देशजस्तै छ वर्तमान कविताको अनुहार

- गोपीकृष्ण ढुंगाना

काठमाडौं ः सभ्यताको विकाससँगै कविताको पनि विकास भएको पाइन्छ । सुवानन्ददेखि सुरु भएको नेपाली कविताको लेखन परम्परा पछिल्लो पुस्ताकी सरस्वती प्रतीक्षासम्म लगभग उस्तै अनुहारमा देखिएको छ । किनकी उही समाजको कवि र उसले भोगेबुझेको पीडा र ज्ञान कवितामा पोखिँदैआएको छ । बुकवर्मले राजधानीमा आयोजना गरेको ‘एनसेल नेपाल लिटेरेचर फेस्टिभल’ को तेस्रो दिन ‘वर्तमान कविताको अनुहार’ मा वरिष्ठकवि तुलसी दिवस र पछिल्लो पुस्ताकी प्रतीक्षाको बीचमा उभिएका विक्रम सुब्बाको स्वीकारोक्ति यही थियो ।
‘वर्तमान समयमा कविताको सान्दर्भिकता कति छ ?’, प्रस्तोता हेमन यात्रीले सोधे । प्रतीक्षाले कविता कविताकै लागि लेखिने भएकाले कुनै बेला जन्मने र त्यसपछि मर्ने काम नहुने प्रष्ट पारिन् । उनले भनिन्, ‘हिजोका कविता मारेर आज कविता जन्माइने होइन ।’ सुब्बाले कविता पढिसक्दा पाठकले मज्जाले ‘यो चाँही कविता हो’ भनेर प्रसंशा गर्नुपर्ने बताए । ‘गणतन्त्र आएपछि छोटेराजाहरुविरुद्ध, समाजका विद्यमान अमिल्दा विषय, नारीका कथाव्यथा र मुक्तिका कुरा, सीमान्तिकृत र सांस्कृतिक विविधताका कुरा राम्रोसँग मुखरित भएका छन्’, वर्तमान कविताको अनुहार प्रतिविम्बत गर्दै उनले थपे । दिवसले कवितालाई हेर्ने दृष्टिकोणमै परिवर्तन आएको बताए । कविता जुठो र बासी हुनु नहुने उनको तर्क थियो । भने, ‘कविले समय र स्थानसँग कवितालाई जोड्नुपर्छ । जहाँ संस्कृति समेटिन्छ । कविको शक्ति र सामाथ्र्यले कविता ताजा र चोखो हुन्छ ।’
करिब आधा शताब्दिको कविता यात्रामा भेटिएका कविताका अनुहारको सन्दर्भमा दिवसले भने, ‘अरुजस्तै कविता पनि परिवर्तन छ, किनकी प्रत्येक कविसँगै विचारमा बहुलता आएको छ । कविता वर्तमानसँग भन्दा पनि भावनासँग जोडिएको हुन्छ ।’ यात्रीले नयाँ पुस्तालाई कविता लेखनमा परेको जोखिमलाई कोट्याए । प्रतीक्षाले विम्बात्मक ढंगले उत्तर दिइन्, ‘राष्ट्रकवि माधव घिमिरे उसबेलादेखि अहिलेसम्म अर्थात् ९५ वर्षको उमेरसम्म महाकाव्य लेखिरहनुभएको छ ।’ समयसीमा एकआपसमा फेरिने र ‘ओभरल्यापिङ’ भएको उनको भनाइ थियो । उनले पश्चिमभन्दा पूर्वी नेपालका कवि, भारतमा झुल्किएका नेपाली युवापुस्ता र डायस्पोराका साहित्यकारजस्ता थुप्रै अनुहार वर्तमानमा उदीयमान बनेर आएको बताइन् । थपिन्, ‘समग्र मूल्यांकन गर्ने हो भने देशजस्तै संक्रमणकालीन अवस्थामा छन् वर्तमान कवि र कविता ।’
सुब्बाले अघिल्लो पुस्ताले राम्रा कविता दिएकाले वर्तमान पुस्तालाई चुनौति रहेको बताए । यात्रीको पचास वर्षको अवधिमा कवितामा देखिएका उतारचढावबारेको प्रश्नमा दिवसले प्रत्येक राजनीतिक परिवर्तनसँगै २००७, २०१७, २०३६, २०४६ र २०६३ हुँदै आजसम्म कवि र कविता परिवर्तनमा रहेको बताए । ‘कवि र कविता राष्ट्रजस्तै निर्माण र विनिर्माण भइरहेका छन्’, दिवसले थपे, ‘मानक बनेर कुनै कवि र कविता बसिरहनु हुँदैन, नयाँ मानक बनाउने कविता लेखिनुपर्छ तर निर्देशित रुपमा होइन ।’ सुब्बाले राजनीतिक परिवर्तनका लागि कविताले प्रेरक भूमिका खेल्ने बताए । लेखनमा पुस्ताबीच देखिएको परिवर्तनबारे प्रतीक्षाले भनिन्, ‘पहिलेका कविले कविताको निधारभन्दा बढी श्रृंगार, बौद्धिकता र प्रयोग गरे, जसले पाठक गुमाए । तर वर्तमान पुस्ताले त्यसलाई सीमाभित्र समेट्दै छ ।’ युवाका केही कविता पाठकले उखानटुक्का जसरी नै प्रयोग गरेको उनको भनाइ थियो ।
कविताको लोकप्रियता र अलोकप्रियताका बारेमा प्रतीक्षाले शास्वतता र समकालीनता गरी दुईवटा तत्वमा लेखिने बताइन् । ‘जहाँ शब्दहरु जीवन्त छन्’ भन्ने नाराका साथ सञ्चालन भइरहेको फेस्टिभलमा दिवसले कविताको अनुहारलाई यसरी प्रस्ट पारे, ‘अरुलाई भन्न नसक्दा आफैंसँग गरिने संवाद कविता हो त्यसैले कवि लेखनमा जहिले पनि इमान्दार हुनुपर्छ । यो नै सबैभन्दा ठूलो आविष्कार पनि हो ।’

प्रतिक्रिया दिनुहोस्

*