पाहुना

- अमर न्यौपाने

हाम्रो घरमा जो पाहुना आउँदा पनि  केही न कही ल्याइदिन्छन् । जस्तैः चकलेट, चाउचाउ, बिस्कुट…।
एक जना पाहुना आए । बाले काका भन्नुपर्छ भन्नुभयो । हामी दिदीभाइले नौला काकाको अनुहारमा हे¥यौँ । तर उनको अनुहारमा कतै मायालुपनको छनक पाएनौँ । उनी हामीलाई देखेर हास्ता पनि हासेनन् । बोल्दा पनि बोलेनन् ।
ठूलो अनुहार, साना आँखा, खुइलिन लागेको तालु, मोटामोटा जुँगा, ठूलो भुँडी । उनलाई मुखले मात्र काका भन्यो, मनले भनेन ।
दिदीले त मसँग सुटुक्क भनिन्— ‘यस्ता पनि काका अरे । काका न साका !’
तैपनि  मलाई भने आशा लागिरह्यो, केही दिइहाल्छन् कि ?
उनको नजिक गएँ । म यसै झ्याम्मिन खोजेँ । बेलाबेलामा त्यो भयानक अनुहार हेर्दै पनि रहेँ । तर त्यो कञ्जुस हातबाट केही झरेन । चुहिएन ।
मैले उनको सर्टको गोजी यसै छामेजस्तो गरेँ । पाइन्टको पनि गोजी छामेजस्तो गरेँ । तर उनले खासै वास्ता गरेनन् । लाग्यो, यिनका छोराछोरी नै छैनन् क्या हो ? छोराछोरी भएको भए त यति कठोर नहुनुपर्ने हो ।
त्यसपछि भने मैले मुखै फोरेर उनको ज्याकेटको गोजी छामेर भनेँ— ‘काका ! याँ के छ ?’
उनले अड्कलेर अलि बेवास्तापूर्वक बोले— ‘तिम्लाई नचाइनी कुरा ।’
तैपनि मैले सोधेँ— ‘चकलेट पनि छैन ?’
त्यसपछि उनी केही बोलेनन् । मेरो कुरा नसुनेझैँ गरे । मलाई भने नरमाइलो लाग्यो ।
एकैछिनमा आमाले खाना खान बोलाउनुभयो । बा र काका खाना खान जानुभयो । हामी भने एकछिन यसै अलमलिएझैँ गरेर सुटुक्क कोठाभित्र छि¥यौँ ।
ती काकाको झोला खोतल्न थाल्यौँ । तर कतै केही खानेकुरा थिएन । थिए केही लुगा, किताब र दाह्री काट्ने सामानहरु ।
मैले छेउको जिपर खोलेँ । त्यहाँ पैसा रहेछ । जम्मा कति थियो, थाहा छैन । तर एउटा नीलो नोट झिकेँ । दिदीले भनिन्— ‘पचास रुपैयाँ !’
जस्ताको तस्तै जिपर लगाइदिएर हामी दोकानतिर टाप कस्यौँ । दोकान हाम्रो घरको छेउमै थियो ।
हामीले दोकान गएर चकलेट, चाउचाउ, कुरकुरे किन्यौँ । र सुटुक्क अर्को कोठामा छिरेर खान थाल्यौँ ।
त्यही बेलामा आमाले खाना खान बोलाउनुभयो । हामी गएनौँ । हामी कोठाभित्र खासखुस गरेको थाहा पाउनुभएछ क्यारे । खोज्दै आउनुभयो । हामीले त कोठाको ढोकै लगाउन बिर्सेका रहेछौँ । देखिहाल्नुभयो ।
लौ मा¥यो ! हामी समातियौँ । हामीलाई ती खानेकुरा निल्नु न ओकल्नु भयो । लुकाउने समय पनि पाएनौँ ।
आमा कराउनुभयो— ‘काँबाट ल्यायौ यतिका खानेकुरा ?’
हामी केही बोल्न सकेनौँ । कहाँबाट ल्यायौँ भन्ने ? कसले दियो भन्ने ?
जे परे पर्ला परेसी टर्ला भनेर मैले नै भनेँ— ‘काकाले !’
आमाले पत्याउनुभयो र बाहिर जानुभयो । ढोकाबाट बाहिर निस्कने बेलामा भन्नुभयो— ‘यो अइले नखाओ । भात खान आओ । बा र काकाले खार उठिसक्नुभो ।’
हामीलाई लाग्यो, हामीहरु ठूलो कालबाट बच्यौँ ।
बाहिर निस्किएर आमाले काकासँग भन्नुभयो— ‘यी केटाकेटीलाई किन किनिदिनुभको यी नाना थोक खानेकुरा ?’
हामीले सुनिहल्यौँ । हाम्रो सातो गयो । हामी त डरले नीलै भयौँ । अब के गर्ने ?
काकाले सजिलै भनिदिए— ‘मैले त केइ देकै छैन !’
त्यसपछि ती काका अर्को कोठामा छिरेछन् क्यारे । बा गोठतिर गाईभैँसीलाई घाँस दिन जानुभएको रहेछ  ।

हामी बाहिर निस्कन मात्र के लागेका थियौँ, त्यसपछि आमा रिसले आगो भएर फेरि भित्र आउनुभयो । हाम्रा जगल्टा समातेर कड्किनुभयो— ‘तिमोर्ले यतिका चकलेट, चाउचाउ, काँबाट ल्यायौ हँ ?’
आमाले गाली गरेर, धम्क्याएर, फकाएर फकाएर सोध्नुभयो । मैले साँचो कुरा भनेँ ।
आमाको अनुहार एकदम लज्जित र चिन्तित भयो । जसलाई रिसको पर्दाले ढाक्नुभएको थियो । त्यो सबै रिस हामीलाई पोख्नुभयो । त्यसपछि आमाको अनुहारमा लाज र चिन्ता मात्र बाँकी रह्यो । हामीले चकलेट, चाउचाउ, बिस्कुटभन्दा दस गुना धेरै गाली खायौँ ।
आमाले लज्जित हुँदै विस्तारै भन्नुभयो— ‘तिमोर्ले पाहुनाको अगाडि हाम्रो विजेत ग¥यौ ! हाम्ले चोर्न सिकाको जस्तो भन ?’
आमाले अझ तर्साउने बोलीमा बोल्नुभयो— ‘अब बाले आएर तिमीहरुलाई के गर्नुहुन्छ थाहा पाउला ? बाको रिस तिमीहरुलाई थाहै छ !’
आमा साह्रै लज्जित हुनुभयो र हामीलाई धिक्कार्नुृभयो । सायद आमालाई यतिसम्म विठ्याइँ गर्दैनौँ हामीले भन्ने कुरामा विश्वास थियो । तर, हामीले आमाको विश्वासलाई पनि नागेका थियौँ ।
मलाई लागेको थियो यो कुरा आमाले कुनै जुक्ति लगाएर बासम्म पुग्न दिनुहुनेछैन । तर बाले त हाम्रो कुरा सुन्नुभएछ ।
त्यसपछि त झन् हाम्रोे सातो गयो । बालाई देखेर हामी दिदीभाइ त यसै पनि नीलै भयौँ । आमा पनि नीलै हुनुभयो ।
बा आसाध्यै रिसाहा हुनुहुन्छ । उहाँले दिने सजायँ असाध्यै कडा र निर्मम हुन्छ । हामीलाई कति पटक दिनभरि गोठमा भैँसीको छेउमा दिनभरि दाम्लाले बाँधेर राखिदिनुभएको छ । अहिले पनि त्यही सजायँ हुन्छ भन्ने कुरामा म ढुक्क भएँ ।
हामीलाई बाआमाको गाली र सजायँले चिन्तित बनायो । बाआमालाई भने इज्जतको कुराले । हामी घरमा आएका पाहुनाको झोलाबाट पैसा चोर्ने भएका थियौँ । हाम्रा बाआमा चोरका बाआमा हुनुभयो ।
बा बाघझैँ गर्जनुभयो— ‘के गरे यिनीहरुले फेरि ?’
हामी सबै मौन भयौँ । आमा पनि मौन हुनुभयो । अहिले आमा हामीले चोरेको कारणले भन्दा बाले दिने सजायँका कारण बढी चिन्तितजस्तो देखिनुभयो ।
बा फेरि गर्जनुभयो— ‘काँबाट ल्याए यिनीहरुले यतिका चकलेट, चाउचाउ हँ ?’
कसैले केही नभनी आफै भन्नुभयो— सब मलाई था छ ! तिमोरु घरमा आका पाहुनाको पनि पैसा चोरेर खाने भयौ, होइन ? पख्लाऊ ! तिमोरुलाई पाता पर्खाएर नबाँधी !’
हामी दुवैले बाको अनुहारमा हेर्न सकेनौँ । बा हामीलाई पिट्न गोठबाट लौरो लिएर आउनुभयो र बाँध्नलाई डोरी । हामी पशुझैँ पिटिन र गोठमा बाँधिनका लागि तयार भयौँ ।
हाम्रो चर्काचर्की सुनेर ती कठोर अनुहार भएका काका पनि पल्लो कोठाबाट हामी भएको ठाउँमा आए । लाजले मैले उनको अनुहारमा हेर्नै सकिनँ । पक्कै दिदीले पनि हेर्न सकिनन् ।
जति निर्दयी भए पनि मैले काकाको अनुहारमा हेरेँ । आँखाभरि आँसु र डर लिएर हेरेँ ।
अन्तिम पटक हो झैँ हेरेँ । उनीसँग मेरा आँखा जुधे । उनलाई हेरेर म झन् भक्कानिएँ । मेरा आँखाबाट तरर्र आँसु चुहियो । आँसु गाला हुँदै चिउँडाको टुप्पाबाट भुँइतिर पर्किएर झुन्डियो । अनि मेरा दाहिने खुट्टाको बुढी औँलामा पर्नेगरी तप्प चुहियो । मैले तल हेरेँ ।
कुन्नि के सोचेर हो, झिलिक्क बिजुली चम्केझैँ काकाले बालाई फ्याट्ट भने— ‘मैले दिएको पैसाले किनेर खाएका हुन् दाइ यिनीहरुले ! यिनीहरु निर्दोष छन् !’
मैले त विश्वासै गर्न सकिनँ । पुलुक्क काकातिर भगवान्लाई प्रत्यक्ष देखेझैँ हेरेँ । एकाएक ती काका अहिलेसम्म हाम्रो घरमा आएका पाहुनामध्ये सबैभन्दा दयालु लाग्यो । पाहुनाहरुमा मात्र होइन संसारकै दयालु मान्छे लाग्यो । मेरी आमाभन्दा पनि दयालु ।

प्रतिक्रिया दिनुहोस्

*