लाइपजीकदेखि लोपोन्मुख भाषासम्म

- कृष्ण धराबासी काठमाडौं, हाल ः अमेरिका

पौने दुई घण्टामा हामी लाइपजीक विश्वविद्यालयको प्राङ्गणमा पुग्यौं । गाडीबाट उत्रे पछि मि. उल्फको पछि पछि हामी विश्वविद्यालयको पाँचौ तल्लामा जानको लागि लिफ्ट तिर लाग्यौं । लिफ्टमा पुग्नु अघि वरै आँगनमा तीनचार जोर केटाकेटी एकअर्कासँग कति मजाले लपक्क भएर ओठमा ओठ टाँसिरहेका देखिए । टाँसिरहेका मात्र हुन् कि चुसेका पनि, त्यो चाहिँ विचार गर्न भ्याइएन, किनभने विप्लवले भने–
– ‘त्यता ध्यान नदिनु नि । यो त यहाँको स्वभाविक कुरा हो । तिनीहरुलाई हेर्नु असभ्य मानिन्छ ।’
विप्लवको कुरा थपक्कै माने । नमाने के गर्नु त ? मलाई के खाँचो ! उनीहरुका प्राध्यापक, अभिभावक कसैलाई मतलव नभए, म एकदिन नेपालबाट डुल्न जानेले चासो राख्ने हो त ? वाहियात !
भूपाल र म त ग्वाँच नै रहेछौं, केही नदेखेका । हाँस्दै नदेखेको जस्तो गर्दै छड्के आँखाले हेर्दै पुग्यौं लिफ्टमा । वास्तवमा जर्मनीमा युवायुवतीहरुले सार्वजनिक स्थलमा एकअर्कालाई चुम्मा गर्नु, ओठ चुस्नु सामान्य कुरा नै रहेछ । त्यो बुझ्न अझ दुई दिन लाग्यो हामीलाई ।
लिफ्ट चढेर पाँच तला माथि पुग्यौं । पाँच सय वर्ष पुरानो लाइपजीक विश्वविद्यालयको पाँचौ तलामा रहेको इन्सटिच्युट फर लिङ्गविस्टिक को हलमा पुग्यौं जहाँ हामीलाई पर्खिबसेका थिए केही नेपाली र जर्मनी विद्यार्थी तथा प्राध्यापकहरु ।
टेवलमा किसिम किसिमका कुकिजहरु राखिएको थियो र कफी अथवा चिया आफ्नो खुशीमा । त्यस इन्सटिच्युटकी प्रमूख श्रीमती डिआने शाक्काओले कार्यक्रमबारे जानकारी दिंदै परिचय गराइन् । त्यहाँ पुमा राई भाषामा पि.एच.डी गरिरहेकी थिइन श्रीमती डिआने शाक्काओ । राईहरुको पुमा भाषा बारे मैले पहिलो पल्ट जर्मनीको लाइपजीक विश्वविद्यालयमा सुने । जुन भाषा नेपालको धनकुटा आसपास तिर बोलिन्छ र हालसम्म यो भाषा बोल्ने मानिसहरुको संख्या पाँच हजार मात्र छ रे । अचम्म लागेको के भने ती महिलाको नेपाली भाषाको ज्ञान झण्डै हाम्रै जत्तिको थियो र बोल्दा पनि शुद्ध नेपाली लवज थियो । एउटी विदेशी महिलाको मुखबाट त्यति शुद्ध नेपाली बोलेको सुन्दा मनमा एकप्रकारको अनौठो अनुभूति भयो । देश र समाजबाट टाडा पुगेको मनस्थितिका कारणले पनि हो कि त ?यहीँ सुनियो नेपाली विद्यार्थीहरु पनि बिभिन्न नेपाली जातीय भाषाहरुमा बिद्यावारिधि गर्न यहा आएका रहेछन् ।
मलाई अर्काे अचम्म के लाग्यो भने नेपालका यति साना साना भाषामा विद्यावारिधि गर्न नेपाली युवकहरु ती विश्वविद्यालयमा किन जान्छन् । यथार्थबाट यति टाडा पुगेर पनि त्यस विषयको विशेषज्ञ बनिइएला त ? नेपालको पूर्वी पहाडको एउटा कुनामा पाँच हजार मान्छेले मात्र बोल्ने भाषाम विद्यावारिधी गर्न त ती जर्मनी युवतीले पनि त्रिभूवन विश्वविद्यालयमा आउनु पर्ने होइन र ? जस्तो मलाई लागिरह्यो । तर म विश्वविद्यालय नै नटेकेको मान्छेले यस्ता कुरा कसरी बुझ्नु ।
तै पनि टाडाबाट यो काम गर्ने पे्ररणा कसरी मिल्यो त भन्ने मेरो जिज्ञासाको उत्तरमा उनीहरुले भनें,
– ‘हाम्रा प्रसिद्ध विद्वान प्रोफेसर डा. नोवलकिशोर राई केही समय त्यस विश्वविद्यालयमा अतिथि प्राध्यापकका रुपमा गएका बेला यो विषयलाई प्रवेश गराउनु भएको रहेछ । गौरव लाग्यो । उहाँ मेरो पनि गुरु हुनुहुन्छ । २०३५ सालमा इलाम क्याम्पसमा आई.एड.को विद्यार्थी हुँदा उहाँले हामीलाई नेपाली विषय पढाउनु भएको हो । उहाँको बौद्धिकता र अध्यापनबाट म सारै प्रभावित थिएँ । आज म आफ्नै गुरुले दुई वर्ष रमाउँदै बिताएको विश्वविद्यालयमा आइपुगेको रहेछु । यो सुन्दा पहिलै चिनिसकेको ठाउँ झै लाग्यो ।
उनीहरुले हामीसँग नेपालका भाषा र संस्कृतिका बारेमा विभिन्न जिज्ञासा राखे । त्यसका बारेमा बोल्ने जिम्मा भूपाल राईलाई नै दियौं । राईको मुद्दा भट्टराईले किन जान्ने भएर फस्र्याइरहनु राई नै हुँदा हुँदै । विप्लवजीले पनि निकै कुरा भन्नु भयो ।
खास गरि अहिले नेपालमा चलिरहेको जातीय विषयको जानकारी हामी नेपालकालाई भन्दा उनीहरुलाई ज्यादा थाहा रहेछ र त्यसको परिणाम बारेमा पनि उनीहरुको अध्ययन बेग्लै खालको थियो । खास गरी अहिले नेपालमा देखिएको संकीर्ण जातियताबाट उनीहरु तर्सिएका थिए । उनीहरुका लागि त्यो स्वभाविक पनि थियो किनभने हिटलरको नश्लवादले युरोपभरि नै यहुदीहरु माथि भएको महाविनाशको पीडाको कथा साठी वर्ष पुरानो मात्र भएको थियो ।
भूपाल एक जनजाति भए पनि उनी त्यति धेरै नश्लीय चेतनामा संकुचित थिएनन् ।
दुई घण्टा जतिको त्यस भेटघाटमा हाम्रो यात्राको सन्दर्भको चर्चा गर्दै श्रीमती योहन्नाले हाम्रा कविताहरुको जर्मनी अनुवाद पढेर सुनाइन । प्रत्येक कविताको समालोचकीय विश्लेषण गर्दै उनले जर्मनीमा पाठ गर्नु अघि हामीले नेपालीमा पाठ गर्नु प¥थ्यो । हरेक ठाउँमा यसै गर्दै आएका हामीले त्यहाँ पनि त्यसै ग¥यौं ।
यो भेटमा खास गरी नेपालीमा रहेका भाषिकाहरुको खोज अनुसन्धान र संरक्षण वारेमा विमर्श भयो । लोपोन्मुख भाषा र जातिहरुको संरक्षण कसरी हुन सक्छ भन्ने चिन्ता अन्तर्राष्ट्रिय क्षेत्रमा समेत रहेछ भन्ने थाह पाएर झन् खुशी लाग्यो ।
अन्त्यमा श्रीमती डिआने शाक्कोओलाई धन्यवाद दिँदै हामी त्यहाँबाट विदा भयौं ।
अब हाम्रो सहर घुम्ने कार्यक्रम थियो ।
सहरको सबैभन्दा सुन्दरता नै सफाइमा थियो । जता हेरे पनि हेरिरहँु जस्तो । मौसम नै त्यस्तो परेर होला आँखा अघि पर्न आउने हरेक रुख पात झरिसकेका नाङ्गा थिए । तिनै नाङ्गा रुख मात्र सहरको सुन्दरतामा बाधक थिए । सयौं वर्ष पुराना कलात्मक घरहरु र नयाँ आधुनिक शैलीका घरहरु वीच तँ छाड, म छाड थियो । ती पुराना घरहरुलाई पनि पुरानै स्वरुपमा जीर्णेद्वार गरिने जर्मनी अभियानले गर्दा त्यो सहरमा दुवै कला अस्तित्वमा देखियो । यथार्थमा हाम्रो भ्रमणको भित्री उद्देश्य पनि सहरीया विकासमा स्थानीय प्रयत्नद्वारा ऐतिहासिक संरचनाको संरक्षण शैलीको अवलोकन गराउनु थियो । त्यसो त त्यो काम हामी साहित्यकारहरुको थिएन, तर कलाको मूल्य बोधका लागि साहित्यकारको पनि आवश्यकता पर्दाेरहेछ होला सायद ।
क्रिसमस आउन लागेको थियो । क्रिसमस आउनु भन्दा निकै अघि देखि नै युरोप भरि चाड शुरु भइसक्दो रहेछ । सडकका पेटीमा ठेला गाडीहरुमा अनेकौं परिकारका खानेकुराहरु खान मानिसहरुको भीड लागेको देखिन्थ्यो । क्रिसमस बजारको रौनक नै बेग्लै । जतै गए पनि मानिसहरु खानै व्यस्त । महिला, पुरुष र केटाकेटीहरु छानी छानी मासु र विस्कुटका परिकारहरु खाइरहेका थिए । अङ्गुरको तातो वाइनमा पनि भीड थियो । हामी पनि पसिसकेका थियौं त्यही भीडमा । जता हे¥यो, मासुका परिकारहरु । भूपाल, विप्लव र वेञ्जु दिदीहरु त भिडिसकेका थिए ससेज र अन्य खान्कीमा ।
मैले पनि एक ग्लास तातो अंगुरको जुस पिएँ । अरु साथीहरुले तातो वाइन सोड्क्याए । भोक लाग्न थालेकाले त्यही बजारमा घुमी घुमी केकका परिकारहरु खायौं । यसै पनि विहानै दरै व्रेकफास्ट भ्याइएकै थियो । भात भन्ने खानु नपाएपछि पुटुस्स हुने कुरै थिएन, उदर त जसै तसै भरिंदै थियो, भरियो ।

झण्डै एकघण्टाको सहर भ्रमण पछि चार बजे हामी पुग्यौं लाइपजीग युनिभरसिटीको अर्काे भवनमा जहाँ ‘इन्स्टिच्युट फर क्रियटिभ राइटिङ’ को अध्ययन गरिन्थ्यो ।
यस ठाउँमा आउनुका दुईटा उद्देश्य थिए । पहिलो कुरा थियो– ‘क्रियटिभ राइटिङ’ (सिर्जनात्मक लेखन) को अभ्यास कसरी गराइन्छ र अभ्यास गराएर, तालिम दिएर पनि लेखक बनाउन सकिन्छ ? भन्ने कुरा जान्नु र अर्काे थियो– यो इन्स्टिच्युटका प्रमूख हुनुहुन्थ्यो श्री हान्स उल्रीख ट्राइखेल जसको कविता ‘यो सहर कसको हो’ बारे हामीले काठमाडौंमा एकदिने कार्यक्रम नै गरेका थियौं र वास्तवमा हामीलाई आज यो लाइपजीक सहरमा ल्याइपु¥याउने कविता र कवि नै उहाँ हुनुहुन्थ्यो । त्यही कविताको सिलसिलाबाट काठमाडौंमा जीटिजेडले प्रवाह गरेको सहरी लेखन परियोजना अन्तर्गत सामेल भई मैले ‘टुँडाल’ उपन्यास लेखेको थिएँ । यस भ्रमणमा हामीले साथै ल्याएको कविता संग्रह ‘यो सहर कसको हो ?’ मा संकलित २७ जनाका सबै कविताहरु हान्स उल्रीख ट्राइखेलकै कविताको भावभूमिमा लेखिएका थिए । यस संग्रहमा प्रकाशित २७ कविता मध्येबाट चार तहका कवितापरिवार मध्येको प्रतिनिधित्व गर्दै हामी चारजनालाई यो भ्रमणको मौका मिलेको थियो ।
यस कविताका लेखकलाई प्रत्येक्ष भेट्न पाउनु हामीलाई ठूलो अवसर प्राप्त भएको थियो । वर्तमान जर्मनीका प्रसिद्ध कवि तथा उपन्यासकार उल्रीख नै हाम्रो यस यात्रामा भेटिएका जर्मनीका सबैभन्दा ठूला साहित्यिक प्रतिभा पनि थिए ।
हामी त्यहाँ पुग्दा हामीलाई नै पर्खेर बसिरहेका रहेछन् उनी । तल गेटबाटै स्वागत गर्दै काठको सिंढी चढाउँदै तेस्रो तलोमा पु¥याए । हान्ससँग एक घण्टा जति भेटघाट गरियो । यस भेटघाट परिचय आदान प्रदान पछि हाम्रा कविताहरुको प्रस्तुति तथा नेपाली साहित्यको वर्तमान अवश्था बारे विशेष चर्चा भयो । वर्तमान नेपाली राजनीतिबाट पनि उनी भलिभाति जानकार रहेछन् । नेपालको राजनैतिक अवश्था बारे पनि चर्चा भयो । यहाँ भने भूपालले आफ्नो नश्लीय चेतना प्रस्तुत गरे । प्रायः धेरै ठाउँमा एउटा अनौठो जिज्ञासा हुन्थ्यो– ‘हामी सबै नेपाली लेखक थियौं तर भूपाल र हाम्रो नाक नक्सा मिल्दैनथ्यो । उनीहरुको त एकै प्रकारका जातिहरुको अनुहार हेर्ने बानी । एउटा देशमा एउटै खाले अनुहार देख्ने बानी, हाम्रो देशमा ६२ भन्दा बढी जातजाति र सय भन्दा वढी भाषा भाषी छन् भन्ने सुन्दा तिनीहरु बसेकै ठाउँबाट पुर्लुक्कै लड्न खोज्थे । यति सानो देशमा यत्रो विविधता त विश्वमा कही नै हुँदैन भन्ने उनीहरुको राय थियो । त्यसैले पनि विशेष आकर्षणको केन्द्र हुन्थे भूपाल । हामी पनि उनको कुरालाई थप समर्थनका साथ व्याख्या ग¥थ्यौँ । व्याख्याको जिम्मा विप्लवको भागमा प¥थ्यो ।
हान्स आफैंले कुनै कविता सुनाएनन् । मैले उनको त्यो कविताको चर्चा गरें । कवि न हुन् मख्ख परेको अनुहार बनाए । मैले आफ्नो रुचि अनुभव र लेखनको चर्चा गरें । खास गरि जहाँ पनि मि. उल्फले मलाई भक्तपुरको ‘टाउन राइटर’ का रुपमा प्रस्तुत गर्ने हुनाले टुँडाल उपन्यासको बारेमा बोल्नु प¥यो । त्यहाँ पनि केही बताएँ । हान्स उपन्यासकार पनि रहेछन् । उनले हामीलाई उनको पछिल्लो प्रकाशन त्जभ ीयकत भन्ने उपन्यास दिए । जर्मनी भाषामा मुल लेखन गरि अंग्रेजीमा अनुदित थियो त्यो । बेञ्जु दिदीले पनि आफ्नो र मञ्जु काँचुलीको संयुक्त कविताहरुको अंग्रेजी संस्करण दिनु भयो । हामीसँग भने त्यसरी दिने किताव थिएन । उनले आफैं सोधे– ‘के हाम्रा कुनै किताब अंग्रेजीमा अनुवादित छैनन् ?’ त्यसबेला लाग्यो, अनुवाद कार्यमा हामी निकै पछि रहेछौं र मनमनै सोचें– अब नयाँ लेखन सँगसँगै पूर्वकृतिहरुको अनुवाद पनि अनिवार्यसँगले अघि बढाउनु पर्ने भो ।
हिंड्ने बेलामा मैले नबिर्सीकन प्रा.दान खालिङले अंग्रेजीमा अनुवाद गरिदिनु भएको ‘सन् १९९६ को कविता’ को अंग्रेजी अप्रकाशित प्रति झोलामा हालेको थिएँ, त्यही एकप्रति मैले हान्सलाई समर्पण गरें । उनी खुशी भए ।

काठमाडौं, हाल ः अमेरिका

प्रतिक्रिया दिनुहोस्

*