असामभित्र नेपाली

- मेनका पोखरेल आचार्य

प्रभातझैं हृदय जहाँ खुलेर मुस्कुराउने
प्रत्येक ढुक्ढुकी अपार प्रेममा रमाउने
पवित्र व्रहमपुत्रको नदी सरी पवित्रता
असामभित्र भेटिने रहेछ त्यो असीमता

हरेक शब्द स्नेहले भिजेर बर्सने सधैं
रहेछ जो विशिष्टता नपाइने अरु कतै
जताततै सुसभ्यता झलल्ल झल्कदै थियो
तमाम व्यक्ति व्यक्तिमा प्रकाश चम्कदै थियो

गृहस्त धर्मको जरो हराभरा रहेछ त्याँ
समान देवता हुने रहेछ पाहुना जहाँ
यही रिवाज कञ्चनै युवा र बाल वृद्धमा
अवर्णनीय जो वर्णन् गरौं कसोगरी यहाँ

जहीतही स्वजातिमा मिलाप पुष्पझैं हुने
थुंगा छ एक पात ती अनेक त्याँ समेटिने
यही कुरो सिकउदै थियो असाम भूमि त्यो
कहाँ म सक्छु विर्सनै भुलेर भुल्न त्यो अहो

थिएन ठाउँ त्याँ कतै विरानु आफु ठानिने
जहाँ पुग्यो त्यहीं सदा सहर्ष रम्न पाउने
कतै न रोकटोक थ्यो कतै न खोटसोचथ्यो
विचित्रको विशालता असामको चिनो थियो ।

जोरपाटी—०२, काठमाण्डौं

प्रतिक्रिया दिनुहोस्

*