अक्षरहरू त बीउ हुन् तिमी यिनलाई छर

- प्राध्यापक तुलसी दिवस

कोदालीले धरतीको पाना सम्याउनु परे
आफ्ना दुई पाखुरा र दस नंग्रा म दिन्छु
अक्षरहरू त बिउ हुन् तिमी यिनलाई छर ।

बीउहरू त अक्षर हुन् तिमी यिनलाई लेख
तलमाथि केही नमिले अरु पसिनाले पुछ ।

खेतको आली पनि त धुलौटे पाटी हो
हलो जोतेर कलमको बरु डीक म मिलाई दिन्छु
बिउहरू त अक्षर हुन् तिमी यिनलाई पढ ।

गोडाहरू चोपलेर हिलोको मसीमा म रोपाई गराउँंछु
असारे भाकामा शब्दहरू गोड्दै तिमी रोपाई गर
शब्दहरू टिपेर वाक्यमा मुठा पार्दै म दाइँ गाउँछु ।

अर्थहरू पढेर पाकेको बालीमा तिमी दाइँ गर
मियो बनेर आलीको माझमा म गोलसिमल बोलाउँछु
हरियो गोबरले लिपेर भकारी अक्षर पाकेका बाली तिमी भर ।

कुपण्डोल, ललितपुर

प्रतिक्रिया दिनुहोस्

*