर पलायो तर लज्जालु स्वभावको म आफै पछि हटेँ ।

 

छुट्टी हुने बेलामा मात्र सबैलाई देखाउन थालेँ । गुरुवर्गलगायत केही स्कुले साथीले हेरे । हेर्नेहरू सबै अनौठो मान्दै घरी नोटलाई, घरी मलाई नियाल्न पो थाले । हुनत मेरा पहिलेका चित्रहरू हेरेर धेरथोर मलाई ती जान्दथे । तर, त्यस नोटले यौटा अनौठो तरङ्ग पैदा गराउन थाल्यो । नोटलाई गहन दृष्टि दिन थाले– एकापट्टि एक जोडी बाघ र छेवैमा लालीगुराँस, अर्कोपट्टि सगरमाथा र लालीगुराँसको चित्र । बीचमा लेखिएको ‘नेपाल राष्ट्र बैङ्क, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैङ्कबाट रुपैयाँ ५००, (रुपैयाँ पाँच सय) तुरुन्त पाइनेछ ।’ अनि गभर्नरको दस्तखत पनि देख्दा त झनै ठूलो हाँसो पड्क्यो । रमितेहरूको भीड उम्लिन थाल्यो ।

 

अखिल क्रान्तिकारीको एकजना साथी बोल्यो, ‘यसलाई स्कुलमा राखाँै, बरु केही सहयोगको व्यवस्था मिलाउनेछौँ ।’

दुई अक्षरको उत्तर दिएँ, ‘नाइँ ।’

– ‘राखौँ है ! अफिसमा सबैले देख्ने ठाउँमा टाँसेर/झुण्ड्याएर । अनि पुरस्कारको व्यवस्था गर्नेछौँ ।’

– ‘म पुरस्कारको प्यासी छैन । राख्ने नै हो भने त दिइहाल्छु नि ! तर भित्तामा टाँस्नचाहिँ पाइदैन । त्यसो गर्दा बिग्रन सक्छ । क्षणिक मनोरन्जनमा खेर नफालौँ न ! कला मूल्यमा बेच्नचाहिँ पाइदैन है !’

गलल्ल हाँसो फुस्क्यो । अघि ठग्ने उद्देश्य बोकेको मान्छे यतिखेर आफ्नो कलाप्रति आफँै मख्ख पर्न थालेको थियो ।

अर्को साथी बोल्यो, ‘पछि व्यवस्थित ढङ्गले स्कुलको सङ्ग्रहालयमा राखौँला ! आज तिमी नै राख ।’

आखिर औपचारिकता न थिए यी सब । मैले पनि मन्जुरी दिएँ ।

 

स्कुले थोरै मात्र बाँकी । अरू घरतिर गैसके । सरहरू नोट हेर्दै एक–आपसमा कुरा गर्न थाले । तिनले के भने कुन्नि ! मैले सुनिनँ । एकजना सर मतिर लम्किए र हाउभाउको भाषा बोले, ‘यसलाई म लगूँ ?’

– ‘व्यक्तिगत रूपमा राख्न दिन सक्तिनँ । धेरैले हेर्नुपर्छ । यसलाई मैले कठिनसाथ बनाएँ । बरु साथीहरूले भनेझैँ स्कुलको सङ्ग्रहालयमा राख्नचाहिँ दिन्छु । नमुना कलाको रूपमा रहनुपर्छ ।’ मभित्र पनि अलि घमण्ड मौलाएछ कि ! सुनेपछि उनले नोट मेरो हातमा फिर्ता दिए र केही नबोली अर्कैतिर लागे । सायद मेरो कुराले उनको अहंमा चोट पुग्यो !

 

मनभित्र अनेक तर्कवितर्कका वयेलीहरू नाच्न थाले । स्कुले साथीहरूचाहिँ पुरस्कारको व्यवस्था गराँै भन्छन् । तर शिक्षकहरूको मनमा त्यति प्रभाव परेन कि क्या हो ! उल्टै व्यक्तिगत रूपमा लगूँ भन्छन् । खासै कला र प्रतिभाको कदर यहाँ रहेनछ क्यारे ! होइन भने आफ्ना विद्यार्थीको यस्तो प्रतिभा देख्दा असल शिक्षकहरूको मनमा कुन प्रभाव पर्दो हो ! कुरा मेरै मात्र होइन । मजस्ता सयौँ प्रतिभाहरूको हो । यति सोच्दै विस्तारै पाइला चालिरहेथेँ । कोही पछाडिबाट खिरिरिरी दगुरेर आयो । मेरो पाइन्टको दायाँ खल्तीमा कागजको डल्लो कोचेर सिधा भाग्यो । फर्केर हेर्छु त उही मेरो परिचित मित्र । हिजो नै नोट हेरिसकेको मान्छे । नफर्कीकन सरासर जाँदैछ ।

 

खल्तीमा किचिमिचि परेको कागज नियाल्छु– भानिजहरूले तपाईको खल्तीमा भएजस्तै रू पाँच सयका, रू एक सयका, रू पचासका पाँच/छ वटा नोटहरू नक्कल गरेर ल्याइदिनू…. ! म छक्क पर्छु । अक्षर अर्कैको र अर्कै मसीले लेखिएको थियो । अन्त्यमा कसको नाम थियो कुन्नि, सो काटेर फरक मसीले उक्त व्यक्तिले आफ्नो नाम लेखेको ! उसलाई भेटेर थप बुभ्न मन लाग्यो । तर ऊ ढल्किसकेछ । म पनि आफ्नै सुरमा वसन्तपुर बजारतिर हानिएँ ।

 

बजारमा युवा नेताहरू भेटिए । तीलगायत अरू धेरैले त्यहाँ पनि सिर्जित नोटको दर्शन गरे । एकजना सज्जनजस्ता लाग्ने बूढाले मतिर हेरेर आश्चर्यसाथ केही बोले । काँधमा बोरा र नाम्लो झुण्ड्याएको भरियाजस्तो लाग्ने अर्कोले स्वाट्ट लुछेर नोटलाई बेवास्तासाथ मैला हातहरूले मल्न लाग्यो । सायद बोल्यो– खै, यो त रुपियाँजस्तो खस्रो छैन !

भीड झन् उम्लिएपछि मैले आफ्नो नियन्त्रण छोडिसकेको थिएँ । नोट जनजनका हातमा पुग्यो । म आफँै रमिते बनेर हेरिरहन मन लाग्यो । कोहीले बोल्यो– प्रचारका लागि लग्न सक्छु ? मैले इन्कार गरेँ । साराले हेरिसकेपछि नोटले सकुशल मेरै खल्तीमा अवतरण ग¥यो ।

 

मेरो हितैषी मित्र प्रकाश । जो हाम्रो कक्षा एवं स्कुलकै विद्यार्थी नेतामध्येको थियो । उसले एकान्तमा लग्यो । लेखेर मलाई ती थरीथरी मानवका प्रतिक्रिया सुनायो । एकजना नेकपा (माओवादी)का सी.सी.एम.ले भनेछन्– प्रतिभा ठीक चलिरहेको छ । पछि काठमाडौँतिर वा जहाँ कलाको कदर हुन्छ, जान सहयोग गर्नेछौँ । यी फगत आश्वासन हुन्, आफूलाई असल देखाउन प्रयोग गरिने औपचारिकता मात्र हुन् भन्ने मैले त्यतिबेलै अड्कल लगाएँ । किनभने, विगतदेखि नै म यस्ता अनेक व्यक्ति र बोलीसित परिचित हुँदै आएको थिएँ ।

 

यस अवधिमा कति हल्लीखल्ली भयो, कति आलोचना वा प्रशंसा गरियो ? मलाई प्रत्यक्ष थाहा भएन । मैले प्राप्त गरेका सन्देश–सूचना दुनियाँको हाउभाउको माध्यमद्वारा थियो । विशेष अवस्थामा लिखित पनि । तर, सिर्जित नोट हेर्नेहरूमध्ये धेरैजसोले अचम्म मान्दै, खुसी हुँदै मतिर हेरेको, जोसिलो पारामा हात मिलाएको देख्दा अत्याधिक खुसी लाग्यो । ठानेँ– मभित्रको शिशुकलाकारले प्रशंसा पाएछ ।

 

आज ती हिजो–अस्तिका कुराहरू सम्झँदै गर्दा अनेक थरी व्यक्ति र तिनका ढङ्ग–हाउभाउ–नाटकबारे गहिरिएर सोचेँ । लाग्यो– यौटा रमाइलो नाटक मञ्चन भएछ । यस्तै हो जीवन पनि ! नाटकीय ढङ्गले कागजको टुक्रामा रङ्ग्याइएको आकर्षक कला– सिर्जित नोट । जो रमितेहरूको भीडमा खिइँदै जान्छ । फगत खिइँदै जान्छ ।

 – न्वादेउ- ६, बैतडी

प्रतिक्रिया दिनुहोस्

*