कमरेडलाई कुन रुखमुनि भेट्ने ?

– रामकुमार एलन

प्रहरीले स्याउलीबजारबाट छेगु मुक्तानलाई फेरि समात्यो । उनलाई ठकुरीको घरमा माओवादी हुलेको मुद्दा छ । प्रशासनले ९० दिनको नजरबन्दमा वीरगन्ज पठायो । विद्रोह र निराशामा बाँचेको पिचुर गाउँ छाडेर हिँडेको थियो । एकातिर अपमान र अभाव । अर्कातिर म्हेन्दो हराएको पीडा । त्यसमाथि बाबु नजरबन्दमा । उसले रिस थाम्न सकेन । बदलाको भाव जन्मियो १६ वर्षे ठिटोमा । साँच्चै उसले माओवादीमा जाने विचार ग¥यो । कतै माओवादीमा भेटिन्छे कि म्हेन्दो पनि । उसलाई आशा पनि जाग्यो । बाबु जेल परेपछि तातेको रगतले पिचुर माओवादी भएर बन्दुक बोक्ने तयारीमा पुग्यो । आमा र बहिनी छाडेर ऊ हिँड्यो पार्टीमा ।
पिचुर मात्र होइन, गाउँका धेरै ठिटा हराए । पक्कै माओवादीमै गए होलान् । गाउँमा बूढाबूढी मात्र हुन थाले । टाठाबाठा सहरतिरै । हुनेखानेका बच्चा सहरतिरै । गाउँमा माओवादीलाई झन् सजिलो भयो । खाली घरमा बस्न थाले । बैठकहरू चल्न थाले । बेलाबखत जनकारबाही हुन्थ्यो । कहिले गाउँका ठिटाहरू तास खेलिरहेका भेटिन्थे र धुलाई भेट्थे । छोरीचेली बेच्ने दलालहरूको खोजी गर्थे । फेला परेका थिएनन् ।
हुनेखानेका घरबारी कब्जामा परे । बाली लगाउनेहरूले जग्गाधनीहरूलाई अधियाँ र त्रिखन्डी बुझाउन परेन । बरू अलिअलि पार्टीले लिन्थ्यो । जनताका लागि हिँडेका छौँ भन्थे । एवम् रीतले गाउँ माओवादीको भयो । सहर प्रशासनको । द्वन्द्वको भुङ्ग्रोमा गाउँ जल्दै थियो । फाट्टफुट्ट मान्छे मारे भन्ने सुनिन्थ्यो । तर, स्याउलीमा कोही मरेका थिएनन् । माओवादी एकठ्ठा भएर कवाज खेल्थे बगरमा । गाउँमा देखिनेहरू त्यही गाउँका चैँ थिएनन् फेरि ।
किताबका पानाहरू च्यातिए । महेन्द्रमाला र राजाका तस्बिर जलाइए । ३० वर्षे पञ्चायतका मसिहा महेन्द्र राजाका नाममा किताब थिए । किताबका पहिलो पानामै महेन्द्रका फोटा । परिवारका चाकरी । गाउँमा खुलेका सबै स्कुलका नाम महेन्द्र । त्यसैले माओवादीले किताब जलाए । स्कुलका नाम फेरेर जनता स्कुल राखे । संस्कृत भाषा पनि लखेटे । साँँच्चै शिक्षाका नाममा राजपरिवारको चाकरीविरूद्ध जेहाद छेडे ठिटाहरूले । स्कुलका मास्टरहरूले राष्ट्रिय गान गाउन लगाएनन् विद्यार्थीलाई । अलिअलि चन्दा पनि दिन्थे रे । भन्थेनन् कोही । सरकारी नुन खाएर पार्टीलाई चन्दा दिएको थाह पाए जागिर चट् हुने । त्यसैले डराउँथे तर चन्दा चैँ दिन्थे । गाउँमा बस्ने उनीहरू मात्र थिए राष्ट्रसेवकमा ।
सिउरानी गाउँमा सहकारी भेला थियो । आशा आफ्ना दलबलसहित गाउँ गइन् । सिउरानी गाउँ सिउरानी डाँडामाथि थियो । अलि विकट । तामाङहरूको बस्ती । गाउँबाट थुप्रै बेचिएका खबर आउँथे । घरैपिच्छेका छोरीहरू सर्कस, गलैँचा र कोठीमा पुगेका थिए । त्यहाँका गाउँमा चेतना ल्याउनु थियो । गाउँमै कुखुरा–बाख्रा पालेर बस्न सकिने कुरा सिकाउनु थियो । त्यसैले आशा क्षत्री सिउरानी जाँदै थिइन् । बस चढेर ओर्लेपछि ठाडै उकालो चढ्नुपर्छ । उकालोमा पानी पाइन्न । चिरिर्र झ्याउँकिरी कराएका छन् वनमा । कोहीकोही घाँस–दाउरामा भेटिन्छन् वनमा ।
सुसेल्दै छन्, गीत यस्तो पो छ ः
भागेरै जाऊँ भन्छिन् हौ ठूलीले ।
गाडी भाडा पुग्दैन फुलीले ।।
सिउरानी वन कट्न लागेपछि एउटा ठुटेपीपलको रूख आउँछ । ढुङ्गा थुपारेर चौतारा पनि बनेको छ । आशा समूहसहित त्यहीँ पुगिन् । सकियो उकालो । खुइय गर्दै चौतारामा पुग्दै थिए । एक हुल युवायुवती आइपुगे । कोहीकोहीले त बन्दुक भिरेका ।
‘कहाँ आउनुभो तपाईंहरू ?’ एउटाले प्रश्न ग¥यो ।
‘कसलाई सोधेर आउनुभयो ?’ अर्कोले सोध्यो ।
‘के काम छ हाम्रो गाउँमा ?’ तेस्रो पनि करायो । लगातार प्रश्नका भारी थुप्रिए ।
‘हामी यही गाउँमा एउटा कार्यक्रम गर्न आएका,’ आशा बोलिन् ।
‘हामी दिनदिनै कार्यक्रम नै गरिरहेका छौँ त,’ रातो रूमाल बाँधेकी केटी बोलिन् । ‘हामी पनि एउटा गरौँ न गाउँमा,’ आशाले नहिच्किचाई भनिन् ।
‘कसलाई सोधेर कार्यक्रम गर्ने, हामीलाई थाहा छैन त,’ अनुहार छोपेकी केटी मात्र बोलिन् ।
‘यहाँ हामीलाई नसोधी आउन र जान त पाइन्न । कार्यक्रम गर्ने ? तपाईंलाई ज्यान फाल्न मन छ कि क्या हो ?’ केटीले कमान्डरकै भाषा बोलिन् । आशा पनि डराइनन्, ‘तपाईंहरूलाई बजारतिर नभेटिने । अब कुन रूखमुनि भेटिन्छ, जानकारी पनि भएन,’ हामीलाई थाहा छैन ।
‘बल्ल त भेटियो । कि लेखेर राख्नुस् । यहाँ भेट्ने र अनुमति लिने भनेर,’ उनी पनि बटारिएरै कुरा गर्न लागिन् ।
‘तपाईंले बढी नै बोल्नुभयो दिदी,’ पछाडि बसेको अर्को केटो अगाडि हुत्तियो । रूमालले मुख छोपेकीले रोकी । रूमाल खोली र भन्न थाली, ‘तपाईंलाई भेट्न बसेका होइनौँ हामी । देश र जनताका मुक्तिका लागि राँको बाल्दै हिँडेका । धेरै नबटारिनुुस् ।’
उनले चेतावनी दिइन्, ‘जलेर खरानी हुनुहोला क्रान्तिकारी राँकोमा ।’ कमान्डरले गलफत्ती लम्ब्याइन् । अनि बन्दुक लौरोजस्तो पारेर टेकिन् ।
‘हामी पनि गाउँका दुःखियाका कुरा सुन्न आएका,’ तपाईंसँग गलफत्ती गर्न होइन । खरानी भए पनि भाँडा माझ्न काम लाग्छ । आखिर एक दिन खरानी नै हुने त हो । आशा झन् कड्किइन् ।
‘पुरानो सत्ताका जल्लादहरूले पठाएकै हुनुपर्छ कमरेड । घाँटी चिलाएछ यिनको,’ यसपटक पछाडिको अर्को बोल्यो । तर, लवज तामाङ भाषाको थियो ।
कमरेड ज्वाला हो मेरो नाम । एरिया कमान्डर । मेरो आदेशविना आवतजावत बन्द छ । ज्यानको माया छ भने फर्कनुस् । तपाईंहरू महिला हुनुहुन्छ । अरू भए मेरो कमान्डरलै यतिखेर ढाड खुस्काउँथ्यो । कमाँडरले नै कड्केपछि आशाका साथीहरू काम्न थाले । पिसाब खुस्काएर भाग्लान्जस्तो भयो । एकछिन् सन्नाटा छायो । आशाको समूह यता ढुङ्गामा र उनीहरू उताको ढुङ्गामा चुपचाप बसे ।

आशाले झोलामा रहेको फोटो निकालेर हेरिन् । उनको झोलामा धोका दिने पोइबाहेक अरू पनि धेरैको फोटो छ । कमान्डरको अनुहार ठ्याक्कै कर्किनीको हराइरहेकी छोरी रीतासँग मिल्छ । अनि पछाडिको ठिटोको हुलिया सम्झिइन् आशाले । कोठीमा लालीले भनेको पिचुरको हुलिया मिल्छ ऊसँग । मन ढुक्क फुलेको पनि छ । अनि खुसी छचल्किन पनि थालेका छन् । आशाले झोलामा भएको फोटो हेर्दैै कमान्डर हेरिन् । कमान्डरले देख्यो । के गर्दै हुनुहुन्छ ? बम त छैन झोलामा ? कमान्डर वर आइन् ।
‘हामी बम बोक्दैनौँ नानी । तर यो पनि बमभन्दा कम शक्तिशाली छैन,’ आशाको जवाफ थियो ।
कमरेड ज्वाला नजिकै आइन् । पछिपछि अरू ठिटाहरू । सैन्य कम्ब्याट पोसाकमा । बुटका आवाज । ज्वालाले तस्बिर हेरिन् । अनि टक्क अडिन् । उनी एकाएक खङ्ग्रङ्ग भइन् । फतक्क गलिन् र भनिन् यो त मेरो फोटो हो । ज्वालाले तान्न खोजिन् । आशाले दिइनन् ।
‘कस्तो लाग्यो त ? बमजस्तै रहेनछ ?’
‘बम मात्र हुन्छ शक्तिशाली ?’
ज्वालालाई पनि जवाफ आयो, ‘बम नभए पनि बमका छर्रा नै हो यो ।’
‘हामी गाउँमा बसौँ कि जाऊँ ?’ अब आशाले ठूलो स्वर गरी ।
ज्वालालाई घरको याद आयो । आमाको याद आयो । बाबुको । स्याउली गाउँमा हिँडेको, खेलेको । ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भनेर गीत गाएको । नाचेको झल्झली याद आयो । घरका एल्बममा टन्न फोटा थिए । त्योमध्येकै एउटा फोटो थियो त्यो । चार दिन भएको चुलबुले पाठो काखमा लिएर खिचेको फोटो । उसलाई त्यो फोटो साह्रै मन परेकोमध्येको पनि एक थियो । नीलो मेडी, हरियो टी–सर्टमा सजिएकी । भर्खरको जवानी । उठ्दै गरेका छाती । काखमा कालो पाठा । चुलबुलेपन सम्झिइन् ।
‘बा–आमा कति रूनु भयो होला ?’ अनायासै ज्वालाले आवाज फुत्काइन् ।
‘तिम्रा आमा सन्चै छिन् रीता,’ आशाले अर्को जाल हानी । ज्वाला काली–नीली भई । उसको नाम पार्टीका कतिलाई थाहा थिएन । उनले भनिदिइन् । उनीले आँखा झिम्काइन्, नभन्न भनेर आशालाई । साथीहरूलाई आदेश दिइन्, ‘कमरेड, उहाँहरू हाम्रा शुभचिन्तक हुन् । लिएर जाऊँ गाउँ ।’ कमरेडहरू केही बोलेनन् । जाऊँ भनिन् ज्वालाले । चुपचाप आशा टोलीसहित पछि लागिन् लुरूलुरू ।
‘यहाँ त घाँस रहेछ । बाख्रा पाल्दा हुन्छ आशा दिदी,’ आशासँग गएकाहरू हिम्मत गरेर बोले । यहाँ मान्छे पनि पालिएका रहेछन् । आशाले घुमाउरोसँग पेच हानिन् । ज्वाला केही बोलिनँ । तेर्सै बाटो हिँडेर एउटा खोल्सा तरेपछि सिउरानी गाउँ छिरियो । गाउँका मान्छेहरू सबै तनक्क हात तन्काउँदै अभिवादन गर्दा रहेछन् । ‘सन्चै हुनुहन्छ,’ काँधमा बन्दुक तेस्र्याएर ज्वाला मात्र सोध्थिन् हालखबर । नरमसँग गाउँलेहरू ‘ठीकै’ छ भन्थे ।
गुरूम्म परेका पाँच–सात घर आइपुगे । ज्वाला छिरिन् बस्तीमा । कमरेडका हुल छिरे । पछि हिँडेका आशाको समूह पनि । त्यहाँ भएकाहरूले तनक्क हात तन्काए । कडासँग हात मिलाए । आशाको समूह नयाँ कमरेड भए त्यहाँ । उहाँहरूलाई तपाईंहरूले बीचमा सुताउने । बाँकी भरे कुरा गरौँला । आज हामीसँगै । ज्वालाले उनीहरूलाई जिम्मा लगाइन् । भनिन्, ‘सम्झनुस् हाम्रो कब्जामा हुनुहुन्छ ।’ जल्लादहरू एफएममा समाचार फुक्छन् नि अपहरण गरे भनेर । आशा पनि डराइन् ।
‘यस्तो मीठो अपहरणमा परिरहन पाए त परिरहन्थ्यौँ हामी त,’ अरू पनि गलल हाँसे । कटुसका स्याउलाले छाएको एउटा कत्तरे घरमा उनीहरू चोटामा चढे । भुइँमा तन्नाहरू ओछ्याइएका । तीनवटा तन्नाका ओछ्यान आशाका समूहलाई दिइयो । चोटामा लहरै सुत्ने ओछ्यान आशाको एउटा साथीलाई कस्तोकस्तो लाग्यो । उनी पुरूष थिए । लहरै गुन्द्रीमा सुत्नु उनलाई अप्ठ्यारो लाग्यो । झोला फ्यात्त गुन्द्रीमा फालेर उनी तल ओर्लिए । पर–परसम्म माओवादीका कार्यकर्ता थिए । कोही कुरा गर्दै । कोही नुहाइधुवाइ, कोही कवाज खेल्दै । कोही पत्रिका र किताब पढ्दै । यति धेरै माओवादी देखेको उनले पहिलोचोटि हो । केही भनौँ मार्लान्, नभनौँ कसरी सुत्ने ? उनी विलखबन्दमा परे ।
साँझ प¥यो । माख्लो घरको गोठमा खाना तयार भयो । गाउँमा भाँडाको अभाव । एउटी किशोरीले एक अँगालो टपरी ल्याइन् । सबैले एउटा–एउटा टपरी लिए र खानलाई लाइन लागे । ठूलो भाँडामा ढिँडो ओडालिएको थियो । काठको दाबिलो थियो । अर्को भाँडामा सागसब्जीको तरकारी । एउटा भाँडामा टमाटरको अचार । अर्कोमा मासु पनि थियो । नुन, खुर्सानी पनि छुट्टै । सबैले बेर नगरी खाए । ज्वालाले भनिन्, ‘तपाईंहरू त डलरमा हिँडेको । मीठो–मसिनो खाने बानी । रूचेन होला ?’ अब गाउँमा चामल रहेनछ आज । भोलि बिहान चैँ बजारबाट ल्याउन भनेको छु ।
आशाले मासु र ढिँडो अलि–अलि जबर्जस्ती चपाइन् र निलिन् । उनका अरू दुईलाई साँच्चै गाह्रो भयो । ‘जनताको काम गर्ने भनेको जनताले खाने–सुत्नेजस्तो पनि गर्न सक्नु हो । विदेशी दलालले हरिया नोट देखाएर बिगारे, तपाईंहरूलाई,’ ज्वालाको अर्को डाइलग आयो । माथि गाउँ छ, तलबाट कुलो खन्नलाई इस्टमेट हुन्छ । गाउँभन्दा तलको खोल्साबाट पानी दिने भनेर जनतालाई पाइप बोकाउँछ । डलरले मान्छे अन्धो हुन्छ । बाटो नभएका ठाउँमा पुल । पुल चाहिने ठाउँमा वृक्षारोपण । डलरले सत्ता चलाउनेहरू पनि अन्धा भए । खानामै ज्वालाको एक किस्सा भाषण ।

उपन्यास स्याउली सिम्फोनीको अंश ।

प्रतिक्रिया दिनुहोस्

*